वास्तविक पीडितका लागि मात्र राहत

विनय यादव
–संयोजक, राष्ट्रिय एकता अभियान

एक छाक राहतवितरण गर्नेकार्यक्रम सञ्चालन गर्ने ‘कन्सेप्ट’ कहाँबाट आयो ?
–हामीले कोरोनाको पहिलो लहरमा पनि यसरी राहत वितरण गरेका थियौं । कोरोनाका कारण काम नपाएका, काम गुमाएका, साँच्चै समस्यामा परेकालाई हामीले राहत वितरण गर्यौं । त्यतिबेला हामीले बोराका बोरा चामल, दाललगायतका समाग्री वितरण गर्यौं तर त्यसको प्रभाव हामीले कतै पाएनौ । अभाव नभएका व्यक्तिहरु पनि आएर ती राहत सामाग्री लगेका थिए । जो असली पीडित थिए, उसको चुल्हो सम्मती राहत नपुगेको हामीले पायौं । हामीले धेरै राहत वितरण गर्यौं तर वास्तविक पीडितसमक्ष पुगिरहेको थिएन । अनि हामी एक राहत विरण कार्यक्रम सुरु गर्यौं ।

यो कार्यक्रमबाट वास्तविक पीडितले नै लगिरहेका छन् भने कुरालाई कसरी विश्वास गर्नुहुन्छ ?
–दुई केजी चामल, दललगायतका समाग्री राखिएको एउटा सानो पोको लिन हुनेखानेहरु पक्कै पनि आउँदैनन् भनि हामीलाई विश्वास छ । वास्तावमा जसलाई समस्या हुन्छ त्यही व्यक्ति नै लिन आउँछ भनि बुझेर हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं । र, यसमा हामी सफल भयौं । पहिला हामीले जुनजुन अनुहारलाई राहत लिएको देखि रहेका थियौं ती व्यक्तिहरुलाई देखिरहेका छैनौ । वास्तविक पीडितहरु मात्र आइरहेका छन् ।

दुई केजी चामल लिएर कति दिनलाई पुग्छ त पटक पटक वितरण गर्न गाह्रो लाग्दैन ?
–त्यही भएर एक छाक राहत वितरण कार्यक्रम भनेका छौं । समग्रमा एउटा परिवारलाई साँझ विहान खान पुगोस् भनेर नै हामीले दिइरहेका छौं । जसलाई फेरि अभाव हुन्छ उहाँले हामीलाई सम्पर्क गर्नुहुन्छ अथवा हाम्रा साथीहरु आफै उहाँहरुको घरघरमा पुग्नुहुन्छ । उहाँहरुको समस्या बुझ्नु हुन्छ र फेरि वितरण गर्नुहुन्छ । हामीले सबै रेकर्ड राखेका छौ । कसले कति पटक पाए, कतिले पाएनन् सबै रेकर्ड हामी राखेका छौं । हाम्रो साथीहरु मुसहर, दलितलगायत अन्य पिछडिएका क्षेत्रहरुमा घुमिरहेका हुन्छन् । उनीहरुको अवस्थाको बारेमा जानकारी लिइरहेका हुन्छन् ।

कस्ता कस्तालाई यो राहत दिनुहुन्छ त ?
–खासगरि यो कोरोनाका कारण जो पीडित छन् । जसलाई दैनिक हातमुख जोड्न समस्या भएको छ । जो दिनमा कमाएपछि मात्र राती उसको चुल्हो बल्थ्यो र यो केरोनाका कारण रोजगार गुमेको छ त्यस्ता व्यक्तिहरुलाई हामीले खोजीखोजी राहत दिइरहेका छौ । निशेषधज्ञाका कारण वजारहरु बन्दछन् । खुले पनि भिडभाड गर्न दिइरहेको छैन । बजार सुचारु भएपनि काममा फर्काइएको छैन । वजारमा गएपनि काम पाइरहेको छैन । यस्ता धेरै समस्या छन् जसका कारण धेरैलाई गाह्रो भइरहेको हामीले पाएका छौ । हामीले यसरी राहत दिँदा उहाँहरु पनि खुशी हुनुभएको छ । उहाँहरुले पनि पहिला राहत पाएनौ भनि गुनासो गर्नुहुन्थ्यो तर अहिले त्यस्तो गुनासो छैन ।

यो अहिले कहाँ कहाँ वितरण भइरहेको छ ?
–हामी यसको सुरुवात सप्तरीबाट गर्यौं तर यसलाई हामी विस्तार गरिरहेका छौं । सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि वितरण सुरु भएको छ । जहाँजहाँ हामीले अलि धेरै समस्या देख्छौं त्यहाँ पुग्ने प्रयास गरिरहेका छौं । हामीसँग जेजति साधन स्रोत छ त्यसको आधारमा भ्याउने जति गरिरहेका छौ ।

यो राहत समाग्रीको जोहो कसरी गर्नुहुन्छ, आफ्नै संस्थाको लगानीहो कि अरुअरु ठाउँबाट पनि सहयोग आउँछ ?
–सहायोगीहरुले सहयोग गरेपछि हामीले वितरण गरिरहेका छौं तर यो होइन, कि कतैबाट सहयोग नआएपछि हामीले यो राहत वितरण गर्ने काम बन्द गर्छौ । कुनै दिन कतैबाट सहयोग आउँदैन भने हामीले आफ्नो संस्थाबाट राहत समाग्री खरिद गरेर भए पनि वितरण गर्छौ । सुरुमा हामीले आफ्नो संस्थाबाट नै लगानी गरेर राहत वितरण गरेका थियौं तर अहिले विभिन्न सहयोगी व्यक्तिहरुले सहयोग गर्न थालेका छन् । कसेको जन्मदिन छ भने त्यसमा हुने खर्चको रकम बराबरको समाग्री हामीलाई दिनुहुन्छ हामीले वितरण गछौं । कसैले त्यतिकै पनि सहयोग दिइरहेका हुन्छन् । जुनदिन हामीलाई कतैबाट सहयोग आउँदैन हामीले आफ्नो तर्फबाट पनि वितरण गछौं ।

यो कहिलेसम्म वितरण गर्नुहुन्छ ?
–राहत भनेको तत्कालिन गर्जो टार्ने हो । राहतले कसैको तत्कालको समस्या समाधान हुन्छ । दीर्घकालिन समाधान होइन । जबसम्म कोरोना महामारी रहन्छ । समान्य अवस्थामा फर्किदैन तबसम्म राहतवितरण गर्ने हाम्रो योजना रहेको छ । हाम्रो क्षमताले भ्याएसम्म हामी यो कार्यक्रमलाई निरन्तरता दिन्छौं । हेरौ के हुन्छ ।

तपाईको यो कार्यक्रमलाई स्थानीय सरकार, प्रदेश सरकारबाट कतिको सहयोग भइरहेको छ ?
–स्थानीय सरकार तथा प्रदेश सरकारबाट हामीले मोरल सहयोग पनि पाइरहेका छैनौं । कतिपयलाई त हाम्रो यो कार्यक्रम मन नै परेको छैन । खुलेर विरोध नगरेपनि पछाडी पछाडी कुरा काटि रहेका हुन्छन् । स्थानीय तहले गर्ने काम हामीले गरिरहेका छौं । स्थानीयतहको वडा अध्यक्षहरुले आफ्नो वडामा कसलाई कस्तो समसया छ त्यो समस्यालाई बुझेर सहयोग गर्नुपर्ने हो तर उनीहरुलाई कुनै मतलब छ भनि देखिएको छैन । राहत त के कुरा, कसरी बाँचिएको छ भन्ने बारे सोध्न पनि जाँदैन । सुरुको कोरोना महामारीमा अलिअलि राहत वितरण गरे उनीहरुले । राहत वितरण भन्दा उनीहरु त्यसमा भ्रष्टाचार गरे त्यो कुरा तपाईहरुको सञ्चार माध्यममा आइसकेको नै हो । स्थानीय तहका पदाधिकारीहरु अहिले कमिशनका खेलमा लागेका छन् । जहाँ उनीहरुलाई कमिशन आउँछ उनी त्यही काम गर्छन् । राहतमा पनि उनीहरुले कमिशनमा काम गरे तर धेरै फाइदा भएन र बदनाम पनि धेरै भएपछि राहत वितरण गर्न नै छाडेका छन् उनीहरु । अहिले पनि स्थानीयतहको गाउँपालिका , नगरपालिका, महानगरपालिकाहरुमाजानु भयो भने गोदाममा राहतका समाग्रीहरु कुहिरहेका छन् तर जनतालाई वितरण गर्दैनन् । त्यसैले हामी स्थानीय तह वा कुनै तहको सरकारको भरोसामा छैनौ । हामीले आफ्नो बलबुतामा यो कार्यक्रम गरिरहेका छौं ।

तपाईको यो संस्थालाई राहतवितरण गर्ने अधिकार छ वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुभएको छ त ?
–मलाई लाग्छ जनताको सेवा गर्नका लागि कसैको अनुमित लिनु पर्दैन । पवित्र मनले यदि कसैलाई सेवा गरिरहेको छ भने त्यो अनुमति जस्तै नै हो । हामीले के नै गरेका छौं र, न हुनेलाई एक छाक खाने व्यवस्था मात्र हामीले गरिरहेका छौं । लाखौं, करौडोको समानलाई ल्याएर वितरण गरिरहेका छैनौ । त्यसको नाममा हामीले अन्य काम गरिरहेका छैनौ । हामी पवित्र उद्देश्यका साथ यो कार्यक्रम गरिरहेका छौं । हामीलाई त्यसबाट केही लिनु छैन । अरु संस्था जस्तो कमाई खाने भाँडो होइन ।

साँच्चै तपाईको संस्थाको अन्य कामहरु के के छन् त ?
–हामी हिन्दु राष्ट्रका लागि संघर्ष गरिरहेका छौ । राष्ट्र र राष्ट्रियताका लागि काम गरिरहेका छौं । गणतन्त्रलाई संस्थागत गर्दै हिन्दु राष्ट्र स्थापना गर्ने आफूहरुको लक्ष्य रहेको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दुहरु बस्छन् । यो हिन्दु राष्ट्र नै हो । तर केही नेताहरु विदेशी डलरमा विकेर धर्मनिरपेक्षता लादिएको हो । तर वास्तवमा भन्ने हो भने नेपालहिन्दु राष्ट्र हो । विश्वमा कही पनि हिन्दुहरु माथि अन्याय भयो भने हामी अवाज उठाउँछौं । राष्ट्रको विरुद्धमा कुनै गलत गतिविधि भयो भने हामी त्यसका लागि पनि अवाज उठाउँछौ ।

राहतवितरण गरेर हिन्दु राज्य स्थापनाका लागि माहोला त बनाइ राख्नु भएको छैन ?
–के त्यो गर्नु अपराध हो र ? तर हामी त्यस्तो गर्दैनौं । हामी जहाँ जहाँ राहत िवतरण गरेका छौं त्यहाँ त्यहाँ गएर सोध्न पनि सक्नु हुन्छ । हामीले धर्मका कुनै पनि कुरा गरेका छैनौं । मानव सेवाबाहेक अरु कुनै कुरा उहाँहरुसँग गरिरहेका छैनौं । एउटा कुरा तपाईलाई बताई दिउ, नेपालमा हिन्दु राज्यका लागि वा हिन्दुका लागि कुनै कन्भिन्स नै गर्नुपर्दैन । सबै हिन्दु हुन्, नभए हिन्दु राष्ट्रका लागि जनमत संग्रह गराएर देखायोस् दुधका दुध पानीका पानी छुटिन्छ । क्रिश्चियनहरुको जस्तो धर्म परिवर्तन गराउँदै हिड्ने हिन्दुहरुको उद्देश्य होइन । नेपाली जनताको मनमा हिन्दु प्रतिको आस्था छ । हिन्दुलाई मानिरहेको छ । त्यसैले हामी कसैलाई केही भन्नै पर्दैन । बरु देशमा केही दुष्टहरु छन्, कुदृष्टी भएकाहरु छन्, उनीहरुबाट जोगिने मात्र हो । देशलाई उनीहरुबाट बचाउने मात्र हामी अवाज उठाई रहेका छौं ।

तपाईको प्रतिक्रिया