विजय यादव कात्तिक १५ गतेसम्म अध्यक्ष

जनकपुर असोज २९ गते । प्रदेश २ का कृषि मन्त्री विजय यादवलाई कात्तिक १५ गतेसम्मका लागि प्रदेश २ को जसपा अध्यक्षमा कायम राखेको छ । जनकपुरको एक होटलमा जसपा समायोजनका लागि भएको छलफलबाट हाललाई एउटा तदर्थ समिति गठन गरेको छ । सो तदर्थ समितिको अध्यक्षमा हाललाई विजय यादवलाई राखिएको छ ।

समायोजनअघि उहाँले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । प्रदेश २ को अध्यक्षबाट राजिनामा दिनुपर्ने दवाव पार्टीमा आएपछि उहाँले राजिनामा दिनुभएको थियो । तर प्रदेश समितिलाई कात्तिक १५ गतेसम्म पूर्णता दिइने भएपछि त्यतिबेलासम्मका लागि उहाँलाई नै अध्यक्षमा राखिएको छ । एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उहाँसँग राजिनामा मागिएको थियो ।

उहाँ प्रदेश २ को कृषि मन्त्रीका साथै केन्द्रमा पार्टीको कार्यकारिणी सदस्यका साथै आर्थिक विभाग प्रमुख पनि हुनुहुन्छ । स्रोतका अनुसार उहाँले आफू केन्द्रमा आर्थिक विभाग छाड्ने तर प्रदेशको अध्यक्ष पद नछाड्ने प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समक्ष राखिएको बताइएको छ । प्रदेश २ को अध्यक्ष रोज्ने कि केन्द्रको आर्थिक विभाग प्रमुख रोज्ने अवस्था आयो भने विजय यादवले प्रदेश २ को अध्यक्ष नै रोज्ने उहाँ निकट स्रोतले जनाएको छ । यसको फैसला अब कात्तिक १५ गते मात्र हुने भएको छ ।

तपाईको प्रतिक्रिया