तराई मधेशको बजार छुन नसकेको नेपाली चलचित्र

पछिल्लो समय चलचित्र क्षेत्र निक्कै फड्को मारिसकेको छ । नयाँ नयाँ विषयवस्तु, नयाँ नयाँ लोकेशनहरुको खोजी गर्दै चलचित्र बजार टाढा टाढासम्म जान थालेको छ । एउटा सानो म्युजिक भिडियो बनाउनलाई पनि अमेरिका, सिगापुर जस्टा ठाउँसम्म पुगेका छन् । विदेशी वजारलाई आकर्षण गर्न थालेको छ । विदेशका कथावस्तुलाई समेट्न थालेको छ तर आफ्नै हेला भने जस्तै मधेशको बजारलाई नेपालको चलचित्र क्षेत्रले पहिचान गर्न सकेको छैन । नेपाली चलचित्र होस् वा सिरियल मधेशलाई एउटा हास्यपात्रको रुपमा प्रस्तुत गरेको भेटिन्छ तर त्यहाँको कलासँस्कृति, रहनसहन, बजार भेषभुषामा थुप्रै कथाहरु छ् तर त्यसलाई समेट्ने प्रयास कही कतैबाट भएको छैन ।

तराई मधेशमा थुप्रै कलाकारहरु छन्, उहाँहरुमा एक से एक क्षमता छन् तर नेपालको चलचित्र बजारले त्यसलाई पहिचान गर्न सकेको छैन । त्यसलाई विदेश वजारसम्म लग्न सकिरहेको छैन । बरु दर्शकलाई हसाउनु छ भने लवज बिगारेर, मुखमा कालो पोतेर, गम्छाले टाउको बाँधेर अभियन गराएको भेटिन्छ । नेपाली चलचित्र बजारको लागि यो भन्दा अर्को मजाक के हुनसक्छ । नेपालको झन्डै ५० प्रतिशत जनसंख्या रहेको तराईलाई नजरअन्दाज गरेकै कारण नेपाली चलचित्रको आन्तरिक बजार खुम्चिरहेको निर्देशक दिनेश राउत बताउनु हुन्छ । यसलाई निर्देशक नवीन सुब्बा ‘समावेशीताको अभाव’ भन्छन् । नेपाली चलचित्र कला, संस्कृति, भाषा, साहित्य र विषयसँगै भौगोलिक हिसाबले पनि समावेशी नरहेको उहाँको तर्क छ । तराई मधेशका केही सीमित ठाउँ विशेषका मात्रै कथा आएको उहाँको भनाई छ तराई मधेश तथा कथा र विषयवस्तुको भण्डार हो ।

मधेशका कथा खोइ ?
नेपाली चलचित्रमा मधेसका कथा खोइ ? अझै पनि सीमित ठाउँ, सीमित वर्ग विशेषका कथाहरु मात्रै आएको बताउँदै उहाँले तराई मधेशबाट चलचित्रमार्फत आउनैपर्ने कथाहरु आएका छैनन् । धेरै भनिनुपर्ने कथाहरु मेकरले भन्न नसकेको उहाँको बुझाई छ । तराई मधेशमा नेपाली चलचित्र किन चल्दैन, यत्रो ठूलो जनसँख्या छ, देशको आधा जनसँख्या तराई मधेशमै रहेको छ, तर त्यहाँ नेपाली चलचित्र बजारले आफ्नो ठाउँ बनाउन सकेको छैन किन ? किनभने त्यो चलचित्रमा आफ्नोपन देख्दैन । हिन्दी चलचित्र रुचाउनको मुख्य कारण एउटा भाषा हो र अर्को कथावस्तु पनि हो ।

बरु तराई मधेशका दर्शकले हिन्दी, भोजपुरी फिल्ममा आफ्नो कथावस्तु भेटाउँछ तर नेपाली चलचित्रमा भेट्दैन ।
चलचित्र निर्देशक दिनेश राउत भन्नुहुन्छ, तराई र तराईवासीका कथाहरु नभनेसम्म नेपालको मधेसले नेपाली चलचित्र आफ्नो ठान्दैन । ‘अहिलेसम्म हामीले तराईका कथा चलचित्रमा भन्न सकेका छैनौँ । जबसम्म चलचित्रले तराईको यथार्थ र समस्या देखाउन सक्दैन, तबसम्म मधेसले नेपाली चलचित्रमा आफ्नो अपनत्व लिँदैन’ दिनेश राउत भन्नुहुन्छ, ‘झन्डै आधा जनसंख्या रहेको तराईलाई नेपाली चलचित्रले सम्बोधन गर्दैन भने उनीहरुले हाम्रो चलचित्र किन हेर्छन् त ?’ तराई मधेश कथा भनेको गरिब, तरकारी बेच्ने, कागज बोतल उठाउने, चटपटे बेच्ने मात्र होइन, कपाल काट्ने मात्र होइन, दलितको कथा छ, पिछडिएको समुदायको कथा छ, जमिन्दारको कथा छ, भोकमरी र दास प्रथाको कथा छ ।

दिनभद्री र डिहवारको कथा छ, सलहेस महराज र फुलवाइरको कथा छ, नेपाल–भारत सीमाको कथा छ, राजनीति दाउपेचको कथा छ, राज्यले दमन गरेको कथा छ, बलिदानी र योगदानको दशभक्ति कथा छ, दहेज लेनदेन र भोजभतेरको कथा छ, वैदेशिक रोजगारीको कथा छ, एउटा परिवारले साहुबाट लिएको ऋणका कारण त्यो परिवारको कसरी विचल्ली भएको त्यसको कथा छ । यस्ता हजारौं कथा छन् जसलाई नेपाली चलचित्र बजारले पहिचान गर्न नसकेको हो । समावेशीको नाममा अनुहारमा कालोपोतेर ठेला वा साइकलमा तरकारी बेच्न लगाएर मैथिली टोनमा बोल्न लगाएर मात्र चलचित्र बिक्दैन ।

मधेशलाई होच्याउँदै
नेपाली चलचित्रले तराई र तराईवासीलाई गलत तरिकाले प्रस्तुत गरिरहेको चलचित्र क्षेत्रकै कतिपय निर्देशकहरुको बुझाई छ । जानेर होस् अथवा नजानेर मधेसीलाई नेपाली चलचित्रले होच्याउने, हेप्ने र हियाउने काम गरिरहेका छन् । जबसम्म नेपाली चलचित्रले तराई मूलका नागरिकलाई यसरी प्रस्तुत गर्छन्, तबसम्म नेपाली चलचित्र त्यो भू–भागमा मन पराइने छैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रायः पूर्व–पश्चिम राजमार्गको छेउमा मात्रै सिनेमा हल छन् । र, राजमार्ग छेउमा अक्सर पहाडबाट बसाइँ सरेर आएका पहाडी समुदायको बसोबास छ । मधेसी चरित्र देखाएका नेपाली चलचित्रको नियत ठिक छैन । निर्देशक हेमराज बिसी भन्नुहुन्छ, खराब नियत नराखेर भने मधेसीको लबज प्रस्तुत गर्न सकिन्छ, कसैलाई होच्याउन वा तल देखाउन पाइँदैन । कसैको मजबुरी र लाचारीलाई जोक बनाएर हँसाइन्छ भने त्यो गलत हो, नेपाली चलचित्रमा अहिलेसम्म प्रायः भइरहेको यही नै हो ।’

दर्शकको चाहना
सिनेमाको कुनै भाषा हुँदैन भनिए पनि यसले केही न केही असर गर्छ । कारण नेपाली चलचित्रको सिनेम्याटिक ल्यांग्वेज अब्बल छैन । यसमा सिनेमा लिट्रेसी र सिनेमा कल्चरले असर गर्छ । नेपालमा कमजोर सिनेमा लिट्रेसी रहेको र सिनेमा कल्चर नरहेका कारण तराईको राजमार्गभित्र रहेका बस्तीमा नेपाली भाषा नबुझ्नेको संख्या पनि ठूलो रहेकाले यसको प्रभाव पनि पर्ने हेमराजको बुझाई छ । नेपालमा १३० भन्दा बढी भाषा छ, कतिवटा भाषामा नेपाली चलचित्र बन्छ ? सानो सानो लगानीका नेवारी भाषा, मैथली भाषा, भोजपुरी, थारु, तमाङलगायतका भाषामा फिल्म बनेपनि त्यो दर्शकसम्म पुग्न सकेको छैन । ठूलो लगानीमा र मेन स्ट्रिमको अन्य भाषामा नेपालमा फिल्म नबनेसम्म त्यो सर्वस्वीकार हुँदैन ।

दर्शक के चाहन्छ, उसको चाहना के हो फिल्म मेकरले नबुझी आफ्नो फिल्म बनायो भने बालुवामा पानी खन्याए जस्तै हुन्छ । भारतमा जतिवटा भाषा छन् त्यसको त्यतिवटा फिल्म इन्डस्ट्री छन् । तमिल, तलेगु, बंगाली, मराठी, पञ्जावी, भोजपुरी, मैथिलीलगायत भाषाको आआफ्नै फिल्मी इन्डस्ट्री छ, उसले आफ्नो बजार पहिचान गरिसकेको छ । अहिले साउन फिल्मले विश्वको बजार लिइरहेको छ । त्यहाँ बन्ने फिल्म साउथमा चल्छ नै, मन पराउँछ नै अन्य ठाउँमा देखाउनका लागि विभिन्न भाषामा डविङ्ग हुन थालेको छ ।

हिन्दी, मराठी, भोजपुरीलगायतको भाषामा डविङ् हुन थालेको छ तर नेपालमा एउटा मात्र भाषा नेपालीमा समेत सबैलाई समेट्न सकिरहेको छैन ।

सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतबाट आफैँले बोल्ने तथा बुझ्ने भाषामा चलचित्र आउँछन् । यस्तो अवस्थामा आफूले नबुझ्ने वा बुझे पनि आफैँलाई होच्याउने, हिसाउने र हेपेर बनाइएका चलचित्र उनीहरुले किन हेर्ने ? यो प्रश्न केही वर्षअगाडि वीरगन्जमा अभिनेता प्रमोद अग्रहरीलाई स्थानीय केही युवाले सोधे । गौरी मल्ल, करिष्मा मानन्धरसँग बजारमा प्रमोद हिँडिरेहका थिए । केही युवाले उनलाई ‘फलो’ गरिरहेका थिए । प्रमोदले नै उनीहरुलाई बोलाउनुभयो । ती युवाले प्रमोदलाई भने, दाइ सुन्तलीमा खेल्ने तपाईं नै होइन ? प्रमोदले सोध्नुभयो, नेपाली फिल्म हेर्छौ ? उनीहरुको जवाफ थियो, सुन्तली हे¥यौँ । यो चलचित्र चाहिँ आफ्नै चलचित्र हेरेजस्तो लाग्यो । हाम्रै खिल्ली उडाउने नेपाली चलचित्र के हेर्नु, खासै हेरिँदैन । तोडमरोड गरिएको आफ्नो भाषा, गलत तरिकाले चित्रित गरिएको संस्कृति र आफैँलाई अपमान गरिएको चलचित्र तराईका नागरिकले नहेर्ने प्रमोद बताउनुहुन्छ ।

जबसम्म तराईवासीले नेपाली चलचितत्रमा अपनत्व महसुस गर्दैनन्, तबसम्म नेपाली चलचित्र हेर्दैनन् । नेपाली चलचित्र तराईमा नहेरिनुको कारण पनि यही हो । अझै मधेशीलाई मजाक बनाएर चलचित्र बनाउने हो भने मधेसलाई नेपाली चलचित्रले क्यास गर्न नसक्ने मात्रै होइन, भएका हलहरु बन्द हुने क्रम पनि बढ्नेछ । मधेसी, जनजातिहरु अहिले पनि नेपाली चलचित्रको मजाक बनिरहेको भन्दै प्रमोद तराईलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म नेपाली चलचित्रमा मधेसले हेर्ने नजरमा पनि बदलाव नआउने बताउनु हुन्छ ।

आफ्नै इन्डस्ट्रि
विगत लामो समयदेखि कालाकारिता क्षेत्रमा लाग्नु भएका कमल मण्डल भन्नुहुन्छ, हाम्रो जवानी यसै क्षेत्रमा बित्यो अझै संघर्ष गरिरहेका छौं, नेपालमा चलचित्रको बजार छ भने कुरामो महसुस हामी मधेशका कलाकारहरुलाई भएकै छैन ।’ एक त नेपाली चलचित्रमा तराई मधेशका कथावस्तु हुँदैन भएपनि नेपाली (पहाडी समुदाय) कलाकारलाई नै कालो पोतेर प्रस्तुत गरिएको हुन्छ, त्यहाँ तराई मधेशका कलाकारलाई खेल्न अवसर दिँदा पनि हुन्थ्यो तर त्यस्तो नगरेको उहाँको गुनासो छ ।

एक त तराई मधेशको कथावस्तु हुँदैन, एकआध फिल्म तराई मधेशको कथावस्तुमा बनाइए पनि भाषा, पहिरन, लवजलाई यति भद्रगोल बनाइएको हुन्छ, त्यसले त्यसमा भएको कथावस्तुलाई पनि गिजोलिएको हुन्छ, उहाँ भन्नुहुन्छ, भोजपुरी फिल्म त अभिताभ बच्चनले पनि खेलेका छन्, अजय देवगनले पनि खेलेका छन्, राजमुराददेखि किरण कुमारसम्मले खेलेका छन् तर के त्यो चल्यो त, चलेन । त्यहाँ निरौहुवा, खेसारीलाल, पवनकुमार नै चाहिन्छ । साउन इण्डियन फिल्मका रजनीकान्त, चिरन्जिवी, बैंकटेस, प्रवास, धनुष जस्ता कलाकारले पनि हिन्दी फिल्म खेल्नुभयो तर उहाँहरु चल्नु भएन आखिर आफ्नै क्षेत्रमा रिटर्न भएपछि जम्नु भयो । हो, नेपालमा पनि त्यही गर्नुपर्ने हो ।’

राजेश हमाल, निखिल उप्रेतिको काँधमा रातो गमछा राखेर रिक्सा चलाउन दिँदैमा तराई मधेशका कथावस्तुमा त्यहाँका दर्शकल रुचाउँदैन । दीपकराज गिरी र दिपाश्री निरौलाले जति पनि रामविलास र धनियाँ बनेपनि तराई मधेशको दर्शकले रुचाउँदैन । धुर्मुस, सुन्तलीले जतिपनि कालोपोतेर मधेशमा छिर्ने प्रयास गरेपनि चल्नेबाला छैन । तराई मधेशको बजारलाई लिनका लागि नेपाली चलचित्र इन्डस्ट्रिजले तराईको कथावस्तुका साथै त्यहाँका पात्रलाई नै छनौट गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया