धानमा बाला नलाग्दा किसानलाई पेटको चिन्ता

नवराज वस्नेत
मानो रोपेर मुरी फलाउने अभिलाषा बोकेर कृषि कर्ममा जुटेका भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ६ का किसानहरु मानो रोपेर मुठ्ठी पनि भित्र्याउन नपाउँदा परिवारले वर्षभरि के खाने र परिवारको जिविका कसरी चलाउने भन्ने चिन्तामा परेका छन् । धेरै फल्ने लोभ देखाई तराई तथा भित्रि मधेशका लागि सिफारीस गरिएको डि वाई २८ हाइव्रिड जातको धानको बीउ स्थानीय एग्रोभेटले किसानहरुलाई बिक्री वितरण गरेका कारण दुःख गरि लगाएको धानबालीमा दाना नलाग्दा किसानहरु चिन्तित बन्नु परेको हो ।

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकामा ६०–६५ घर परिवारले लगाएको २०० रोपनीभन्दा बढी धानवाली नोक्सान हुँदा किसानहरुलाई परिवारको पेट खाली हुने चिन्ताले सताउन थालेको छ । यसका अलबा उपत्यकाको भक्तपुरको दधिकोट, मध्यपुर र ललितपुर जिल्लाको चापागाउँ,लेले, बुङमतीका किसानहरु समेत धान उत्पादन नभए पछि चिन्तामा परेका छन् ।

घरवाट हेर्दा खेतमा धान हरियो मात्र देखिन्छ । पहेलो कहिल्यै देखिन्न किन हो भनि खेतमा गएर हेर्दा त धानमा बाला निस्केर दाना नै नलागी बसेको रहेछ । तहल्सींलाई ३ रोपनी खेत कुतमा कमाएर परिवार पाल्दै आएको थिएँ । तहल्सींलाई ३० पाथी भर्नु पर्छ । धान नभरे भर्पाई दिंदैन । खेतमा धान ३० दाना छैन । कसरी कुत भर्ने होला चाँगुनारायण नगरपालिकाकी ५७ वर्षीय सुन्तली श्रेष्ठ (पिपलबोट) आफ्नो पिडा व्यक्त गर्नुहुन्छ । साँखु पालुवारीको एग्रोभेटबाट प्रति केजी रु. ९५० का दरले ३ के.जी. धानको बीउ ल्याइ ३ रोपनीमा रोपेको धानको वोट राम्रो आयो । गाँज पनि हालेको थियो । यस वर्ष धान धेरै फल्छ, खाना खाई केही त बिक्री गरि रकम हातमा पर्छ भनि आस गरेको त अहिले धानमा दाना नै लागेन, खेतमा जाँदा बिरौता लाग्छ ।


घरमा खानेकुरा छैन, बालबच्चा कसरी पाल्ने होला, के खाने होला ? अन्धधुन्द भएको छ । सरकारले यस्तो नक्कली बीउ विक्री गर्ने पसलेलाई कारवाही गर्नु पर्छ र हामी पीडीतलाई सहयोग पु¥याउनु पर्छ । यदि यसो भएन भने हामी त भोकले मर्छौ सोही ठाउँको ५० बर्पीय माया तामाङको आक्रोस रहेको छ ।

त्यस्तै धेरै फल्ने देखेर तहल्सीं (कुत) को ४ रोपनी खेतमा भक्तपुरको च्यामासिंबाट डि वाई २८ जातको धानको बीउ ल्याई लगाएको वर्ष भरी दुख गरियो । अहिले धान भित्र्याउने समयमा बालामा दाना लागेन । भुस मात्र छ । २ माना पनि धान आउँदैन । आफू त ज्याला मजदुरी गरि बाँचौला । तर, तहल्सींलाई ५७ पाथी धान कुत भर्नुपर्छ । कहाँबाट ल्याएर भर्ने भन्ने चिन्ता पलाएकोले रातभर निन्द्रा लाग्न छोडेको ६३ वर्षिय सुमन तामाङको दुखेसो रहेको छ ।

यि र यस्तै समस्या भोग्ने किसानको संख्या ठूलो छ । चाँगु नारायणमा मात्र ६०(६५ घर परिवार अहिले यो पिडा भोगिरहेका छन् भने दधिकोट, मध्यपुरठिमी र ललितपुर जिल्लाको चापागाउँ, लेले, बुङमतीमासमेत किसानहरुले लगाएको डि वाई २८ धानमा बाला नलागेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । किसानको ठूलो क्षति भएर छटपटाइ रहँदा पनि सरकारकोतर्फबाट बेवास्ता गरेको, जानकारी गराउँदा पनि चासो नलिएको भन्ने गुनासा किसानहरुबाट बाक्लै सुन्न पाइन्छ । किसानहरुलाई गुणस्तरीय बीउ उपलव्ध गराउनु राज्यको दायित्व हो । बीउका कारण नै किसानहरु मारमा परेको स्पष्ट हुन्छ ।

किनकी तराई र भित्री मधेशको लागि सिफारीस जात नगरकोट जस्तो चिसो हावा पानी भएको सेपिलो जग्गामा लगाउन बिक्री गर्ने अनुमती कसले दियो ? किन दियो ? यो अध्ययनको विषय बन्नु पर्छ र बन्छ पनि । महत्वपूर्ण कुरा भनेको किसान कसरी बाँच्ने ? बालबच्चा कसरी पाल्ने र तहल्सींलाई कुत कसरी भर्ने यो विषय पेचिलो बनेको छ । त्यसैले यस विषयमा राज्य जिम्मेवार हुनुपर्छ ।

पिडामा मलम लगाउने सरकार छ भन्ने अनुभुति किसानलाई गराउनु पर्र्छ । यसका लागि सरकारले यर्थाथ क्षतिको विवरण संकलन गरि क्षतिपुर्ति दिई किसानलाई सान्तवना दिनु आवश्यक छ । यस्ता विषयले सरकारको किसानप्रति हेर्ने दृष्टिकोणको मापण गर्दछ ।

लेखक नवराज वस्नेत राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया