उपेन्द्रले जसपालाई एकलौटी चलाउन खोज्नुभयो त्यसैले विभाजन भयो

–मनिष मिश्र
–अध्यक्ष, विद्यार्थी संगठन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
जनता समाजवादी पार्टी नेपाल अन्ततः विभाजन भएको छ । महन्थ ठाकुर अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्नुभएको छ । जसपा बनेको एक वर्ष पाँच महिनामै विभाजन भएको हो । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर महन्थ ठाकुर पक्षलाई सजिलो बनाई दिएपछि पार्टी विभाजन भएको हो । त्यसको आधारमा महन्थ ठाकुरले आफ्नो पक्षको सँख्या देखाएर जसपाबाट अलग हुनुभएको हो । प्रचण्डलाई समर्थन गर्ने कि केपी शर्मा अ‍ोलीलाई समर्थन गर्ने विषयमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच मनमुटाव सुरु भएको थियो । त्यो मनमुटावले यस्तो अवस्था सृजना गरयो कि पार्टी नै विभाजन भयो । अहिले दुईटै पार्टी अलगअलग छन् । आआफ्नो गतिविधि बढाई रहेका छन् । प्रस्तुत छ, जसपा विभाजन, लोसपाको अबको यात्रा लगायतका विषयमा लोकतान्त्रिक समाजवादी पार्टीका विद्यार्थी अध्यक्ष मनिष मिश्रसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

अन्ततः तपाईहरु जनता समाजवादी पार्टीबाट अलग नै हुनु भयो होइन, कस्तो लागि रहेको छ अहिले ?
–जसरी एउटै आमाबुवाका छोराछोरी अलग हुँदा जस्तो फिल हुन्छ, त्यस्तै फिल हामलाई अहिले भइरहेको छ । जसपा एउटा परिवार जस्तै थियो । एउटा पवित्र उद्देश्यका लागि जसपाको गठन भएको थियो । देशकै वैकल्पिक शक्ति निर्माणका लागि जसपा नेपालको यात्रा तय भएको थियो तर कसको आँखा लाग्यो, पार्टी दुई टुक्रा भयो । परिवारमा बस्दा अलिकति ठासठुस हुन्छ तर अलगै हुने अवस्थामा पुग्नु हुँदैन्थ्यो जस्तो लाग्छ मलाई । जसपा विभाजन हुँदा नमिठो लागि रहेको छ । एकजुट रहेको परिवार फुटोस् भने कसैको चाहना हुँदैन, कसैले चाहदैन पनि । परिवार विभाजनको पीडा एउटा अभिभावकलाई नै थाह हुन्छ । त्यसरी नै राजनीतिक गर्ने मान्छेलाई नै पार्टी विभाजनको पीडा थाह हुन्छ । जसपा विभाजन भयो भने कतिपयले जस्न मनाएको होला तर पार्टी फुट्नु राम्रो होइन, यो दुखको समय हो । जसको कारणले पार्टी विभाजन भएपनि यो राम्रो भएन ।

कहिले काही शीर्ष नेताहरुको बीचमा झगडा हुँदा युवा विद्यार्थीहरुले त्यसलाई मिलाउने प्रयास गरेका हुन्छन्, पार्टी विभाजन नहोस् भनेर तपाईहरु त्यसका लागि केही प्रयास गर्नुभयो कि गर्नुभएन ?
–गरे, हामी युवा विद्यार्थीहरुको तर्फबाट सक्ने जति प्रयास भयो । पार्टी विभाजन नहोस्, एउटै शक्ति रहोस् भनि हामीले दुवै पक्षका नेताहरुसँग कुरा गरेका थिए । तर त्यो प्रयास सफल भएन । मधेशी जनताको चाहना अनुसार समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । त्यसरी विभाजित हुनुहुँदैन्थ्यो ।

पार्टी विभाजन नहोस् भनेर तपाईहरुले प्रयास गर्दा दुईतिरको नेताहरुको कस्तो प्रतिकृया पाउनु भयो त ?
–दुवै पक्षले एक अर्कालाई आरोप लगाउनुभयो । ‘म दोषी होइन, यी सब मैले गरेको होइन, उसले गरेको हो’ भनि दुवै पक्षको भनाई थियो । हामीले पार्टी विभाजन गर्न चाहेको होइन तर जवर्जस्ती उताबाट गराउन खोजेको जस्ता कुराहरु पनि उहाँहरुको मुखबाट सुनियो ।

तपाई दुईतिर कुरा सुन्नुभयो र गर्नुभयो खासमा पार्टी विभाजनका लागि मुख्य दोषी को हुन् जस्तो लाग्छ तपाईलाई ?
–यसमा मुख्य दोष उपेन्द्र यादवतिरबाट नै भएको हो जस्तो मलाई लाग्यो । उपेन्द्र यादवले सुरुमै पार्टीलाई एकलोटी ढंगबाट चलाउनु खोज्नु भएको हो । त्यहीबाट समस्या सुरु भएको हो । वरियताक्रमको एक नम्बरमा महन्थ ठाकुर हुनुहुन्छ तर पार्टी कसरी सञ्चालन भइरहेको छ उहाँलाई कुनै जानकारी छैन । उपेन्द्र यादव मन लागेको बेला बैठक बोलाई हाल्ने, गर्नुपर्ने निर्णय गरि हाल्नुपर्ने स्वभावका हुनुहुन्छ । काम गर्नु गलत होइन, तर दुईजना अध्यक्ष छन् भने दुवैजनाको सहमतिमा कुनै काम हुनुपर्यो । त्यसमा पनि महन्थ ठाकुरजी पहिलो नम्बरका अध्यक्ष हुनुुहुन्छ उहाँलाई जानकारी दिएर हरेक काम गर्नुपथ्यो तर त्यसो नगरेर समस्या भएको हो । कपितय निर्णय विज्ञप्ति जारी भएपछि मात्र महन्थ ठाकुरजीलाई जानकारी हुन्थ्यो । विवादको जड त्यही हो ।

महन्थ ठाकुरले पनि पार्टीमा कुनै सल्लाहै नगरिकन तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई समर्थन गर्न जानु भएको हो नि होइन ?
–होइन, महन्थ ठाकुरले त्यस्तो गल्ती कहिले गर्नुहुन्न । तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वार्ताका लागि महन्थ ठाकुरलाई पटक पटक आग्रह गरेपछि महन्थ ठाकुरले सबभन्दा पहिले उपेन्द्र यादवलाई भन्नुभएको थियो । अ‍ोलीसँग वार्तामा उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पनि जाने गर्नुहुन्थ्यो । दुई तीनवटा छलफलमा गए, त्यसपछि उहाँहरु जान छाड्नु भयो । महन्थ ठाकुर छलफलका लागि बालुवाटार जानका लागि उपेन्द्र यादवलाई पटक पटक भन्नुहुन्थ्यो तर उहाँ कुनै न कुनै बहाना बनाएर बालुवाटार जानु हुन्थेन । खासमा उपेन्द्र यादवले केपी शर्मा अ‍ोलीसँग कुनै प्रकारको सम्झौता गर्न चाहनु भएको थिएन । ओलीसँग कुनै सम्झौता नहोस् भनि उहाँको चाहना थियो ।

महन्थ ठाकुरले आफ्नै पक्षका मान्छे राखेर वार्ता समिति बनाएको आरोप उपेन्द्र यादवको छ, उहाँले त्यस्तो गर्नुभएको हो नि त हैन ?
–तपाई सक्रिय पत्रकार हुनुहुन्छ, हरेक कुराको अपडेट राख्नुहुन्छ । तपाईले थाह हुनुपर्ने हो कि पार्टी संसदीय दलको बैठक बस्दा वार्ता समितिमा दुईजना थप्ने निर्णय भएको थियो । ती दुईजना उपेन्द्र यादवको पक्षबाट राख्नुपर्ने भनिएको थियो । तर उपेन्द्र यादवले नाम दिनुभएन । महन्थ ठाकुरले पटकपटक नाम माग्नुभयो तर उहाँले नामै दिनुभएन । अनि के गर्नु त, उपेन्द्र यादवलाई सधैका लागि कुरेर बस्ने कुरा पनि हुँदैन । महन्थ ठाकुरले निरन्तर वार्तालाई अगाडि बढाउनुभयो । मधेशको माग पुरा गराउने दवाव बढाउन थाल्नुभयो । ओलीले पनि माग पुरा गर्ने संकेत देखाएपछि महन्थ ठाकुरले वार्तालाई तीब्रता दिनुभएको हो र ओलीलाई कस्सेर समात्नुभयो । उहाँले ओलीसँगको वार्तालाई निरन्तता दिनुभयो । आफ्नो स्वार्थका लागि वार्ता गर्नु भएको थिएन । मधेशको लागि उहाँले वार्ता गरिरहनु भएको थियो । त्यसक्रममा अ‍ोलीले धेरै माग पुरा पनि गर्नुभयो । सायद ओलीको सरकार अझै केही दिन टिकेको भए मधेशका सबै माग पुरा हुन्थ्यो । त्यही भएर महन्थ ठाकुुरले ओलीलाई खुलेर साथ दिनुभएको थियो ।

तपाई कुनै स्वार्थविना वार्ता गरिरहनु भएको भन्नुभयो तर माग पुरा नहुँदै महन्थ ठाकुरले आफ्ना पक्षबाट १० जनालाई सरकारमा पठाउनु भयो जब कि उहाँले यसपाली उधारो होइन, नगदमा माग पुरा भए मात्र सरकारमा जाने भन्नुभएको थियो तर माग पुरा नहुँदै सरकारमा जानुभयो किन यस्तो ?
–होइन, तपाईसँग गलत इन्फर्मेशन रहेको छ । जुन जुन विषयमा ओलीसँग वार्ता भइरहेको थियो लगभग ती सबै माग पुरा भएको छ । कुनै एक आध कानुनका कारण प्रकृयामा गएको छ । ओलीसँग संविधान संशोधन, रेशम चौधरीको रिहा, नागरिकताको समस्या, झुठा मुद्दा फिर्ता, बन्दी रिहायलगायतको विषयमा छलफल भएको थियो । त्यसमा लगभग सबै माग ओलीले पुरा गर्नुभएको हो । संविधान संशोधनका लागि मन्त्रीपरिषद्बाट एउटा कार्यदल गठन गर्नुभयो । रेशम चौधरीको रिहाका लागि कानुनी प्रकृया सुरु गर्नुभयो । नागरिकताको विषयमा अध्यादेश नै ल्याउनुभयो, झण्डै २०० जनाको मुद्दा फिर्ता भएका छन्, अन्य बाँकीको पनि प्रकृया सुरु भइसकेको थियो । तर ओली नेतृत्वको सरकार टिकेन अनि हाम्रो माग अधुरो रह्यो । हामीलाई पुरै विश्वास थियो कि ओलीको सरकार अझै केही दिन टिकेको भए हाम्रा सबै माग पुरा हुन्थ्यो । तर विभिन्न षड्यन्त्र गरेर सरकार ढाल्ने काम भयो र मधेशको माग अधुरो रह्यो ।

तपाईहरु निर्वाचन आयोगबाट प्रमाणपत्र समेत पाइसक्नु भएको छ, अब लोसपा कसरी अगाडि बढ्छ ?
–भदौ २२ गतेसम्म सनाखत हुने समय तोकिएको छ । स्थानीय तहमा जतिके प्रतिनिधिहरु र प्रदेशसभाबाट जितेका सांसदहरले सनाखत भएपछि पार्टी एक किसिमले अगाडि बढ्छ । लोसपा बनेपछि कार्यकर्तामा उत्साह थपिएको छ । नयाँ उर्जा मिलेको छ जस्तो लागेको छ । उपेन्द्र यादवबाट अलग भएर ठिक गर्नुभयो भन्छन् । ‘त्यतिबेला नै उपेन्द्र यादवको पार्टीसँग एकीकरण नगर्नुस् भनेको थिए तर मान्नु भएन दुख पाउनुभयो’ पनि धेरैले भन्ने गरेका छन् । पार्टीका धेरै शुभचिन्तकहरु छन् । माया गर्नेहरु पनि छन्, अब आफ्नै ढंगले पार्टी अगाडि बढ्छ ।

जसपाबाट विभाजन भएर महन्थ ठाकुर पक्ष अर्थात पूर्व राजपालाई घाटा लाग्यो कि नाफामै छ तपाईको बुझाई के हो ?
–यो कुनै व्यपार होइन, कि नाफा र घाटाको हिसाब किताब गरेर बस्छन् । यद्यपी अहिले सनाखत हुन बाँकी नै छ । सनाखत भएपछि मात्र को कहाँ छन् भन्ने थाह हुन्छ । अहिले हेर्दा त सबै आफ्नै जस्तो लाग्छ । सबैजना सम्पर्कमै छन् । तपाईले नाफा घाटाको कुरा गर्नुभयो, मलाई लाग्दैन कि हामीलाई घाटा लाग्छ । हामी जस्तो थियौ, त्यस्तै छौ । केही कार्यकर्ता उता बढी होला, केही कार्यकर्ता यता बढी होला त्यसले केही हुँदैन । मुख्य कुरा, विचार, सिद्धान्त र एजेण्डा हो । यो जुन पक्षसँग हुन्छ त्यही बलियो हुन्छ । यसको हिसाब किताब र परिणाम जनताले दिनेछ । हामी जति हिसाब किताब गरेपनि त्यसको परिणाम निकाल्ने जनता नै हो । त्यसैले हामी नेतामा होइन, जनतामा विश्वास गर्छौ ।

चुनाव नजिक आउन थालेको छ, चुनावमा पार्टीले गठबन्धन बनाएर जान्छ कि एक्लाएक्लै चुनाव लड्छ ?
–मान्छे यात्राका लागि एक्लै हिड्छ तर यात्राको क्रममा विभिन्न खालका व्यक्तिहरुसँग भेटघाट भइरहेका हुन्छन् । कसैसँग दोस्ती हुन्छ, कसैसँग समान्य चिनजान मात्र हुन्छ । त्यस्तै हो पोल्टिक्स पनि । पोल्टिक्समा कोही स्थायी सत्रु र कोही स्थायी मित्र हुँदैन । केही गडबड भयो भने केही दिनका लागि मुख तीत भएको हुन्छ । तर पछि मिल्दै जान्छ ।

त्यसो भए उपेन्द्र यादवसँग फेरि एकीकरण हुन्छ ?
–एकीकरणको बारेमा म त भन्न सकिदैन तर एउटा मोर्चा अथवा गठबन्धन बनाएर जानैपर्छ । त्यसबाहेक दुवैजनासँग कुनै विकल्प छैन । भर्खर पार्टी विभाजन भएको छ, अहिले चित्त दुखेको होला । तर विस्तारै सेलाउँदै गएपछि एक ठाउँमा ल्याउँछ । यो पार्टी विभाजनले आमजनता निकै दुखि भएको छ । एकीकरण हुँदा नै मधेशको हितमा राम्रो थियो, माथि सदनमा अलिकति भएपनि दवाव पुगि रहेको थियो । जनताले फेरि यी पार्टीलाई मिल्न दवाव दिनसक्छ । त्यस अवस्थामा एकता सम्भव नभए मोर्चा वा गठबन्धन बनाएर जान सकिन्छ । जसपा र लोसपा चुनावमा गठबन्धन गर्नैपर्छ नगरे मधेशले पाएका अधिकार पनि खोसिनेछ । काँग्रेस, कम्युनिस्टको सम्राज्य पुनः सुरु हुनेछ । त्यसैले मधेशी जनताका लागि भएपनि चुनावमा दुवै पक्ष मिल्नुपर्छ ।

तपाईको प्रतिक्रिया