बासमती धानमा दावी गर्दै नेपालले पठायो थप प्रमाण

नेपालले बासमती धानका लागि ‘भौगोलिक संकेत अधिकार’ आफ्नो हो भनि थप प्रष्ट पार्दै थप प्रमाणहरुइयुलाई पठाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले करिब २०७७ मंसिरमा १३ बुँदे दावीसहित ८० वटा प्रमाण इयुलाई पठाएर बासमाती धानको भौगोलिक संकत अधिकार आफ्नो रहेको दावी गरेको थियो । तर इयुले केही दिनअघि ती प्रमाणहरुको बारेमा थप स्पष्ट पार्नका लागि नेपाललाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा नेपालले पठाएका आफ्ना प्रमाणहरुको बारेमा स्पष्ट पार्दै अन्य थप चारवटा प्रमाणहरु इयुलाई पठाएको नार्कका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, हामीले वासमती धानको भौगोलिक संकत अधिकार हाम्रो हो भनि ८० वटा प्रमाण पठाएका थियौं, त्यसपछि भारतले आफ्ना प्रमाण पेस गरेपछि इयुले नेपालको प्रमाणहरु बारेमा थप केही बुझ्न चाहेको भन्दै हामीलाई पत्र पठाएको थियो । हामीले ती प्रमाणहरुलाई स्पष्ट बुझ्ने भाषामा बनाएर अन्य थप प्रमाणहरु पनि पठाएका छौं ।’

अबको एक महिनापछि त्यसको परिणाम आउने उहाँले बताउनुभयो । बासमती धानका लागि ‘भौगोलिक संकेत अधिकार’ नेपालको हो भनि आफूहरुले यथेष्ट प्रमाण दिएको कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा आफूहरु ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक एवं बासमती धानको बारेमा अध्ययन गर्न बनेको समितिका संयोजक डा.बालकृष्ण जोशीले आफूहरुले धेरै प्रमाण पठाएको कारण इयु अलमलमा परेको जस्तो देखियो, अहिले त्यही प्रमाणहरुलाई छोटोछोटो पारि बुझ्ने गरी पठाएको बताउनुभयो । ती प्रमाणहरुलाई थप सहयोग पुग्नेगरी अझै चारवटा प्रमाण पठाएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा पाउने नेपाली ब्राण्डाका बासमती चामलका ब्रण्डाहरुको फोटो, राजपत्रमा बासमती धानको बारेमा प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिश सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बासमती धानको ट्रेडमार्क पठाएको उहाँले जानकारी दिनुभयो ।

सुरुमा भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको आधिकारिक हो भनि दावी गरेपछि नेपालले पनि आफ्नो हो भनि दावी गर्दै पत्र पठाएको थियो । त्यसपछि वासमती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यसरी बासमती धानका लागि तीन देशबाट दावी आएपछि युुएइले तीनटै देशलाई आआफ्नो प्रमाण पेश गर्न निर्देशन दिएको थियो । सो निर्देशन अनुसार तीनटै देशले आआफ्नो देशबाट प्रमाणहरु जुटाइ रहेका छन् ।

राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीको नेतृत्वमा वासमती धानको बारेमा अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरु जुटाएर गत मंसिरमा इयुलाई पठाएको थियो ।

सन् १९६० देखि नेपालमा रहेका प्रमाणहरु बारेमा अध्ययन गरी इयुलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बनीमा गएर त्यहाँका किसानहरुसँग पनि कुराकानी गर्नुको साथै विभिन्न पुराना व्यक्तिहरुसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । साँस्कृतिक, आर्थिक, समाजिक तथा सागिंतिक रुपमा पनि वासमाती धानको बारेमा अध्ययन गरेर इयुलाई पठाएको उहाँले बताउनुभयो ।

यसको उत्पादन भौगोलिक रुपमा तराई क्षेत्रमा भएको छ । विभिन्न प्रमाणले पनि त्यस्तो देखाएको छ । यहाँसम्म कि भारतले पनि आफ्नो प्रतिवेदनमा वासमती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको नार्कले दावी गरेको छ । त्यसले गर्दा नेपालको दावी नै पुष्टि हुने नार्कका वैज्ञानिकहरुले जनाएको छन् । वासमती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएको छ भने अन्तराष्ट्रिय जीन बैंकमा नेपालमा ६४ वटा वासमती धानका जातहरु रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जीन बैंकमा वासमाती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरु देशको तुलनामा धनी रहेको राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले बताउनुुभयो ।

नेपालको लोकल बासमती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ। यो धानको उत्पत्ति केन्द्र तराई मधेश क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन भारत लगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ । बासमती धान र यसको जातको बारेमा विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटहरुमा उल्लेख गरिएको छ, जुन अन्तराष्ट्रिय रुपमा पाइन्छ । सामुदायिक बीउ बैंकले वासमति धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन्।नेपालका विभिन्न कम्पनीले बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया