उपेन्द्र यादवले एउटा समान्य कार्यकर्ताको जस्तो गर्नु हुँदैन्थ्यो

–जितेन्द्र सोनल
कार्यकारिणी सदस्य एवं प्रदेश २ प्रदेशसभा सदस्य, जनता समाजवादी पार्टी नेपाल

जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले जितेन्द्र सोनलसहित अन्य तीनजना राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेको थियो । उहाँहरु चारैजना महन्थ ठाकुर पक्षका नेताहरु हुनुहुन्छ । केन्द्रमा देखिएको आन्तरिक विवादको शिकार उहाँ चारजना हुनुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा बसेर यी सबै निर्णय गराउनु भएको हो । लालबाबु राउतलाई संसदीय दलका नेता बनाउनुभयो । मन्त्रीहरुलाई बर्खास्त गरेर काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन वार्ताको सुभारम्भ गराउनु भएको थियो । अन्ततः काँग्रेसलाई सरकारमा सहभागी गराउन सफल हुनुभयो । जसपाका अर्को अध्यक्ष महन्थ ठाकुर पक्षका मानिएका मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री अभिराम शर्मा, डा.डिम्पल झा र सुरेश मण्डललाई बर्खास्थ गरियो । केन्द्रमा देखिएको आन्तरिक विवादको प्रभाव लुम्बनी प्रदेश हुँदै प्रदेश २ मा आइसकेको छ । यस्तो किन भइरहेको छ, यसको दोषी को हुन्, र यसको समाधान के हुनसक्छ लगाययतका विषयमा प्रस्तुत छ, जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ प्रदेश सांसद एवं निवर्तमान भूमी व्यवस्था यतायात मन्त्री जितेन्द्र सोनलसँग गरिएको कुराको सम्पादीत अंशः

पार्टीको आन्तरिक विवादमा तपाई पो पिल्सिनु भो त होइन ?
–होइन, त्यस्तो भन्नुहुँदैन । सरकारबाट हट्नुलाई पार्टीको विवादलाई मात्र जोड्नु हुँदैन जस्तो लाग्छ मलाई । मुख्यमन्त्री लालबाबु राउतको अधिकार थियो उहाँले आफ्नो अधिकार प्रयोग गर्नुभयो । त्यसमा पार्टीको आन्तरिक विवादको प्रभाव थियो कि थिएन मलाई थाह छैन । सिधा भाषामा बुझ्ने हो भने सरकार प्रमुखले जतिबेला पनि मन्त्री हटाउन सक्छ र राख्न सक्छ त्यही अन्तरगर्तत यो पनि भएको हो भनि बुझ्नु उचित होला । केन्द्रमा पार्टीभित्र आन्तरिक विवाद रहेको छ, त्यसको असर पार्टीका हरेक सेक्टरमा पर्नु स्वभाविक हो तर त्यही कारणले मलाई सरकारबाट हटाइो त्यो कुरामा सत्तप्रतिशत सत्यता छैन ।

अर्थात पार्टीको आन्तरिक विवाद पनि कारण हो भनि तपाईले भन्न खोज्नु भएको हो ?
–त्यो त स्वभाविक हो नि । मैले अघि पनि भने कि केन्द्रमा देखिएो आन्तरिक विवादको असर पार्टीको हरेक क्षेत्रमा परेको छ । त्यसको असर प्रदेश २ को सरकारमा नपरेको होला भन्न सकिदैन तर म यति भन्छु त्यो मात्र एउटा कारण भन्न सकिदैन । मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभएको हो भनि रुपमा म लिएको छु । अरु कुरा तपसिलका कुराहरु हुन ।

तपाईलाई सरकारबाट निकालेको कुरालाई कारवाहीको रुपमा लिनुपर्छ सहज बहिर्गमनको रुपमा लिनुपर्छ ?
–त्यो तपाईहरुले गर्ने मूल्यांकन हो । जनताले गर्ने मूल्यांकन हो । यदि मुख्यमन्त्रीज्युले मलाई कारवाही स्वरुप सरकारबाट निकाल्नु भएको हो, के कुन विषयमा किन निकाल्नु भएको हो त्यो उहाँले भन्ने कुरा हो । मलाई सरकार प्रमुखले कारवाही गर्छ भने कुरामा मलाई विश्वास छैन । किनभने मैले कुनै गलत काम गरेको छैन । जेजति काम गरेको छु, जनताको हितमा गरेको छु, जनताका लागि गरेको छु । यो तीन वर्षको अवधिमा म एकदिन पनि यस्तो दिन छैन जुन दिन म विदा लिएर घर बसेको हुँला । दिनरात नभनिकन म जनताका लागि काम गरे । जनताको लागि खट्नेलाई सरकार प्रमुखले कुनै मन्त्रीलाई कारवाही गर्छ भने मलाई केही भन्नुछैन । जहसम्म सहज बहिर्गमनको कुरा छ, जहज बहिर्गमन भइहाल्ने आवस्था पनि थिएन । मुख्यमन्त्रीलाई मन लाग्यो उहाँले हटाउनु भयो । राजनीतिकर्मीका लागि सत्तामा रहनु न रहनु ठूलो कुरा होइन । राजनीति गरेपछि यो आउने जाने भइरहने कुरा हो यसमा मलाई केही चित्त दुखाइृ छैन । तर यस्तो घटनाक्रमले सिस्टमलाई कता लैजाँदैछन् त्यो मुख्य कुरा हो । जसरी अहिले जनता समाजवादी पार्टीभित्र राजनीतिक घटनाक्रमको विकास भएको छ, त्यसले तलदेखि माथिसम्म विगारेको अवस्था छ ।

पार्टीले त महन्थ ठाकुरलाई कारवाही गरेको छ, तपाई महन्थ ठाकुर पक्षका भएका कारणले तपाईलाई सरकारबाट निकालिएको हो रे ?
–यदि त्यस्तो हो भने त्यो दुर्भाग्य हो । पार्टी र सरकार फरक फरक कुरा हो । पार्टीले पार्टी चलाउनुपर्छ सरकारले सरकारले चलाउनुपर्छ । यदि पार्टीको आन्तरिक विवादका कारण मलगायत अन्य राज्यमन्त्रीहरुलाई यदि निकालिएको हो भने त्यो भत्र्सनायोग्य कुरा हो । अर्को कुरा, महन्थ ठाकुरलाई उपेन्द्र यादवले कारबाही गर्ने कुरा मैले कल्पनासम्म गर्न सक्दिन । देशको वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले जसपा नेपाल गठन भएको हो । त्यसको विरुद्धमा कोही जान्छन् जस्तो मलाई लाग्दैन । पार्टीमा अलिकति नोकझोक हुने कुरा समान्य जस्तै हो । एउटा परिवारमा हुने नोकझोक जस्तै पार्टीमा पनि हुनसक्छ । तर पार्टीमा पछिल्लो समय जे अवस्थाको विकास भइरहेको छ त्यसले जे पनि हुनसक्छ भनि प्रमाािण्त हुन्छ ।

ल ठिक छ मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर तपाईलाई हटाउनुभयो, तर जुन परस्थितिमा तपाईलाई हटाइयो त्यो ठिक हो वा बेठिक हो किनभने केन्द्रमा पनि दुवै पक्षले एक अर्कालाई हटाउने, कारवाही गर्ने कार्य गरिरहनु भएको छ यसमा तपाईको प्रतिकृया के छ ?
–मैले अघि पनि भने नि कि राजनीति विषयलाई लिएर हामीलाई हटाएको छ भने त्यसलाई म राजनीतिक बेइमानी भन्छु । राजनीतिकर्मीलाई पदबाट हटाउने विषयलाई म सहर्ष स्वीकार गर्छु तर जसरी जुन प्रक्रियाले हटाइयो, यो पूर्ण रुपमा बेइमानी हो भने मेरो बुझाई हो । जेठ २३ गते मधेश भवनमा हामी सबैजना सँगै थियौं । म जसपाको कार्यकारिणी सदस्य पनि हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु । म सबै कुरालाई त्यो दिन नियालिरहेको थिएँ । केन्द्रीय अध्यक्ष (उपेन्द्र यादव) आउनु भएको छ । उहाँ सबैसँग एक्लै–एक्लै भेट गरिरहनु भएको छ, माइन्युटमा हस्ताक्षर गराइराख्नु भएको छ तर मलाई त्यो कुराको कुनै जानकारी गराइएको थिएन । मलाई त्यतिबेला नै शंका भइरहेको थियो कि केही हुन्छ । केन्द्रमा उहाँहरुको बीचमा के कुरामा लफडा भयो के भयो त्यो छाडेर प्रदेशमा आउँदा उहाँले सबैसँग कुरा गर्नुपथ्र्यो, सबैको राय लिनुपथ्र्यो अनि मात्र उहाँले केही डिसिजन लिनु पथ्र्यो । तर उहाँले एकाएक एक्सनमा जानु भयो ।

तपाईलाई हटाउनु लालबाबु राउतलाई संसदीय दलको नेता बनाउनुमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात हो त ?
–उहाँ जनकपुरमा आएर जेजे क्रियाकलाप गर्नुभयो । मान्छेलाई गुटगुटमा भेट्नुभयो र त्यसपछि राजनीतिक घटनाक्रमको विकास भयो त्यसले त उहाँले नै आएर सबै थोक गर्नुभयो भनि प्रमाणित हुन्छ । उहाँ पार्टीका अध्यक्ष हुनुहुन्छ, हामी जस्तो पार्टीको कार्यकर्ता हुनुहुन्न । उहाँ जनकपुरमा आएर पार्टीको एउटा सामान्य कार्यकर्ताको जस्तो व्यवहार गर्नुभयो । जनकपुर आएर होटल होटल, घरघर गएर उहाँले जे गर्नुभयो त्यो उहाँको पदीय मर्यादाले मिल्दैन्थ्यो । तैपनि उहाँले गर्नुभयो । मुख्यमन्त्री लालबाबु राउत संसदीय दलको नेता बन्नुभएको कुरा मैले सञ्चारमाध्यमबाट सुनेको हुँ तर आधिकारिक जानकारी अहिलेसम्म आएको छैन । कुन विधिबाट बन्नुभएको छ ? कहाँ बैठक भयो ? कस–कसलाई सूचना गरियो ? पार्टीको विधान अनुरुप छ कि छैन ? दलको ऐनको हिसाबले यो प्रक्रिया पूरा गरिएको छ कि छैन ? यी कुरालाई धयान दिने हो कि होइन, कि पार्टीमा जे मन लाग्छ त्यही गरे हुने भयो । पार्टी विधान, विधिबाट चल्छ कसैको खल्तीबाट चल्दैन ।

त्यसो भए तपाईहरुले लालबाबुलाई संसदीय दलको नेता स्वीकार गर्नुहुन्न ?
–अहिले जसरी उहाँलाई संसदीय दलको नेतामा घोषणा गरिएको छ त्यही रुपमा स्वीकार गर्न सकिदैन । यद्यपी आधिकारिक कुरा आउन बाँकी नै छ । दलको विधानको परिच्छेद ५ मा प्रदेशसभाको दलसम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा स्पष्ट रुपमा लेखिएको छ–‘प्रदेश संसदीय दलको लागि प्रदेश समितिबाट प्रदेश संसदीय दलको विधान पारित हुनेछ, सोही अनुरुप संसदीय दलको गठन हुनेछ । तर जब प्रदेश समिति छैन भने विधान कसले पारित गर्छ ? यो त कमसे कम व्याख्या हुनुप¥यो नि । प्रदेश समिति नरहेको अवस्थामा नेता कसरी बनाइयो ? प्रदेश समिति छैन भने कार्यकारिणी समिति होला, केन्द्रिय समिति होला । त्यहाँ यो विषयमा छलफल हुनुप¥यो कि नै परेन कि आफूलाई जे मन लाग्छ, आफू खुशी सबै गर्दै जाने हो । घरघर गएर एउटा परियोजनका लागि हस्ताक्षर गराउने र अर्को परियोजनमा त्यसलाई प्रयोग गर्ने हो भने त्यसलाई म बैधानिक मान्न सक्दैन ।

भनिन्छ, मन्त्रीमण्डलमा लालबाबु राउत र तपाईको बीचमा राम्रो दोस्ती थियो, दुवैजनाको बीचमा सहकार्य हुन्थ्यो अनि एकाएक किन कुरा विग्रियो त ?
–दोस्ती त अहिले पनि छ । सरकारमा भएपछि एक अर्कासँग सल्लाह र छलफल गरेर काम गर्नु नैतिक दायित्व पनि हो । त्यसमा पनि लालबाबुजी मुख्यमन्त्री हुनुहुन्छ सहकार्य हुनु स्वभाविक हो । म व्यक्तिगत रुपमा उहाँसाग सल्लाह गरेर नै काम गर्थे तर अरुले के गर्नुहुन्थ्यो, अरुसँग मुख्यमन्त्री राउतको कस्तो सम्बन्ध छ त्यो कुरा म भन्नसक्दिन ।

भनिन्छ, पार्टीमा विवाद सुरु भएदेखि तपाई मन्त्रीपरिषदमा अनुपस्थित हुन थाल्नुभयो, मुख्यमन्त्रीलाई असहयोग हुने गरि गतिविधिहरु गर्न थाल्नुभयो, त्यसमा कतिको सत्याता छ ?
–मन्त्रीपरिषद्को बैठकप्रति मेरो कुनै असहमति थिएन । तर जसरी मन्त्रिपरिषद् बैठक चल्नुपर्ने थियो, त्यो चल्न सकिरहेको थिएन । कुनै कुराको सिस्टम थिएन । यो सरकार हो, कुनै ज्येष्ट नागरिकको क्लव होइन । सरकार सञ्चालन एकजनाको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबैको साथ र सहयोग चाहिन्छ र त्यसका लागि एक अर्कासँग छलफल हुन आवश्यक छ । त्यही भइरहेको थिएन । मन्त्रीपरिषद्मा के छलफल हुँदैछ, सरकारले के गर्दैछ, सरकारको अगामी योजना के हो, रणनीति के हो यी सबै विषयमा मन्त्रीहरुको बीचमा छलफल हुनुपथ्र्यो । यसको पहल मुख्यमन्त्रीले गर्नुपथ्र्यो तर उहाँले त्यस्तो गर्नुभएन । नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै गयो, मन्त्रीमण्डलभित्र कुरा गर्ने प्रयास गरेँ । तर कुनै कुरा राम्ररी चल्न सकिरहेको थिएन । नीति तथा कार्यक्रम त पोेलिटकल डक्युमेन्ट हो नि, सरकारको डक्युमेन्ट हो । यसका लागि सरकारमा रहेका नेताहरुबीच छलफल हुनुप¥यो नि, न कि ब्युरोक्रेट्स स्तरमा । नीति तथा कार्यक्रम ब्युरोक्रेटिक डक्युमेन्ट होइन तर उहाँले त्यो कुरा बुझ्नु भएन र कहिले पनि त्यसको बारेमा छलफल गर्नुभएन । मसँग व्यक्तिगत सम्बन्ध राम्रो होला त्यो बेग्लै कुरा हो तर सरकार एउटा सिस्टममा चल्नुपर्छ र चलाउनुपर्छ त्यो कुराको मैले अभाव देखेको थिए ।

अहिले सरकारबाट हटिसकेपछि मात्र यस्तो भन्नुहुन्छ सरकारमा हुँदा यो कुरा कहिले बोल्नु भएको सुनिएको छैन नि ?
–म सरकारमा नहुँदा पनि कुरा राख्नुपर्ने ठाउँमा राख्थे । भन्नुपर्ने कुरा भनिरहन्थे तर त्यसलाई कार्यान्वयन गर्ने काम मुख्यमन्त्रीको हो । आज म कुरा भनिरहेको छु, त्यो लुकाएर होइन, तपाईको सञ्चारमाध्यमबाट मुख्यमन्त्री समक्ष पनि पुग्छ । आज सन्दर्भवस तपाईले सोधेको कारणले यो कुरा मैले बोलेको हुँ । बाहिर जही पायो त्यही बोल्ने कुरा पनि हुँदैन । बोल्ने सन्दर्भ पनि हुनुपर्यो ।

सरकारबाट हट्नु भयो अब तपाईको अगामी यात्रा कस्तो हुन्छ ?
–म राजनीतिक गर्ने मान्छे हुँ । राजनीतिक गर्छु । मन्त्री आउने जाने कुरा हो, मन्त्री हुादा राजनीतिक गर्ने नभए नगर्ने होइन । राजनीतिलाई निरन्तरता दिन्छु । म हिजो पनि जनताको लागि काम गर्थे भोली पनि गर्छु । प्रदेशको सांसद हुँ मलाई जनताले यहाँसम्म पुर्याएको हो । म जनताको लागि काम गर्छु ।

 

तपाईको प्रतिक्रिया