प्रदीप यादवले गराउनु भएको आन्दोलनको प्रभाव पर्सामा छैन–साह

काठमाडौँ असोज ३० गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य आत्माराम साहले पार्टीका सांसद एवं नेता प्रदीप यादवद्वारा पर्सामा गराइएको आन्दोलनको कुनै प्रभाव नरहेको दावी गर्नुभएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा आन्दोलन गर्दै पुतला जलाएपछि सञ्चारमाध्यमले स्थान दिने भएका कारणले यसको चर्चा भएको हो तर पर्सामा त्यसको कुनै प्रभाव नरहेको दावी गर्दै नेताले साहले दुई चारजना युवाहरु विरोध गरिरहेका छन् जसको कुनै प्रभाव नरहेको दावी गर्नुभयो ।

प्रदीप यादव पार्टीका सांसद हुनुहुन्छ, सांसद भएपछि मन्त्री बन्नुपर्छ, उहाँ पनि मन्त्री बन्ने लायकका हुनुहुन्छ तर पार्टीले गरेको निर्णयलाई पनि मान्नुपर्छ, एकातिर पार्टीप्रति प्रतिवद्ध छु भन्ने अर्कोतिर पार्टीको विरोधमा आन्दोलन गराउने जस्ता कार्यले कसैलाई राम्रो नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, प्रदीप यादवले धैर्य गर्नुपर्छ, पार्टीले एकदिन अवश्य मूल्यांकन गर्छ, ढिलोचाडो रामसहाय यादवको मूल्यांकन भयो, त्यसैगरि अरुअरुको पनि हुनेछ, हतार गर्नुहुँदैन राजनीतिमा प्यासेन्स राख्नुपर्छ ।’

एउटा परिवारमा सबैलाई सन्तुष्ट गर्न सकिरहेका हुँदैन भने एउटा सिगों पार्टीमा सबैलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ, राजनीतिमा धैर्यता पनि एउटा संघर्ष नै रहेको बताउँदै उहाँले जसपा एउटा ठूलो शक्तिको रुपमा उदय हुने बताउनुभयो । सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर पार्टीका लागि काम गरे भने देशकै वैकल्पिक शक्ति बन्ने बताउँदै उहाँले अरु जिल्लामा त थाह छैन तर पर्सा र बारामा लोकतान्त्रिक पार्टी नेपाल निकै कमजोर रहेको छ, जसपासँग कुनै तुलाना नै गर्न नसकिने बताउनुभयो ।

जसपा एउटा ठूलो दलको रुपमा आउँदैछ, त्यसमा लोसपा धेरै पछाडी हुन्छ, उहाँले दावी गर्दै भन्नुभयो, जसपाप्रति आकर्षण बढ्दैछ, त्यसको नतिजा आगामी चुनावमा देखाउनेछ ।’

तपाईको प्रतिक्रिया