रेशम चौधरीको रिहाइ सत्तासँग साटिने काम हुँदैन

–राजकुमार लेखी
कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल
राजकुमार लेखी हाल जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समितिका सदस्य हुनुहुन्छ । उहाँ त्यही व्यक्ति हुनुहुन्छ जो जनता समाजवादी पार्टीले गरेको आन्दोलनलाई विरोध गर्नुभएको थियो । आन्दोलनको विरुद्धमा छुट्टै आन्दोलन गर्नुभएको थियो । उपेन्द्र यादव र राजेन्द्र महतोको नाम समेत उहाँ सुन्न चाहनु भएको थिएन । उहाँ आफ्नो आन्दोलनको क्रममा सबभन्दा बढी उपेन्द्र यादव र राजेन्द्र महतोको आलोचना गर्नुहुन्थ्यो । उहाँ थरुहट आन्दोलनकारीको रुपमा चिनिनु भएको थियो । उहाँले नै नेपालमा मधेश होइन, तराई हो भनि आवाज उठाउनु भएको थियो । अहिले उहाँ नै जसपा नेपालमा रहेर समग्र मधेशको आन्दोलनका कुरा उठाइ रहनु भएको छ । प्रस्तुत छ राजकुमार लेखिसँग गरिएको कुराकानीको सम्पदित अंशः

तपाई त मधेश शब्दसँगै घृणा गर्नुहुन्थ्यो, मधेश आन्दोलनलाई हाँक्ने उपेन्द्र यादव र राजेन्द्र महतोको सबभन्दा बढी विरोध गर्नुभएको थियो तर आज त्यही पार्टीमा बसेर मधेशका लागि आन्दोलन गरिरहनु भएको छ, यो तपाईको सोचाईमा परिवर्तन आएको हो कि के हो ?
–त्यतिबेलाको सोचाई र अहिलेको सोचाईमा केही फरक आएको छैन । जुन कुरा म त्यतिबेला भन्थे त्यो कुरा अहिले पनि भनिरहेको छु । अर्थात जुन कुरा म त्यतिबेला उठाउँथे त्यही कुरा भयो । आन्दोलन गर्ने साथीहरु नै आफ्ना मागबाट पछाडी हटेको अनुभव मैले गरेको छु । त्यो के हो भने मधेशवादी दलहरुले २२ जिल्ला एक मधेश एक प्रदेश हुनुपर्ने एजेण्डा लिएर सडकमा आएका थिए । अर्कोतिर थरुहटका लागि आन्दोलन गर्नेहरु पनि २२ जिल्लाको एउटै थरुहट प्रदेश हुनुपर्ने भन्दै सडकमा आउनु भएको थियो । त्यतिबेला म मात्र एउटा व्यक्ति थिए जसले तराई–मधेशमा दुईटा प्रदेश हुनुपर्ने कुरा उठाएको थिए । एक मधेश प्रदेश सम्भव छैन, उता एक थरुहट प्रदेश पनि सम्भव छैन भनि कुरा उठाएका थिए । तर म मधेश आन्दोलनको विरोधमा थिइनन् । उहाँहरुले उठाएका माग मुद्दाको विपक्षमा थिए । र अहिले पनि मेरो अडान त्यही छ ।

मधेशी नेताहरुले पनि एक मधेश नभए कम्तीमा दुई प्रदेशसम्म मधेशमा दिनुपर्ने अडान लिइ नै रहनु भएको छ नि होइन ?
–छ तर स्पष्ट छैन । २२ जिल्लामा दुई प्रदेश दिएकै हो नि राज्यले । तर त्यतिबेला साथीहरुले मान्नु भएन । एक मधेश एक प्रदेश नै चाहिन्छ भनि जिद्द लिएर बस्नु भयो । अन्त्यमा भूँइको टिप्न खोज्दा गोजीको पनि झर्यो । मधेश टुक्रा टुक्रामा विभाजित भयो । मैले मधेश आन्दोलनको सुरुवातमा नै सडकबाट भनेका थिए कि २२ जिल्लालाई दुईटा प्रदेश बनाउँदा ठिक हुन्छ तर त्यतिबेला मेरो यो कुरालाई मधेशका साथीहरुले विरोधको रुपमा लिनुभएको थियो । जुन कुरा आज महसुस गर्दै हुनुहुन्छ ।

जसपा नेपालले थारुहटलाई पनि मधेश नै मान्दै आएको छ । तर थरुहटमा आन्दोलन गर्ने तथा राजनीति गर्नेहरुले थरुहट मधेश होइन, थरुहट थरुहट नै हो भन्छन्, तपाईको के विचार छ यसमा ?
–होइन, जसपा नेपालले थरुहटको अस्तित्व र अधिकारको कुरा उठाइरहेको छ । मैले कहिले पनि थरुहट पनि मधेश नै हो भने सुनेको छैन । जसपा नेपाल थरुहट आन्दोलनको विषयमा कुरा उठाएको हो । यो एउटा राजनीतिक विषय हो भनेर मात्र उठाएको हो । जसपा नेपालले अहिले रेशम चौधरीको रिहाईको कुरा बढी उठाइरहेको कारण थरुहटको कुरा विशेष रुपमा चर्चा भइरहेको छ । जहाँसम्म थरुहट र मधेशको कुरा हो, पश्चिममा अहिले पनि भाषा, सँस्कृति, भेषभुषा पूर्वभन्दा फरक छ । आजभन्दा १४ वर्षअगाडि हामीले थरुहट स्वायत्त प्रदेशको कुरा गरिरहँदा मान्छेलाई अलिकति अस्वभाविक लागेको थियो । तर त्यतिबेला थरुहट स्वायत्त प्रदेशको एजेण्डा बोकेर सडकमा जाने पात्रमध्ये एकजना मपनि थिए । विस्तारै त्यसको अध्ययन गरेपछि तराईमा मेचीदेखि महाकालीसम्म एउटै प्रदेश स्वभाकि हुँदैन भने कुरा देखाएको थियो । त्यतिबेला आन्दोलनमा रहेका पार्टीहरु एक मधेश एक प्रदेशका एजेण्डा उठाएका थिए । ती दलहरु पनि पछि गएर तराई मधेशमा दुईटा प्रदेश हुनुपर्ने कुरा स्वीकार गरेका थिए । अर्थात पूर्वमा मधेश प्रदेश र पश्चिममा थरुहट स्वायत्त प्रदेशमा सहमत भएको थियो । यो विषयमा पार्टीहरुको बीचमा पनि एकरुपता आएको थियो । त्यतिबेला काँग्रेस, माओवादी र एमाले पनि यो कुरा स्वीकार गरेका थिए । तर कही दलले एक मधेश एक प्रदेशको अडानमा बसेको कारण त्यो दुई प्रदेश पनि गुम्यो । अहिले आएर फेरि दुईटा प्रदेशको कुरा उठेको छ । जसपाले मधेश प्रदेश र थरुहट प्रदेशको कुरा उठाएको छ भने थरुहटले पनि मधेश प्रदेश र थरुहट स्वायत्त प्रदेशको कुरा गरिरहेको छ ।

जसपा नेपालले रेशम चौधरीको रिहाइका कुरा खुब जोडतोडले उठाइरहेको छ के छ सम्भावना ?
–टिकापुर राजवन्दी अर्थात रेशम चौधरीको रिहाइको विषय, राजनीतिक विषय हो । र यसलाई राजनीतिक रुपमै समाधान गर्यो भने यो सजिलो विषय हो तर यसलाई हत्यासँग जोडेर, अपराधसँग जोडेर दुख दिने नियतले यदि अल्झाइ राख्यो भने विषय गम्भीर र जटिल हुन्छ । टीकापुरको घटना राजनीतिक विद्रोह थियो । टिकापुरको माग राजनीति माग थियो । थरुहट आन्दोलन, मधेश आन्दोलन सबै राजनीतिकसँग जोडिएका छन्, संघीयता, लोकतन्त्र गणतन्त्र, समावेशी, धर्मनिरपेक्षतासँग जोडिएका हुनाले त्यसलाई त्यही रुपमा समाधान गर्नुपर्छ ।

तपाईले रेशम चौधरीको रिहाईलाई राजनीतिक रुपमा दिनुहुन्छ तर अदालतले हत्यारा भन्दै दोषी करार गरेर सजाय पनि तोकिसकेको छ, राजनीतिक रुपमा रिहाई गर्न कसरी मिल्छ त ?
–मैले अघि पनि भनेको थिए कि टिकापुरको घटना राजनीतिक घटना हो । राजनीतिक अधिकारका लागि भएको विद्रोह थियो । यसलाई अपराधिक घटना र हत्यासँग जोडेर हेर्नु अपराध नै हुन्छ । टिकापुरको विषय आदालतमा विचाराधिन छ । जिल्ला, पुनरावेदन हुँदै सो विषय अहिले सर्वोच्च अदालतमा पुगेको छ । जिल्ला, पुरानारावेदन र सर्वोच्च अदालत हामीले जान्ने विषय होइन । हजारौं मान्छे हत्या गरेको आरोपमा मुद्दा खेपेकाहरु रिहाइ हुने, तर हत्या नै नगरिएका केवल झुठा आरोप लागेका व्यक्तिको बारेमा अदालतले कसरी निर्णय गर्नसक्छ, त्यो निर्णय आफैमा पूर्वाग्रही हुनेछ । हत्या प्रमाणित भएका कितपय व्यक्तिहरु रिहाइ हुने रन्जन कोइराला जस्ता, विप्लव जस्ता, सिके राउत जस्ता, बलकृष्ण ढुगेंल व्यक्ति पनि अदालतबाट दोषी प्रमाणित भएका थिए तर उहाँहरु रिहाइ भए तर टिकापुर विद्रोहमा लागेकाहरुमाथि झुठा मुद्दा लगाएर जेलमा राखेको छ । त्यसैले अदालतले यसलाई कसरी हेरेको छ त्यो मुख्य कुरा होइन, सरकारले यसलाई कसरी हेरेको छ । यसलाई सरकारले कसरी सेफल्याण्डिङ्ग गराउँछ त्यो हेर्न बाँकी नै छ । सरकारले यसलाई समाधान गर्छौ भनिरहेको छ, यसका लागि पटक पटक वार्ता संवाद पनि गरेको छ तर त्यो अझै समाधान भएको छैन । त्यो समाधान नहुनुको कारण के हो भने यसलाई यसरी वार्ता र संवादको माध्यमबाट अल्झाई राख्यो भने थारु तथा मधेशहरुले आन्दोलन गर्न सक्दैन र यसैको वरिपरी घुमिरहन्छ । थप एक्सनमा जाँदैन ।

जसपा नेपालले जसरी रेशम चौधरीको रिहाईलाई मुख्य मुद्दा बनाएको छ, यदि उहाँ रिहाई हुनुभयो भने के मधेशका सबै माग पूरा हुन्छ त ?
–हुँदैन । जसपा नेपालको विभिन्न मागमध्ये रेशम चौधरीको रिहाई पनि एउट माग हो । रेशम चौधरी रिहाइ भएपछि सबै माग पुरा हुन्छ भने होइन, ती मागमध्ये एउटा मात्र पुरा हुन्छ । तर मागमा रिहाइका लागि मुख्य मुद्दा बनाउनुको कारण के हो भने रेशम चौधरीको मुद्दा एउटा राजनीति मुद्दा हो । उहाँ प्रतिनिधिसभामा चुनाव जित्नु भएको हो तैपनि राज्यले उहाँलाई थुनेर राखेको छ । जनताले मत दिएर उहाँलाई निर्दोष सावित गरेको छ तर राज्यले दोषी देखाएर जेलमा हालेको छ । संविधान संशोधन, झुठा मुद्दा खारेज, नागरिकताको विषय, सिमांकन, भाषा, लगायतका विषयका साथै टिकापुर राजबन्दी रिहाइ पनि एउटा माग हो । रेशम चौधरीको रिहाइ भयो भने तराई मधेशमा एउटा सकारात्मक सन्देश जान्छ । त्यही भएर यो माग राखिएको हो ।

रेशम चौधरी रिहाइपछि जसपा नेपाल सरकारमा जान्छ भनि चर्चा सुरु भएको छ तपाईलाई के लाग्छ ?
–रेशम चौधरी रिहाईको सर्त सत्ता होइन । जसपा नेपालले सरकारसँग वार्ता गरिरहेको छ । रेशम चौधरीको रिहाइको कुरा उठिरहेको छ । सरकार सकारात्मक सन्देश दिएको छ तर त्यहाँ सरकारमा जाने कुरा कही देखिएको छैन । पार्टीका शीर्ष नेताहरु जो वार्तामा जानु हुन्छ उहाँहरुले कहिले भन्नुभएन कि सरकारमा जाने पनि कुरा भइरहेको छ । त्यसैले रेशम चौधरीको रिहाईलाई सत्तासँग साट्छ जस्तो मलाई लाग्दैन । रेशम चौधरी रिहाई भएपछि तराई मधेशमा राम्रो सन्देश जान्छ । जसपा नेपालले मात्र होइन, थरुहटसँग सम्बन्धित विभिन्न संघ संस्थाका साथै अन्य दलका भातृ संगठन तथा सांसदहरु पनि माग गरिरहेका छन् । अस्ति मात्रै एमाले, काँग्रेस, माओवादी केन्द्रका केही सांसद तथा नेताहरुले रेशम चौधरीको रिहाइको माग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । यो मुद्दालाई सत्तासँग जोड्नु हुँदैन जस्तो लाग्छ मलाई । सधैभरि एउटा व्यक्तिमाथि अन्याय भयो भने त्यसले वतावरण राम्रो बनाउँदैन । अहिले हाम्रो प्राथमिकताको विषय सत्ता होइन, अहिलेको मुख्य कुरा हाम्रो माग पुरा होस् भने हो ।

तपाईको प्रतिक्रिया