जनकपुरको सञ्चारजगतमा सरगरमी

–नित्यानन्द मण्डल
भदौरै उखरमाउलो गर्मीको पारो चढे सँगै जनकपुरधामको सञ्चारजगतमा सरगरमी अप्रत्याशित रुपमा हवात्तै बढेको छ । ‘ग्रायण्ड ओल्ड’ पार्टी नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका पुर्व धनुषा अध्यक्ष प्रविण साहको नेतृत्वमा एक समुह समाजवादी प्रेस संगठनमा प्रवेश गरेकाले यस्तो हलचल मच्चेको हो ।

घतलाग्दो के छ भने पञ्चायत र प्रजातन्त्र समेतमा आफ्नो साख र गरिमा जोगाएका समाजसेवी एवं मन्त्री समेत भएका मकेश्वर प्रसाद सिँहका नाति, राजनीतिक विरासत बोकेका, मैथिलीका प्रध्यापक समेत रहेका सञ्चार उद्यमी रुपेश सिँहको नेतृत्वमा सो संगठन चयन भएको हो । त्यसमा जनकपुर नगरका भुपु मेयर बजरङ्ग प्रसाद साहका भाञ्जा र प्रजातन्त्र र कांग्रेससँग लामो लगाव भएका प्रविणले पनि त्यसमा हातेमालो गरे । यसरी प्रजातान्त्रिक धारका ती पारिवारिक राजनीतिक विरासत बोकेका ‘योङ’ होनाहार ‘लिडरस’ हरु किन वामपन्थी धार समाए ? सवाल अहिलेका लागि महत्वपूर्ण छ । फुट्नेहरु किन फुटे भन्ने पक्षमा तर्क र औचित्यलाई बढाउन सकेका छैनन् ।

संगठनभित्र अन्तर प्रजातन्त्र र एकीकरणको भावना तथा प्रक्रिया बढ्नुको सट्टा हैकम र पृथकीकरण सुरु भयो । मनले कांग्रेस हुन नसक्ने, वर्गले कम्युनिष्ट हुन मन नपराउने र बदनामीको डरले राप्रपा हुन नचाहने यिनीहरु कसरी जय नेपालका साटो लालसलाम गर्ने हो ? तर पार्टी अध्यक्ष माधव कुमार नेपालका साथ पुरानो फोटो हालेर प्रविणजी लालसलामको अभिवादन समेत फेसबुक स्टयाटसमा पोस्टाए, मुटु माथि ढुंगा हालेर, कैद मांगी थी जुदाई तो नहि मांगी थी, छोर छारके सलीमके गली…. सायद मन पिरोलिए पछि मानिसले आफ्नो बाटो रोज्छन् ।

लोकतन्त्रमा संगठन बन्नु र पार्टी विलिन हुनु अप्राकृतिक, अराजनीतिक, अस्वाभाविक, अप्रजातान्त्रिक पक्कै पनि होइन । दर्शन सिद्धान्त, उद्देश्य, राजनीतिक दिशा, रणनीतिक कार्यनीति, कार्यक्रम, कार्यशैली आदिको आधारमा संगठन निर्माण हुन्छ र यिनमा गम्भिर मतभेद भए संगठन फुट्छ । त्यति मात्र होइन, कार्यान्वयन पक्ष, त्यसको परिणाम, परिणामको अनुभुति, संगठनभित्र विधान निर्माण, विधानको कार्यान्वयन, दण्ड र पुरस्कारको व्यवस्था, क्षमता अनुसारको पदोन्नती, अवनती र अवकाश, अस्वस्थ प्रतिष्पर्धा, व्यक्तित्वको टकराहट आदि घटना र मनोवृत्तिहरु संगठन निर्माण र लोप हुनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

राष्ट्रिय षड्यन्त्र, उपल्ला नेताका दवाव, स्वार्थ र छलप्रपञ्च संगठन फुटाउन र निर्माण गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । समय सापेक्ष सही नीति लिन सक्ने सवल सक्षम निर्भिक नेतृत्व, त्यस्तो नीतिलाई आफुले बुझेर जनजनमा बुझाउन सक्ने कार्यकर्ताको ठूलो पंक्ति र त्यसरी प्रक्षेपित सही नीतिलाई कार्यकर्ताले गरेको समर्थन सहयोग ग्रहण र अनुमोदनको आधारमा संगठन दीर्घायु हुन्छ, र व्यापक हुन्छ । त्यस्तो भएन भने संगठन र नेता पनि साउने झरी हुन्छ ।

सिद्धान्त र व्यवहारमा, नीति र निर्माणमा, भाषण र कृयाकलापमा ठुलो अन्तर देखा पर्यो भने नेतृत्व कमजोर हुँदै जान्छ । पछि संगठन पनि कमजोर हुन थाल्दछ । संगठनभित्र देखा परेको अन्तरविरोधलाई सही ढंगले सञ्चालन गर्न सकेन भने संगठन विवादित बन्दै विभाजित हुन्छ । त्यसैले यी सबै कुराहरुलाई ध्यानमा राख्दै संगठन विरोधी तत्वहरुसँग परहेज राख्नु नव संगठनहरुका लागि अपरिहार्य भएको छ ।

कार्यकर्ताको स्वाभिमान, योग्यता, क्षमता तथा प्रभावको आधारमा उचित व्यवस्थापन, पदभार वितरण तथा हरेक क्षेत्रका पिँधसम्म संगठनको निर्णय कार्यान्वयन गराउनु अर्को एक महत्वपूर्ण चुनौति हो, नेतृत्वलाई । कुत्सित मनोवृत्तिहरु, अहंकार र चरित्र यथावत रहेकै अवस्थामा एकीकृतका संगठनलाई आफ्ना अल्पकालिन, दिर्घकालिन स्वच्छ नीतिहरु, सहभागिता, टिकट बाँडफाँड, जीतको सुनिश्चितता आदि सामयिक मुद्दाहरुमा पनि गम्भिरतापूर्वक सोच्नुपर्ने बेला भएको छ ।

व्यक्तिगत टकराव र गुटगत अस्तित्वलाई विगतमा झैँ अहिले पनि कायमै राख्ने हो भने केहि भन्न सकिन्न । खैर जे होस, शुभकामना र बधाईले सामाजिक सञ्जालका भित्ताहरु पोतिएका छन् । त्यसैले अनन्य नवनियुक्त अध्यक्ष रुपेश सिँह र संगठनमा प्रवेश गरेका प्रिय मित्र प्रविण साह सहित समस्त साथीहरुमा हार्दिक मंगलमय शुभकामना । यहाँहरुको यात्रा,सुखद र सफल रहोस भने अशेष शुभकामनाका साथ ।
(नित्यानन्दको फेसबुकबाट)

तपाईको प्रतिक्रिया