ऋण माथी ऋणको बोझले थिचिनु किसानको नियती नै हो

-उद्धव अधिकारी
किसानहरुका लागि यतिखेर मानो रोपेर मुरी भित्र्याउने समय हो । आफूले लगाएको बालीबाट अनेकौं सपनाहरु पुरा गर्ने अभिलाषा बोकेको किसान हरेक वर्ष कुनै न कुनै कारणले बाली भित्र्याउने समयमा निराश हुनु र पुनः ऋण माथी ऋणको बोझले थिचिनु उसको नियती नै बनिसकेको छ ।

किसानको मुख्य बाली धानमा यसबर्ष विगतका वर्षहरुमा भन्दा कैंयौं गुणा बढी क्षति पुगेको छ। सरकारको अनुमानित तथ्यांकलार्इ मात्र आधार मान्ने हो भने असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाले ८ अर्ब मुल्य बराबरको क्षती किसानले ब्यहोरीसकेका छन। जलवायु परिवर्तनको प्रभाव,व्यापारी हरूको रणनीति र सरकारको लाचारीपन जस्ता करणहरुले किसानहरु पलपलमा पीडा बेहोर्न बाध्य छन्।
यतिखेर पुनःधान भित्र चामल नपसेको अर्को समस्या बाहिर आएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नम्बर ६ का दुई सयभन्दा बढी किसान परिवारहरुले करिव १ हजार रोपनीमा लगाएको धानमा भुस मात्रै फल्यो गेडा लागेन। बजार व्यावस्थापक सिचुवान सीड कृषि विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड सिचुआन प्रांत चीन र नेपालका लागि अधिकृत विक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्ट मार्फत बिक्रीवितरण हुँदै आएको डि वाइ २८ नाम भएको हाइब्रिड धान यतिखेर लहलह हुनुपर्थ्यो तर धानको बोटमा चामल सहितको धान बोक्ने बालाहरू मात्र भुस बोकेर ठिङ्ग उभिरहेका छन्।

सेराफाँट,गैरीगाउँ र तौथली फाँटहरुमा यतिखेर किसानका सपनाहरूमाथी असिना परेको छ। यो समस्या भक्तपुरकै सुर्यबिनायक नगरपालिका वडा न ४ को दधिकोटमा पनि देखिएको भन्ने सुचनाहरु बाहिर आइरहेका छन्। भने ललितपुरको चापागाउँ लेले लगाएतका क्षेत्रमा पनि यो समस्या देखिएको छ । ५–६ वर्षअगाडी भक्तपुरमा नै डी वाइ ६९ जातको धानमा पनि यस्तै समस्या देखिएको थियो जसमा किसानहरूको १९ करोड मुल्य बराबरको क्षती भएको थियो।

हरेकपटक डि वाइ जातका धानहरुमा किन समस्या आउछ ? नेपालको अधिकृत विक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्ट सरकारको नियमअनुसार सुचिकृत भएको कम्पनी हो होइन ? यदि हो भने सरकारको नियम अनुसार सूचीकृत भएको एउटा कम्पनीले बिक्री गरेको बिउबाट भएको किसानको क्षती कसरी पुर्ति गर्न गराउन सकिन्छ ? सुचिकरण गर्ने अधिकारीको यसमा जवाफदेहिता हुन्छ की हुंदैन ? उक्त कम्पनीलाई सम्बन्धित सरकारी निकायले किन दबाब दिन सक्दैन ? यसमा शंका गर्ने कि नगर्ने ? त्यही भूगोलमा अघिल्लो वर्ष त्यही बीउ राम्रै फल्यो तर यसवर्ष किन फलेन ?

अन्य कुनै कारणले हो या बीउकै खराबी ले हो, यसको अध्ययन कसले गर्छ ? धानको गांजको फेदमा रातो र सेतो हुने दुईथरी धानका बोट हरु छन् त्यस्तो किन हुन्छ ? तराई र भित्री मधेशका लागि भनेर प्याकेटको बाहिरै लेखिएको बीउ काठमाडौँ उपत्यकामा कसरी आइपुग्यो ? ल्याउने ब्यापारीको उद्देश्य के हो ? नियमन गर्ने निकायहरु कहाँ निदाएर बसेका छन् ? जिम्मेवारी प्राप्त निकाय र पात्रहरू यसरी निदाएर बस्न पाइन्छ ? उनीहरूको कार्यसम्पादन मूल्याङ्कनमा यो र यस्ताखाले घटना हरुले कुनै प्रभाव पार्छ कि पार्दैन ? हामी बीउ जस्तो संवेदनशील विषयमा गम्भीर हुन किन सकिरहेका छैनौं । पटकपटक धोका दिएको बीउको पछिलाग्ने किसानको चेत कहिले फर्कन्छ ? आँखै अगाडी आफैंले प्रयोग गर्ने गरेका बीउ बिजनहरूको लोप हुँदापनि किसान किन निदाइ रहेको छ ? यो प्रकृतिको पुजारीलाई राष्ट्रिय अन्तराष्ट्रिय बजारले सलक्कै निलेको अनुभूति कहिले हुन्छ ? कसले गराउने हो ? हिंजो पुर्खाले साँचेर राखिदिएको बीउ उपयोग गर्ने किसानले आफ्नो भावी पुस्तालाई कुन तरकारी, अन्नको बीउ छोडेर जादैछ ?

माटोको उर्वराशक्तिमा हाइब्रिड बालीले असर पार्छ की पार्दैन ? बीउ जस्तो संवेदनशिल विषयमा सुचिकरणको बहानामा दिनानुदिन परनिर्भरता तर्फ उन्मुख गराउनको लागि सरकारी निकायहरूनै कम्मर कसेर लाग्नु कतिसम्म न्यायोचित हो ? सरकार उन्नत बीउ उन्मोचन गर्नतर्फ भन्दा रैथाने बीउ उन्मूलन गर्ने तर्फको यात्रामा अगाडी देखिनुलाइ के भन्ने ? तरकारीको ९०–९५ प्रतिशत बीउ आयातित हुनुमा दोषी को ? धान मकैको बीउमा आयातित नपुंसक बीउको दबदबाले हाम्रो कृषिलाइ कता लांदैछ ? संविधानतः किसानको खाद्य सम्प्रभुताको रक्षा यसैगरी हुने हो ? बीउनै जोगाउन नसक्ने के किसान ? के सरकार ? के कृषि प्रधान देश ?

(उद्धव अधिकारी खाद्यका लागि कृषि अभियानका संयोजक हुनुहुन्छ)

तपाईको प्रतिक्रिया