भारतद्वारा कोशी कोरिडोर विद्युत प्रसारणलाइन हस्तान्तर

काठमाडौँ असोज २०–भारतले २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) नेपाललाई हस्तान्तरण गरेको छ ।

विद्युत प्रशारणलाइन निर्माण सम्पन्न भएको अवसरमा धनकुटाको हिलेमा आज एक कार्यक्रमको आयोजना गरी नेपाल विद्युत प्राधिकरणलाई सो विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल १०.४ अर्ब रुपियाँ लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोगअन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको हो । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४.५ अर्ब रपियाँ लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गरिने जनाइएको छ ।

भारतले कोशी कोरिडोरको अतिरिक्त १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । भारतीय दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पादले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया