विश्वासमतको बदलामा उपहार

–सुरेशकुमार यादव
२०७७ बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुरलगायत अन्य अध्यक्षमण्डल सदस्यको नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण हुँदा मधेशमा मात्र होइन, देशमै चर्चाको विषय बनेको थियो । टुटफुटको बदनामबाट चर्चामा रहेका मधेशवादी दल एकीकृत भएपछि स्वभाविक रुपमा त्यसको चर्चा हुनु थियो र भयो पनि । मधेशमा त्यसको चर्चा हुनु अस्वभाविक पनि होइन । जब बैशाख १० गते दुई पार्टीबीच एकीकरण भयो अनि मधेशमा खुशीयालीले लड्डु वितरण भयो । एक अर्कासँग खुशी साटासाट भयो । तर त्यो खुशी आधा महिना पनि टिक्न सकेन र पार्टीभित्र खटपट सुरु भयो । र विभाजन भयो, फेरि विभाजनको खुशीयाली लड्डु खाने काम भयो ।

एकीकरण भएकै बेला धेरैको मुखबाट यो कुरा सुनिएको थियो कि यो अस्वाभिक एकीकरण हो । यो एकीकरण धेरै लामो समय टिक्दैन । जुन परस्थितिमा दुई पार्टीबीच एकीकरण भएको थियो, त्यो परस्थितिले कसैलाई विश्वास गर्ने आधार नै थिएन । त्यतिबेला उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी मात्र होइन, महन्थ ठाकुरहरु (अध्यक्षमण्डल) को राजपा पनि विभाजन हुने अवस्थामा थियो । त्यसको पीडा दुवै पक्षलाई थियो । समाजवादी पार्टी विभाजन हुने कुरा सतहमा नै आइसकेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले तत्कालिन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण नगराएको भए सो पार्टीको विभाजन त्यति चर्चामा आउने थिएन । जसरी भित्रभित्रै समाजवादी पार्टीका सांसद रेणु यादवलगायतका टीमले पार्टी विभाजनको तयारी गरिरहेको थियो, त्यसरी तत्कालिन राजपाका सांसद राजकिशोर यादवलगायतका टीमले पनि आफ्नो पार्टी विभाजनको तयारीमा लागेको थियो । यी दुवै टीमलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सघाइ रहनु भएको थियो ।

ओलीले दुवै टीमलाई सहज बनाई दिनका लागि राजनीतिक दल विभाजन सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश नै ल्याई दिनुभयो । यी सबैको काम योजनाअनुसार चलि नै रहेको थियो । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण नगरेको भए यति चर्चा हुँदैन्थ्यो र हतार हतारमा दुवै पार्टीबीच एकीकरण भयो । अहिले आएर महन्थ ठाकुर पक्षका नेताहरुले समाजवादी पार्टी विभाजन हुन लाग्दा आफूहरुले नै एकीकरण गरेर जोगाई दिएको भन्दै आइरहनु भएको छ तर वास्तविकता त्यस्तो थिएन । महन्थ ठाकुरको आफ्नो पार्टी पनि विभाजन भइरहेको थियो ।

त्यो उहाँले उहाँले थाह पाइसक्नु भएको थियो । यद्यपी विभाजनको डरले सबभन्दा बढी चिन्तित उपेन्द्र यादव देखिनु भएको थियो । उहाँमा घबराहट पनि आइसकेको थियो । त्यस अवस्थामा एकीकरण नै एक उपाय हो भनि हतार हतारमा उहाँले राजपासँग मिल्नुभयो तर महन्थ ठाकुरहरुलाई पनि थाह थियो कि राजपाभित्र पनि विभाजनको चलखेल भइहरेको छ । त्यही भएर उहाँले पनि आफ्नो आवश्यकताको आधारमा एकीकरण गर्न राजि हुनुभएको थियो, यो नै वास्तविकता हो ।

नत्र मधेशमा प्रतिस्पर्धामा रहेको समाजवादी पार्टी र राजपा मिल्नुको कुनै आवश्यकता नै थिएन । उपेन्द्र यादवको मनको एउटा कुनामा चाहना थियो वा होला कि राजपा विभाजन भइ जाओस् । त्यस्तै महन्थ ठाकुरको पनि मनको एउटा कुनामा चाहना थियो वा होला कि समाजवादी पार्टी विभाजन भइ जाओस् । तर दुवै पार्टी एकैपटक विभाजन हुन लाग्दा दुवैको मन एउटै भयो र एकीकरण भयो । तर एकीकरणको वर्षगाँठ मनाउन नपाउँदै विभाजनको प्रकृया सुरु भइसकेको थियो र विधिवत रुपमा भदौं २ गते विभाजन भयो र ९ गते महन्थ ठाकुरहरुले नयाँ पार्टीको प्रमाणपत्र पनि पाइसक्नु भयो ।

तर यहाँ उल्लेख गर्नुपर्ने कुरा के हो भने पार्टी एकीकरणपछि जुन जुन व्यक्ति र समूहले लड्डु बाँडेर खुशीयाली मनाएका थिए, त्यही समूहले विभाजनमा पनि लड्डु खाए । विभाजनको खुशीमा लड्डु मात्र बाँडेनन्, दीप प्रज्वलन नै गरे । जसपा विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको खुशीयालीमा जनकपुरलगायत विभिन्न ठाउँमा खुशीयाली मनाएको थियो । मधेशवादी दलकै यस्ता नेता हुनुहुन्छ, जो एकीकृतमा पनि खुशी हुन्छन् र विभाजनमा पनि खुशी हुन्छन् । यो विभाजनले कसलाई के फाइदा के वेफाइदा भयो त्यसको हिसाब किताब आउने दिनमा हुने नै छ । तर जसरी एउटा स्वार्थका कारण दुई पार्टीको एकीकरण भएको थियो, पुनः अर्को कुनै स्वार्थका कारण विभाजन भयो ।

र, यो विभाजनमा सरकारले खुलेर सहयोग गर्यो । काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्बन्धी ऐन संशाधेन गर्दिएर पार्टी विभाजन गर्नका लागि महन्थ ठाकुरलाई सजिलो बनाई दिएको थियो । राजनीतिमा यो भन्दा घिनलाग्दो हरकत अरु के हुनसक्छ । तर राजनीतिमा सबै कुरा जायज हुन्छ भनि चित्त बुझाउने बाहेक अरु कुनै उपाय नै छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुरलाई सहयोगको बदलामा उपहार दिनुभएको हो । शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि विश्वासको मत लिँदा महन्थ ठाकुरले पनि सघाउनु भएको थियो । जुन दृश्य संसदीय राजनीतिका लागि अनौठो थियो । एक घण्टाअघिसम्म केपी ओलीकै गठबन्धनमा रहने, ओलीको साथ नछाड्ने घोषणा गर्नुभएका महन्थ ठाकुरले बीचमै के त्यस्तो चमत्कार भयो जो देउवालाई विश्वासको मत दिन तयार हुनुभयो ।

त्यही महन्थ ठाकुर शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपति भवनमा निवेदन दिँदा साथ दिनुभएको थिएन, बरु संसद विघटनका लागि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सघाउनु भएको थियो तर संसदमा विश्वासको मत लिँदा त्यसमा महन्थ ठाकुरले सहयोग गर्नुभएको थियो । त्यतिबेला नै पार्टी विभाजनमा सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो । जसपाको विवाद निर्वाचन आयोग र सर्वोच्च अदालतमा थियो । प्रधानमन्त्री देउवाले कहाँ हुन्छ, कसरी हुन्छ आफूबाट भरपुर सहयोग हुने प्रतिवद्धता जनाएपछि अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत दिएको धेरैको बुझाई छ । अन्ततः सजिलो हुने गरि दल विभाजन सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याई दिनुभयो जो महन्थ ठाकुरका लागि ठूलो उपहार भयो ।

तपाईको प्रतिक्रिया