रेशम चौधरीलाई रिहाय गर्न जसपा नेताको माग

काठमाडौँ, साउन ८ गते । जनता समाज पार्टी नेपालका महेन्द्रप्रसाद यादवले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न सुझाव दिनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवालाई आज बधाई दिनुहुँदै उहाँले अदालतको ऐतिहासिक फैसलाबाट आगामी राजनीति र लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्दै अघि बढ्न सफलता मिल्ने धारणा राख्नु भएको थियो ।

जसपा नेपालका अर्का सांसद अनिलकुमार झाले प्रधानमन्त्री देउवाले आफनो कार्यकालमा मधेसका मुद्दालाई सम्वोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले रेशम चौधरी जेलमा छन् उहाँलाई रिहाइ गर्नका लागि माग गर्नुभयो । साथै विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउन सफलता मिलोस भनी शुभकामना पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सरकारले सबै नागरिकलाई कोरानाविरुद्धको खोप व्यवस्थितरुपबाट अघि बढाउन ठोस पहल हुनेछ । देश र जनताका पक्षमा राम्रा कार्यक्रम अघि बढने छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले मुलुकले अनुभवी नेता प्रधानमन्त्री पाएकाले स–साना कामबाटै असल शुरुआत गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताले एकै पटक ठूलो परिवर्तनको आशा यो सरकारबाट गरेका छैनन्, तर जति काम गर्नुहुन्छ, त्यो जनताले महसूस गर्ने खाले हुन् ।”

राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस्, सरकारलाई सफलताको शुभ कामना छ ।” नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विशिष्ट व्यक्तिका नाममा राजसी ठाँट देखिएको प्रसङ्ग उल्लेख गर्दै असारे विकासे बजेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कृषि वैज्ञानिकलाई अनुसन्धान गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै राजनीतिक कार्यकर्तालाई अनुशासित तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया