गायक जगजित सिंह, जसको जीवन नै एउटा गजल हो

गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतका र र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नामअनुसार जगलाई जितेर नै देखाएको छ । हामीमध्ये गीत संगीत मन पराउने सबैलाई जगजीत सिंहका गजल अवश्य पनि मन पर्छन् । हामीले उहाँको गजललाई जीवनका कतिपय मोडहरूमा दुरुस्तै आफैले भोगेका आरोह अवरोहसँग तुलना पनि गर्ने गरेको हुनुपर्छ ।

सर्जकहरूका सबै सिर्जनाहरू आफूले मात्रै नभएर अरूले जिएका जीवनहरू पनि महसुस गरेर लेखिएका हुन्छन् । तर केही सर्जकहरूको बारेमा बुझ्दै जाँदा किन त्यस्ता सिर्जनाहरू भएका होलान् भन्ने बुझ्न सहज हुँदो रहेछ । अमरसिंह धिमान र बच्चन कौरका ११ सन्तानमध्ये ७ मा बाँकी रहे । चार छोरी र तीन छोराहरू मध्ये एक हुनुहुन्थ्यो जगमोहन सिंह धिमान ।

एकदिन पिताले उहाँलाई लिएर आफ्ना गुरु कहाँ पुग्नुभयो । उहाँलाई देख्ने बित्तिकै गुरुले यो बालकले संसारलाई कुनै तरिकाले जित्नेछ त्यसैले यसको नाम परिवर्तन गरी जगजीत सिंह राख्न सुझाउनु भयो । नभन्दै स्वर संगीतमार्फत उहाँले सारा जगमा आफ्नो प्रभावमा फैलाउन सफल हुनुभयो । सन् १९४१ फेब्रुवरी ८ मा जन्मेर सन् २०११ अक्टोबर १० मा अस्ताएका जगजीत सिंहले गाउनु भएका गजलहरू यो पृथ्वी रहुन्जेल अस्तित्वमा बजिरहनेछन् । उहाँलाई गायन र जीवनमा चित्रा सिंहले दिएको साथले पनि ठूलो महत्त्व राख्दछ ।

जीवनको शुरुवाती शिक्षा घरनजिकै खाल्सा हाईस्कूलबाट प्राप्त गर्नु भएका जगजीत सिंह बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्नु हुन्थ्यो । जालान्धरबाटै आर्ट विषयमा स्नातक पास गर्नुभएका जगजीतले थप अध्ययनको लागि कुरुक्षेत्र विश्वविद्यालय हरियाणामा एम.ए.पढ्न भर्ना हुनुभयो । यस बीचमा उहाँले आफ्नो सांगीतिक शिक्षा पनि हासिल गर्दै आउनु भएको थियो । उहाँका बुवाको उत्साह र सहयोगमा मास्टर पण्डित छदमलाल शर्मा (जो दृष्टिविहीन् थिए) द्वारा भारतीय शास्त्रीय संगीत सिक्नु भएको थियो । त्यसपछि उत्साद जमाल खानबाट थप शिक्षा प्राप्त गर्नुभएको थियो ।

पिता सरकारी जागिरे भएको कारण छोरा पनि इन्जिनियर भएर जागिर खाओस् भन्ने चाहाना राख्नुहुन्थ्यो । उहाँले गीतसंगीतलाई नै मुख्य पेशा अपनाउँछ भन्ने अनुमान उहाँका बाबुआमाले लगाइ दिनु भएको थिएन ।

उहाँको पहिलो सार्वजनिक कार्यक्रम कक्षा नौमा अध्ययन गर्दागर्दै भएको थियो । त्यतिबेला उहाँको गीत मन पराएर कसैले दुई, कसैले पाँच रुपैयाँ बकस दिएका थिए । बुबा सरकारी जागिरे भए पनि पारिवारको सङ्ख्या ठूलो भएकोले उहाँ आफूलाई निम्नवर्गको भन्न रुचाउनु हुन्थ्यो । कलेज अध्ययन गर्दा त्यहाको प्रिन्सिपलले उहाँलाई संगीतमा समेत राम्रो ज्ञान भएको जेहेन्दार विद्यार्थी भएको कारण होस्टल र विद्यालयको सबै शुल्क मिनाहा गरि दिनु भएको थियो । कलेज पढ्दाखेरी नै एउटा ठूलो कार्यक्रम जहाँ चार हजार भन्दा बढी दर्शक हुनुहुन्थ्यो । गीत गाउँदा गाउँदै बिजुली गयो ।

तर खुसीको कुरा त्यतिबेला माइक सिस्टम भने ब्याट्रीले चल्ने खालको थियो । बत्ती नभएर अन्धकार हुँदापनि अन्तिम समयसम्म कोही कसैले हल्लाखल्ला नगरीकनै पूरा कार्यक्रम सफल बनेको थियो । उहाँ प्रायजसो तलक मेहमुद, अब्दुल करिम खान, बादे गुलाम अलि खान, अमीर खान, मोहमद रफी आदीका गीतहरू गाउन रुचाउनु हुन्थ्यो ।

उहाँको गायकीबाट प्रभावित भएर धेरै युवतीहरूले मन पराउँदथे । एक युवतीले त उहाँलाई हेर्न गजबकै उपाय अपनाउनु भएको थियो । उहाँ सधैँ साइकलमा तिनै युवतीको घर अगाडिबाट आउने जाने गर्नुहुन्थ्यो । युवतीले बाटोमा काँटी बिछ्याएर राख्ने रहेछिन् सधैँ त्यही पुगेर टायर पन्चर हुन्थ्यो । अनि मिस्त्री बोलाएर तयार बनाउञ्जेल धित मर्ने गरी भित्रबाट हेर्ने रहिछिन् । पछि यो कुरा थाहा पाएर उहाँकै बुबालाई साइकल बनाइदेऊ भनी जिम्मा लगाउनु भएको थियो ।

रेडियोमा काम
अध्ययन गर्दागर्दै अल इंडिया रेडियो जालन्धर स्टेशनमा बि दर्जाको कलाकारको रूपमा थोरै पारिश्रमिकमा वर्षमा छवटालाई कार्यक्रममा गीत प्रस्तुत गर्ने अवसर पाउनु भएको थियो । सन् १९६२ मा तत्कालीन राष्ट्रपति राजेन्द्रप्रसादको जालन्धरमा सरकारी भ्रमण हुँदा उहाँको स्वागत स्वरूप जगजीत सिंह आफैले गीत लेखेर गाएका थिए । सन् १९६१ ताका एउटा कार्यक्रममा सहभागी हुन उहाँ आसाम पुग्नु भएको थियो । उहाँको गीत मन पराएर त्यतिबेलाका प्रख्यात भारतीय चलचित्र कलाकार ओम शर्माले बम्बई आउन निमन्त्रणा दिनु भएको थियो ।

त्यति ठूलो कलाकारले नै गीत गाउन आमन्त्रण गरेको सुन्दा उहाँ निकै खुसी हुनुभएको थियो । त्यसपछि उहाँ फिल्मी गीत गायक बन्नका लागि पहिलोपटक बम्बई पुग्नु भएको थियो । ओम प्रकाशमार्फत संगीतकारहरु मदन मोहन, जयदेव, शंकर जयकिसनसँग पनि उहाँको सम्पर्क त भयो तर फेरि पनि स्वर परीक्षामा उत्तीर्ण हुन नसकेकोले कुनै गीत गाउने अवसर पाउन सक्नु भएन । आफूले ल्याएको पैसा सकिएको कारण उहाँ जालन्धर फर्किन बाध्य हुनुभयो तर उहाँसँग रेलको टिकट किन्ने पैसासम्म पनि बाँकी थिएन । त्यसैले उहाँ त्यतिबेला बिना टिकट ट्वाइलेटमा लुकेर बच्दै जालन्धर आइपुग्नु भएको थियो ।

मुम्बइको संघर्ष
कुरुक्षेत्र विश्वविद्यालयमा इतिहासमा एम.ए.भर्ना त भए तर उहाँलाई भने संगीतले नै तानिरह्यो । बाबुआमाको छोराले राम्रो पढेर गतिलो सरकारी जागिर खाओस् भन्ने चाहना थियो । तर उहाँ भने जसरी पनि गायक बन्न चाहन्थे । पढाइ छाडेर बम्बई जाने जानकारी घरमा गराउन सकिरहेका थिएनन् । त्यसो हुँदा घरबाट आर्थिक सहायता पाउने सम्भावना पनि रहेन ।

तर, उहाँको यो उद्देश्यलाई साकार गराइदिने एकजना मित्र उहाँको जीवनमा भगवानको रुपमा उपस्थित भएको जगजीतले एउटा अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ । हरियाणामा साइकल व्यवसाय सञ्चालन गरिरहेका हरदम सिंह भोगलले उहाँलाई आवश्यक खर्च उपलब्ध गराउनेछु तिमी जसरी भए पनि बम्बई जानुपर्छ भनेर उत्साहित गरेको हुँदा घरमा जानकारी समेत नगराई अपुरो पढाई छाडि बम्बई हानिएका थिए । साथमा लिएको खर्च सकिएपछि खै अब फर्कने पो हो कि भन्ने बित्तिकै भोगलले मणिग्राम मार्फत पैसा पठाउने गर्दथे । सुरुका आठ महिना प्रत्येक महिना २०० का दरले पठाएको पैसाले उहाँलाई बम्बईमा टिकिरहन सम्भव बनायो ।

कलाकार बन्न बम्बई पुग्नेहरू प्राय सबैका सुरुवाती दिनहरू त्यति सहज भएको देखिँदैन । जगजीत सिंहले पनि त्यहाँ धेरै उतार चढाव व्यहोर्न प¥यो । बम्बई बसाइका सुरुवाती दिनहरू अति नै कष्टकर रह्यो । अरूसँग मिलेर बसेको डेरामा राति पुग्दा सबै सामान बाहिर फालिएको अवस्था समेत बेहोर्न प¥यो । धेरैजना बस्ने सानो कोठाको सम्झना गर्दै एकदिन त मुसाले आफ्नो जुत्ताको हिल नै खाइदिएको प्रसङ्ग पनि एउटा अन्तर्वार्तामा सुनाउनु भएको थियो । जीवनयापनका लागि विवाह, जन्मदिन जस्ता विभिन्न कार्यक्रमहरूमा गीत गाउने दैनिकी बन्न पुग्यो । यही क्रममा उहाँको बेरी रेस्टुरेन्टका मालिक बेरीसँग सम्पर्क भयो । बेरी साँच्चिकै उदार हृदयका मनकारी व्यवसायी थिए । उहाँले आवश्यक परेका नौ जवानहरूलाई आफ्नै रेस्टुरेन्टमा बिना पैसा खुवाउने, बसाउने सहयोग गर्ने गर्दथे । उनैको माध्यमबाट जगजीत सिंहलाइ ठूला होटेलहरूमा गीत गाउने अवसर प्राप्त भयो ।

सुभाषसँग परिचय
त्यही फिल्ममा हिरो बन्न पुगेका सुभाष घईसँग परिचय भयो । सन् १९६७ मा उहाँसँग नै अमन फिल्ममा सानो भूमिका निर्वाह गर्न पुग्नुभयो । तर उहाँको लगाव भने गायनमा नै लागिरह्यो । लामो प्रयासपछि एचएमभी कम्पनीले दुईवटा गीत रेकर्ड गर्ने अवसर दियो । त्यसमा राख्नको लागि उहाँसँग फोटो माग्यो । उहाँ त्यतिबेलासम्म पन्जाबी पहिरनमा हुनुहुन्थ्यो । दारी र फेटा, पगडीसँग उहाँको गायनको मेल नखाएको सल्लाह पाएपछि बाध्य भएर सफाचट बन्नुभयो । यसबारे घरमा जानकारी गराउँदै लेखेको पत्रमा माफी माग्दै पन्जाबी पहिरनमा बम्बईमा गायक बन्न नसकिने हुँदा बाध्य भएको भनेर लेख्नु भएको थियो । यो घटनाबाट उहाँको पिता उहाँसँग निकै नै मन दुखाउनु भएको थियो । तर जगजीतसँग यो बाहेक अरु उपाय नै थिएन ।

देबुदत्ता एक संगीत पारखी हुनुहुन्थ्यो । उहाँले आफ्नै ठूलो स्टुडियो स्थापना गर्नुभएको थियो । नयाँनयाँ रेकर्डका उपकरणहरू जम्मा गर्नुभएको थियो । भएभरका गायकगायिकाहरु त्यहाँ जम्मा हुनुहुन्थ्यो । उहाँसँग चित्रालाई १५ वर्षकै उमेरमा विवाह गरि दिनुभएको थियो । १६ वर्षमा नै एक छोरीकी आमा पनि बन्नुभयो । तर अन्य महिलाहरूसँगको सम्बन्धका कारण चित्रा र देबुको पारिवारिक अवस्था ठिक थिएन । चित्रा त्यतिबेला इन्डियन जिंगलका राम्री गायिका हुनुहुनु हुन्थ्यो । गीत रेकर्ड गर्ने क्रममा जगजीत र देबुबीच सम्पर्क हुनपुग्यो ।

चित्रसँग भेट
त्यही क्रममा चित्रासँग पनि परिचय भयो । चित्रा र जगजीतको लागि नयाँ गीत तयार भयो तर चित्राको एकदम सुरिलो र जगजीतको साह्रै मोटो स्वर भएको कारण चित्राले सँगै गाउन अस्वीकार गर्नुभयो । वास्तवमा चित्रालाई जगजीतको स्वर त्यति मन परिरहेको थिएन । एक दिन एउटा गीतको रिहर्सलबाट घर फर्कँदै गर्दा चित्राले जगजीतलाइ पनि गाडीमा डेरासम्म पुर्याईदिन्छु भन्नुभएको थियो । जगजीत सिंह चित्राको घरभन्दा अलि पर बस्नुहुन्थ्यो । आफू घरमा झरेर ड्राइभरलाई पुराउन भन्न खोज्नु भएको थियो । तर खै के सुर चलेर हो चिया पिएर जान भन्नुभयो । जगजीत सिंहले कोठामा बाजा देखेपछि बजाएर आफ्नै तालमा गाउन थाल्नुभयो । चित्रा चिया लिएर साथैमा बसेर झुम्न थाल्नुभयो ।

यो गीतले चित्रालाई बेस्सरी नै प्रभावित पा¥यो । यो उहाँक गीत संगीत सहितको गजल थियो । त्यसपछि चित्राले जगजीतको गीत मन पराउन थाल्नुभयो । सम्पर्क सम्बन्ध झाँगिन थाल्यो । त्यतिकैमा एक दिन जगजीतले बिवाहको प्रस्ताव राख्नुभयो । आफू अझै विवाहित भएकोले अहिले सम्भव नहुने बताएपछि जति समय पनि कुर्ने भन्नुभएको थियो । श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएको जानकारी पाएका जगजीतले एक दिन देबुदत्तासँग ‘म तिम्रो श्रीमतीसँग जीवन बिताउन चाहन्छु’ समेत भन्नुभएको थियो ।

‘देबुदत्ताले हामी धेरै टाढा भैसकेका छौ यसबारेमा चित्रा स्वतन्त्र छिन्’ भन्ने जवाफ दिनुभएको थियो । नभन्दै पारपाचुकेपछि यी दुईबीच अति सामान्य ढंगबाट सन् १९६९ मा एउटा मन्दिरमा गएर विवाह भयो । सिन्दुर माला र चुराको तीस रुपैया नै उहाँहरूको विवाहको जम्माजम्मी खर्च थियो । सन् १९७१ मा यो दम्पतीको एक छोरा भयो विवेक । जीवनको आरोह अवरोह जेजस्तो भए पनि छोरा भएको दिन जगजीत सिंह आफू संसारको सबैभन्दा बढी सम्पतिवाला भएजस्तो अनुभूति भएको भाव व्यक्त गर्नुभएको थियो । पहिलो श्रीमानको तर्फबाट भएको छोरी मोनिकालाई पनि जगजीतले अति नै माया गर्नुहुन्थ्यो । एक छोरा र एक छोरी भएपछि थप सन्तानको चाहना दुबैमा भएन ।

चित्रा र जगजितको गजल
जगजीत र चित्राले धेरै नै गजल गाउनु भएको छ । उहाँहरूको पहिलो एल्बम दि अनफर्गटेबल्स सन् १९७७ मा निस्केको थियो । त्यसपछि निरन्तररुपमा नयाँनयाँ एल्बमहरू निस्कन थाले । उहाँहरूको विशेषता नै मान्नुपर्छ प्रायजसो एल्बमको शीर्षक अङ्ग्रेजीमा हुन्थ्यो । उहाँले फिल्ममा गाएका गीतहरू पनि धेरै नै सफल रहे । हुन त उहाँले सन् १९६६ मा नै बहुरूपी चलचित्रमा एउटा गुजराती गीत गाएपछि फिल्मी दुनियाँमा प्रवेश गर्नुभएको थियो । सन् १९८१ मा बनेको फिल्म प्रेमगीतमा गाएको ‘होंठों से छु लो तुम मेरे गीत अमर कर दो’ गीतले भने शिखरमा नै पु¥याएको थियो । त्यसपछि बनेका थुप्रै चलचित्रमा उहाँका गीतहरू समावेश भए ।

सन् १९८२ मा बनेको अर्थ चलचित्रको ‘तुम ईतना जो मुस्कुरा रही हो’ गीत सर्वाधिक मन पराइएकोमा सूचिमा पर्दछ । उहाँको अन्तिम फिल्मी गीत सन् २०११ मा बनेको खाप चलचित्रको ‘तुम से बिछड कर’ थियो । विदेशमा बस्नेहरूको भावनालाई समेटेर लेखिएको कवितालाई गजल बनाएर गाइएको ‘हम तो हैं परदेश में, देश मे निकला होगा चाँद’ छोराको दुर्घटना पछि गाएको ‘चिट्ठी न कोही सन्देश जाने ओ कौन सा देश जहां तुम चले गए ?’ बालापनको महत्त्वबारे गाइएको ‘ओ कागजकी कस्ती, वारिसकी पानी’ साथसाथ चलचित्रको ‘तुमको देखा तो ए खयाल आया’ गीतहरू मलाई पनि असाध्यै मन पर्ने गीतहरू मध्ये पर्छ ।

जगजीत र चित्राले सन् १९८८ मा रेकर्ड गरिएको बियोन्ड टाइम एल्बम नै भारतीय गायकहरूले गाएको पहिलो डिजिटल सीडी थियो । उहाँले भारतमा पहिलोपल्ट गीत लेख्नेहरूलाई पनि रेकर्ड बेचेर आएको रकमको केही हिस्सा पारिश्रमिक दिने चलन चलाउनु भएको थियो । उहाँले संयोग गजल एल्बममा आठवटा नेपाली गजल गाउनु भएको थियो । जे. बी समयोगीको लेखन तथा आलोकश्रीको संगीत रहेको यो एल्बम नेपाली गजल इतिहासमा महत्त्वपूर्ण भूमिकामा रहेको छ यसका सबै गीतहरू उत्तिकै लोकप्रिय छन् ।

उहाँ मात्र एक कलाकार हुनुहुन्छ जसले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा लिखित कवितामध्ये केहीमा आफैले संगीतबद्ध गरी सन् २००२ मा संवेदना र नईदिशा दुई गीति एल्बम तयार पार्नुभएको थियो । उहाँले भारतभित्रका धेरै भाषामा गीत गाउनु भएको छ । उहाँका भजनहरू साह्रै नै प्रख्यात छन् । उहाँका आफ्नै अस्सीभन्दा बढी एल्बमहरू प्रकाशित भएका छन् । उहाँसँग लिइएको करिब चालीस घण्टा लामो अन्तरवार्ताको आधारमा लेखक असरानी माशुरले बियोन्ड टाइम नामक जीवनी प्रकाशन गर्नुभएको छ । कामप्रति उहाँको लगाव कस्तो थियो भन्ने प्रमाण यो एउटा घटनाले पनि ठम्याउन सकिन्छ । सन् २००१ मा उाहँको आमाको देहावसान हुन्छ । त्यही दिन बिहान आमाको अन्त्येष्टि सकाएर पहिला नै तय भएको कार्यक्रममा सहभागी हुन बेलुकी उहाँ कलकत्ता पुग्नु भएको थियो ।

हुलाकी टिकट प्रकाशित
जगजीत सिंहलाई भारत सरकारले सन् २००३ मा नागरिकले पाउने तेश्रो ठूलो पद्वी पद्य्म भूषण प्रदान गरेको थियो । उहाँले स्थानीय तथा राष्ट्रिय थुप्रै ठूलाठूला मान सम्मानहरु पाउनु भएको थियो । उहाँको मृत्युपछि पनि सन् २०१४ मा उहाँको नाममा दुईवटा हुलाक टिकट प्रकाशन गरिएको थियो । उहाँको सम्झना स्वरुप मुम्बई स्क्वायरलाई पद्म भूषण जगजीत सिंह चोक नामाकरण गरिएको छ । उहाँको मृत्यु पछाडी गुगलमा सबैभन्दा बढी खोजिएको कलाकारको नाम उहाँको थियो ।

उहाँको ७२ जन्मदिनको अवसरमा गुगलले आफ्नो मुख्य पेजमा जगजीत सिंहको तस्बिर सहित गुगल भनेर लेखिएको थियो जुन अन्य केही थोरै कलाकारहरूले मात्रै मौका पाएका छन् ।

भारतीय टेलिभिजनमा प्रदर्शित केही उत्कृष्ट टेलिसिरियल मध्य मिर्जा गालिव पनि एक हो । यसमा जगजीतले पु¥याएको योगदानलाई कदर गर्दै सन् १९९८ मा उहाँलाई साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो । उहाँले संसारका प्राय सबै ठूला हलहरूमा आफ्नो प्रस्तुति गर्नुभएको थियो । सम्भवतः उहाँको पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति सन् १९७७ मा छिमेकी राष्ट्र पाकिस्तानबाट सुरु गर्नुभएको थियो ।
सन् १९८० मा पहिलोपल्ट बेलायतको वेम्ब्ली स्टेडियममा गाएका थिए । यही समयताका उहाँले गीत गाएका फिल्महरू धेरै नै सफल भए । यसको ज्वलन्त प्रमाण सन् १९८३ मा लन्डनको रोयल अल्बर्ट हलमा भएको कार्यक्रमको सम्पूर्ण टिकट जम्मा तीन घण्टामा सबै सकिएको थियो । सन् २०११ मा अस्ट्रेलिया सिड्नीको अपेराहाउसमा भएको कार्यक्रम पनि अति उत्कृष्ट थियो ।

छोराछोरीको निधन
यो जोडीले दुई छोराछोरी सहित अभाव र सङ्घर्षका दिनहरू पार गर्दै सफलताको शिखर चढ्न थालेका थिए । जीवनलाई व्यवस्थितरुपमा अगाडी बढाइरहेका थिए । सुन्दर भविष्यको स्पष्ट खाका तयार हुँदै थियो । तर बिडम्बना मान्नुपर्दछ सन् १९९० को जुलाई २७ पछि यो जोडीको खुसीको क्षण सधैँको लागि हरण भयो । एउटा सडक दुर्घटनामा आफ्नो एक मात्र प्यारो छोरा विवेक (बाबु) को उन्नाइस वर्षको अति अल्पायुमा ज्यान गुम्न पुग्यो । यो दुर्घटनापछि उहाँहरूको जीवनले अर्कै मोड लिन पुग्यो ।

छोराको मृत्युपछि चित्राले आजसम्म पनि कुनै गीत रेकर्ड गर्ने वा सार्वजनिक रूपमा कुनै पनि गीत गाउनु भएको छैन । केही समयको अन्तरालपछि जगजीत सिंहले भने आफूलाई गीत संगीतमा सक्रिय राख्न सक्नुभयो । सन् १९९१ मा भारतका अति सम्मानित गायिका लता मंगेशकरसँग गाएको गजल संग्रह सजदाले अति नै प्रख्याति प्राप्त ग¥यो । त्यस्तै प्रख्यात कवि तथा साहित्यकारहरू गुलजार र जावेद अख्तरद्वारा लिखित गीतहरू शिलशिले र मराशिम एल्बम धेरै नै बिक्री भएको थियो ।

गीत संगीत बाहेक उहाँको घोडचढी, भ्रमण, योगा, पैदलयात्रा तथा शेयर बजारमा पनि अधिक शौक थियो । आफूसँग अलि पैसा जम्मा भएपछि नयाँ घोडा किन्ने र घोडचढीको लागि प्रयोग गर्दथे । फुर्सदको समयमा आफ्ना घोडाहरूसँग समय बिताउन पाउँदा उहाँ अधिक खुसी रहनु हुन्थ्यो । चित्राले भने आफ्नो पुरा समय एकान्त र अध्यात्ममा बिताउन थाल्नुभयो । जसले गर्दा जीवन र जगतबारे थप यथार्थता बुझ्न धेरै सहयोग ग¥यो । यसैको सहयोगमा उहाँले छोराको वियोगबाट भएको ठूलो घाउमा मलहम लगाउँदै आएका थिए ।

छोरी मोनिकाको सन् १९८८ मा जेहानगीर चौधरीसँग विवाह भयो । उहाँ त्यतिबेला एक नाम चलेका चलचित्र निर्माता थिए । दुई छोराहरू अरमान र उमरको जन्म भयो । तर उहाँहरूको वैवाहिक सम्बन्ध त्यति राम्रो भएन । सन् २००५ मा उहाँहरूको बीचमा पारपाचुके भयो । त्यसलगत्तै बेलायती नागरिक मार्क आत्किन्ससँग विवाह भयो । उहाँ एक अन्तर्राष्ट्रिय कम्पनीमा ठूलै पदमा काम गर्नुहुन्थ्यो ।

उहाँहरूबीच पनि खासै राम्रो सम्बन्ध रहन सकेन । घरायसी उत्पीडन झेली रहेकी मोनिकाले बाध्य भएर अदालतको ढोका ढकढकाउन पुग्नुभयो । अदालतले उहाँको विरुद्धमा आदेश त ग¥यो तर त्यस अगावै भारत छाडेर बेलायत आइसकेको कारण न्याय पाउनुको पनि खासै अर्थ रहेन । यही पिडाको कारण उहाँले आफूलाई बचाउन सक्नुभएन । सन् २००९ मा आफ्नो ज्यान लिने निर्णय लिइन् । छोराको मृत्युले पारेको ठुलो घाउ केही निको हुन खोजेको बेला छोरीको यस्तो निर्णयले जगजीत र चित्राको घाउ झन् आलो बनाइदियो ।

सन् २०११ जगजीत सिंह आफ्नो जीवनको एक महत्त्वपूर्ण वर्ष साबित गर्न चाहनु हुन्थ्यो । उहाँको ७०औँ वार्षिक उत्सव वर्षभरि ७० वटा कार्यक्रम आयोजना गरि मनाउने निर्णय गर्नुभएको थियो । योजना मुताबिक देश विदेशमा महिनामा छ–सातवटा कार्यक्रम गर्दै आउनु भएको थियो । जुनसुकै कार्यक्रम सञ्चालनको सुरुवातमा विभिन्न भाषामा सन्ध्याकालीन अभिवादन गर्दै ह्याप्पी बर्थडे भन्दा दर्शकहरूले तालीसहित ठूलो स्वरमा स्वागत गर्नुहुन्थ्यो ।

जगजितको निधन
सेप्टेम्बर २३ मा अर्का नामुद गजलकार गुलाम अलिसँग मुम्बईमा पहिलोपल्ट संयुक्त कार्यक्रम तय भएअनुसार २० तारिखमा पत्रकार सम्मेलन पनि गर्नुभएको थियो । सो कार्यक्रममा उहाँ असाध्यै उत्साहित देखिनुहुन्थ्यो । तर दुखको कुरा सेप्टेम्बर २२ का दिन उहाँ अकस्मात् बिरामी भइ हस्पिटल जानुभयो । उहाँले पुरै होस गुमाउनुभयो । त्यसपछि उहाँ कहिल्यै होसमा आउनु भएन । १० अक्टोबर २०११ म ७० वर्षको उमेरमा ब्रेन हेमरेजका कारण १८ दिनको कोमामा बसेर जगजीत सिंहको मृत्यु भएको थियो । यो वर्षलाई उहाँले सोचेजस्तै नभए पनि संसारका मानिसहरूले कहिल्यै नबिर्सने वर्ष साबित भयो ।
स्रोतः भारतका विभिन्न सञ्चारमाध्यम

तपाईको प्रतिक्रिया