मधेशमाथि काठमाडौँको विभेद

–भाग्यनाथ गुप्ता
मधेशी जनअधिकार फोरम (मधेश) ले मधेशको अधिकार र पहिचानका लागि निरन्तर संघर्ष गरिरहेको छ । २०६४ सालमा स्थापना भएदेखि निरन्तर तराई मधेशमा संघर्ष गर्दै आइरहेको छ । देशमा हुने हरेक विभेदयुक्त विषयमा फोरमले आपत्ति जनाउँदै आएको छ । अरु मधेशवादी दलको जस्तो यो दललाई कुनै लोभ छैन । अन्य मधेशवादी दलहरु एमसीसीको बारेमा मुख खोलेको छैन तर मधेशी जनअधिकार फोरम नेपाल (मधेश) काठमाडौँ गएर त्यसको विरोध जनाइ सकेको छ ।

अरु दलका नेताहरुलाई अमेरिका रिसाउँछ कि भारत रिसाउँछ कि चीन रिसाउँछ कि भनि चिन्ता हुन्छ तर हामीलाई कुनै कसैको कुनै चिन्ता छैन, चिन्ता छ भने मधेशको मात्र । मधेशी जनता मधेशको मात्र होइन, देशकै रक्षा गर्ने ल्याकत राख्छ । मधेशी जनता विना बर्दी नेपाल–भारत सीमा बसेर देशको रक्षा गरिरहेको छ । अहिले एमसीसीका कारण देश संकटमा पर्न लागेको छ । त्यसलाई जोगाउन पनि मधेशी तयार छ, त्यो कुराको सन्देश हामीले दिएका छौं ।

मधेशी जनतामाथि काठमाडौँले विभेद गरेको छ तर मधेशमाथि विभेद गरेको छैन । पृथ्वीनारायण शाहले विस्तारवादी तरिकाले नेपाल बनाउनु भयो त्यो बेलादेखि नै मधेशीसँग सामुदायिक विभेद हुँदै आएको हो । पृथ्वीनारायण शाह त्यतिबेला भन्नुभएको थियो कि ‘देशी मधेशी सन्यासीहरुलाई केरुङको बाटो भएर तिब्बत जान नदिनु’ । त्यहि बेलादेखि मधेशमाथि विभेद हुँदै आएको हो । काठमाडौँले त्यहीबेलादेखि मधेशमाथि घृणा गरिरहेको छ । काठमाडौँ एउटा विभेदीकरणको सेन्टर हो । काठमाडौँले बारम्बार मधेशलाई कमजोर गर्ने षड्यन्त्र गरेको छ । २२ जिल्लाको मधेश थियो, अहिले २४ जिल्ला बनाई दिएको छ । पहिला ७५ जिल्ला थियो, अहिले ७७ जिल्ला बनाई दिएको छ । अर्थात यी जेजति काम भएको छ, त्यसले मधेशलाई मात्र कमजोर गर्ने षड्यन्त्र भएको हो । मधेशलाई कसरी खण्डित गर्न सकिन्छ, कमजोर गर्न सकिन्छ त्यसका लागि नै यो सब भएको हो ।

मधेश आन्दोलनका कारण काठमाडौँको सोचमा केही परिवर्तन आएको पक्कै हो । सिंहदरवार पस्न दिएको छ तर त्यसको स्वामित्वबाट अलग राखेको छ । हरेक सरकारी कार्यालयमा मधेशीहरु छन् तर ती मधेशीहरु नोकरी गर्छन् तर अधिकार दिएको छैन । मधेशी दललाई किन सरकारमा लिन्छ भने कुरा कसैबाट लुकेको छैन । जब जब काँग्रेस, माअ‍ोवादी केन्द्र र एमालेलाई मधेशी अनुहारको खाँचो पर्छ, उसलाई सँख्याको आवश्यकता पर्छ अनि मात्र मधेशवादी दललाई खोज्छन् । अहिलेसम्म भएको त्यही हो । मधेशवादी दलको आवश्यकता परेपछि मात्र सरकारमा लिएको छ, नत्र उनीहरुको आफ्नै सँख्या पुगेपछि सोध्दा पनि सोध्दैन ।

मधेशलाई बन्दुकको नालमाथि राखेर काठमाडौँले संविधान जारी गरेको हो । अहिले पनि मधेशी जनता संविधानलाई स्वीकार गरेको छैन । त्यसको संशोधनको माग गर्दै आन्दोलन गरिरहेको छ । मधेशी जनताले समग्र मधेश एक स्वायत्त प्रदेश आत्मनिर्णयको अधिकारसहित माग गरिहेको छ । देश समावेशी समानुपातिक प्रणालीमा चलिरहेको छैन । निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेशीलाई कमजोर गरिएको छ । नागरिकताको प्रावधानलाई झन झन्झटिलो बनाइ रहेको छ । संविधानसभाको समयमा बनेको अन्तरिम संविधानमा नागरिकताको प्रावधान के थियो, आज के के भइसक्यो । अर्थात मधेश झन गिजोलिएको छ । मधेशलाई कमजोर बनाएको छ । हुँदा हुँदै अहिले मधेश शब्द पनि हराउँदै गइरहेको छ ।

संसदीय राजनीतिक दलबाट त मधेश शब्द हराई नै सक्यो, अब देशबाट नै हराउने अवस्था आउँदैछ । संघीयता आयो तर कस्तो संघीयता, त्यसलाई कसले स्वीकार गरेको छ । जवर्जस्ती लादिएको छ । आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएकाहरुले अहिलेको संघीयतालाई स्वीकार गरेको छैन । राज्यपुनःसंरचनाको कुरा गर्ने हो भनि त्यसलाई पनि स्वीकार गरिएको छैन । यो कस्तो धर्मनिरपेक्षता हो । एउटा धर्मलाई दवाउने र अर्को धर्मलाई उठाउने कही धर्म निरपेक्षता हुन्छ । देशमा संघीयता नहुँदा क्रिश्चयन औंलामा गिन्न सकिन्थ्यो तर अहिले घरघर हुँदैछन् ।

स्थानीय तह बनाइएको छ तर शासन केन्द्रले गरेको छ । प्रदेश बनाइएको छ तर अधिकार दिएको छैन । यस्तो कस्तो गणतन्त्र हो ? जनताले संघीय लोकतान्त्रिक गणतन्त्रका अनुभूती गरेको छैन । यस्तो गणतान्त्रिक देश भयो जहाँ एमसीसीका लागि लडाई भइरहेको छ । एकथरीले देश नै अरुलाई सुम्पि दिउ जस्तो गरिरहेको छ । विदेशीहरुको चलखेल बढेको छ । नेपाल स्वतन्त्र राष्ट्र थियो तर अहिले हामी कसैको नियन्त्रणमा छौं जस्तो लाग्न थालेको छ ।
(मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्तासँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया