मुख्यमन्त्रीका दावेदार यादवलाई घटुवामाथि घटुवा

काठमाडौँ असोज २४ गते । प्रदेश २ का मुख्यमन्त्रीका जवर्जस्त दावेदार रहनु भएका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य विजय यादवको उल्टो दिन सुरु भएको छ ।

आफूलाई मुख्यमन्त्री नबनाएको भनि पार्टी पंक्तिप्रति रुष्ट रहनु भएका विजय यादव बढुवा हुनुको सट्टा घटुवा हुँदै गइरहेका छन् । आजै मात्र उहाँले प्रदेश २ को जसपा अध्यक्षबाट राजिनामा दिनुभएको छ । प्रदेश २ मा पार्टी तथा नेता कार्यकर्ताहरु उहाँप्रति असन्तुष्ट जाहेर गर्दै आइरहेका थिए तर उहाँले आफूलाई सुधार गर्नुको सट्टा मनपरी ढंगले पार्टी सञ्चालन गरिरहनु भएको थियो । त्यसले गर्दा उहाँप्रति पार्टीका अध्यक्ष उपेन्द्र यादव सुरुदेखि नै असन्तुष्ट हुनुहुन्थ्यो ।

मुख्यमन्त्री नबनाएको रिसमा उहाँ पार्टीमा जथाभावी गर्न थालेपछि उहाँको आलोचना सुरु भएको थियो । आज उहाँले प्रदेश समितिको अध्यक्षबाट राजिनामा दिन बाध्य हुनुभयो । तर उहाँले आफूले आफ्नो मनले राजिनामा दिएको भन्दै आउनु भएको छ । पार्टीमा एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत आफूले राजिनामा दिएको उहाँले आफ्ना निकट नेताहरुलाई भनिरहनु भएको छ । उहाँ पार्टीको कार्यकारिणी सदस्य र अर्थ विभागका प्रमुख हुनुहुन्छ त्यही भएर प्रदेश २ को अध्यक्ष पदमा रही रहन उचित नलागेर राजिनामा दिएको भन्दै आउनु भएको छ ।

तर प्रदेश २ का जसपाका नेताहरुको धारणा बेग्लै छ । पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतलगायत अन्य मन्त्रीहरुसँग राम्रो सम्बन्ध नबनाएको, प्रदेश २ सरकारलाई असहयोग गरेको, केन्द्रको निर्देशन नमानेको जस्ता काम गरेको कारण उहाँसँग आन्तरिक रुपमा राजिनामा माग गरिएको नेताहरुले दावी गरेका छन् ।

यसअघि मुख्यमन्त्री राउतसँग भएको द्धन्दका कारण अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्रीमा झारेको थियो । आफूलाई मुख्यमन्त्री नबनाएको भन्दै उहाँले मुख्यमन्त्री राउतलाई सरकार सञ्चालनमा असहयोग गरिरहनु भएको थियो । अर्थमन्त्रीबाट नै असहयोग भएपछि सरकार सञ्चालनमा बाधा पुगेको भन्दै मुख्यमन्त्री राउतले केन्द्रमा रिर्पोर्ट गर्नुभएको थियो । सोही रिपोर्टको आधारमा उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री राउतले विजय यादवलाई अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्रालयमा पठाउनु भएको थियो । कृषि मन्त्रालयमा रहनु भएका शैलेन्द्र साहलाई अर्थमन्त्रालयमा पठाउनु भएको थियो ।

अर्थ मन्त्रीबाट कृषि मन्त्रीमा घटुवा गरेपछि विजय यादव झन असन्तुष्ट हुनुभएको थियो । उहाँ अध्यक्षबाट राजिनामा दिएपछि जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहलाई अध्यक्ष बनाउने सम्भावना रहेको छ ।

तर प्रदेश २ को अध्यक्ष बन्ने चर्चामा हरिनारायण यादव, रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साह र लालकिशोर साह पनि रहनु भएको छ । अहिले जनकपुरमा शीर्ष नेताहरुको बीचमा छलफल चलिरहेको छ । बाबाको ढावामा चलिरहेको छलफलमा छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवं संघीय कृषि मन्त्री महेन्द्र राय यादव, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का कृषि मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्र साह रहनु भएको छ ।

 

तपाईको प्रतिक्रिया