‘एउटा चुनावपछि लोसपाको नामोनिशान रहदैन’

काठमाडौँ असोज २९ गते । दशैंको मौका पारेर जनता समाजवादी पार्टी नेपालका नेताहरु गाउँगाउँ पुग्नु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि अन्य शीर्ष नेताहरु काठमाडौ छाडेर आआफ्नो क्षेत्र तथा गाउँ पुग्नु भएको छ । र, उहाँहरुले पार्टीप्रतिको जनमत बुझ्ने प्रयास गरिरहनु भएको छ । दशैं विदाको फाइदा ती नेताहरुले उठाइ रहनु भएको छ ।

हालै जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । यो विभाजनको बारेमा तराई मधेशको जनताले के सोचिरहेका छन्, के भनिरहेका छन्, दशैंको मौका पारेर त्यसको मुड ठम्याउने काम समेत गरिरहनु भएको छ । साथै, विभिन्न पार्टी छाडेर जसपामा प्रवेश गर्नेलाई नेताहरुले स्वागत पनि गरिरहनु भएको छ । तराई मधेशको गाउँगाउँ डुलिरहेका जसपा नेपालका नेताहरुका अनुसार महोत्तरीबाहेक लोसपाको संगठनहरु कुनै जिल्लामा छैन । लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताका कारण महोत्तरीमा अलिअलि संगठन देखिन्छ, त्यसबाहेक अन्य जिल्लामा फाटफुट नेता तथा कार्यकर्ताहरु देखिएका छन् । सिरहामा लोसपा शुन्य नै भएको छ ।

एउटा चुनावसम्म केही नेता तथा कार्यकर्ता लोसपा नेपालसँग हुन्छ, अर्को चुनावसम्म त्यो पनि नरहने जसपा नेपालका नेताहरुले दावी गर्नुभएको छ ।

दशैंको अवसरमा आफ्नो गृहजिल्ला सप्तरीमा रहनु भएका जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले सप्तरीमा लोसपा नेपालको संगठन नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, अहिले फाटफुट रुपमा केही नेता तथा कार्यकर्ताहरु देखिन्छन्, ती नेता तथा कार्यकर्ताहरु एउटा चुनावसम्म लोसपामा रहन्छन् जब चुनावमा लोसपाको बुराहाल हुन्छ अनि ती नेता तथा कार्यकर्ताहरु पनि जसपामा फर्किन्छन् हेर्नुहोला ।’

आफू दशैंमा सप्तरी आएपछि आफ्नो क्षेत्रलगायत अन्य क्षेत्रहरुमा पनि घुमफिर गरेको, जनताको मनको कुरा बुझ्ने प्रयास गरेको भन्नुहुँदै नेता सुमनले भन्नुभयो, जसपा विभाजनप्रति जनता दुखि अवश्य छ तर विभाजनका मुख्य भिलेनप्रति आक्रोशित समेत रहेका छन् । अरु ठाउँको कुरा अहिले म भन्दिन तर सप्तरीमा म जहाँ जहाँ गए, जो जोलाई भेटे ती सबैले जसपा विभाजनका मुख्य दोषी लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई देखिाइरहेको छ, उहाँहरुको कारणले नै जसपा विभाजन भएको हो ।’

महन्थ ठाकुरभन्दा पनि राजेन्द्र महतोप्रति सप्तरीका जनता बढी आक्रोशित रहेको दावी गर्दै नेता सुमनले मधेशलाई पटक पटक घोचपेच गर्नुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनु नै महन्थ ठाकुर र राजेन्द्र महतोको सबभन्दा ठूलो कमजोरी थियो, ओली यस्ता पात्र हुन् जसले दुईपटक संसद विघटन गर्नुभएको थियो र त्यस्ता व्यक्तिलाई साथ दिनु नै महन्थ ठाकुर र राजेन्द्र महतोका लागि सबभन्दा ठूलो भूल थियो । एमालेका अध्यक्ष ओलीलाई साथ दिनुपर्छ भनि सबभन्दा बल गर्ने व्यक्ति राजेन्द्र महतो रहेको कुरा समेत जनताको बुझाइ रहेको नेता सुमनले बताउनुभयो ।

संविधान संशोधनका लागि भएको आन्दोलनताका नै वरिष्ठ नेता राजेन्द्र महतो र अध्यक्ष अ‍ोलीबीच दोस्ती भएको थियो । आन्दोलन छाडेर पटक पटक लुकीलुकी काठमाडौँ गएर ओलीलाई भेटेको कुरा समाचारमा आएको थियो, त्यसलाई समेत सप्तरीका जनताले स्मरण गरेको उल्लेख गर्दै नेता सुमनले प्रतिनिधिसभा चुनावमा अध्यक्ष अ‍ोलीले नेता महतोलाई सहयोग गरेको कुराले पनि त्यो पुष्टि भएको जनताले स्मरण गरेको बताउनुभयो । त्यही सम्बन्धलाई निरन्तरता दिँदै महतोले ओलीलाई भित्रभित्रै सहयोग गर्दै आइरहनु भएको थियो, तत्कालिन राजपा हुँदा पनि महतोले पटक पटक ओलीसँग कुरा गरेर सरकारमा जाने प्रयास गर्नुभएको थियो, पछि जसपा बन्दा पनि उहाँको त्यो प्रयासले निरन्तरता पाउनु भएको थियो र उहाँले महन्थ ठाकुरलाई समेत बालुवाटारसम्म लग्नु भएको थियो त्यसकै नतिजा हो जसपाको विभाजन ।

तराई मधेशमा अहिले जसपाको गतिविधिले तीब्रता लिएको बताउँदै उहाँले काठमाडौँमा अहिले जसरी काँग्रेसको कुरा भइरहेको छ त्यस्तो चर्चा तराई मधेशमा नरहेको उहाँले दावी गर्नुभयो । यसपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याउँछ, सबभन्दा ठूलो पार्टी बन्छ भनि जुन चर्चा छ, त्यसको कुनै प्रभाव तराई मधेशमा नपरेको उहाँको दावी छ ।

केन्द्रमा अहिले काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, तर तराई मधेशमा जसपाकै चर्चा रहेको नेता सुमनको दावी रहेको छ । जसपासँगै लोसपाको पनि चर्चा हुन्छ, उहाँले भन्नुभयो, भर्खर जसपा विभाजन भएको छ, विभाजनको चर्चा हुँदा त्यसमा लोसपाको पनि चर्चा हुन्छ तर लोसपाको आवस्था निराशाजनक छ ।’ चुनावमा जसपा र लोसपाको अवस्था कस्तो हुन्छ भनि जिज्ञासामा नेता सुमनले चुनावमा लोसपासँग कुनै प्रतिस्पर्धा नै हुँदैन, लोसपा र जसपामा धैरैको अन्तर छ, जसपाभन्दा लोसपा धेरै पछाडी परेको प्रतिकृया दिनुभयो ।

गाउँघर तथा चौकमा घुम्दा एउटा अर्को कुरा पनि थाह पाएको उहाँले बताउनुभयो । अहिले संघीय तथा प्रदेश सांसदभन्दा स्थानीय तहको अध्यक्ष, उपाध्यक्षलगायत अन्य पदाधिकारीमा चुनाव लड्नेको बढी चर्चा हुने गरेको छ । जसले पनि स्थानीय तहमा चुनाव लड्ने भनिरहेका छन् । संघीय सांसद र प्रदेश सांसदप्रति त्यति रुची देखाइ रहेको छैन, जो यसअघि संघ र प्रदेशमा चुनाव लडेका थिए ती व्यक्तिहरुले पनि स्थानीय तहप्रति नजर जमाएर बसेको नेता सुमनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया