माओवादी केन्द्र भित्रको गुटबन्दी अन्त्य नभएसम्म पार्टी बन्दैन

–रामकुमार शर्मा
केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र

नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि दुवै पार्टी पुननिर्माणको अवस्थामा पुगेका छन् । एमालेले पनि संगठनलाई पुनगर्ठित गर्दै अधिवेशनहरु गरिरहेको छ । महाधिवेशनको समय नै तोकि सकेको छ । यता माओवादी केन्द्रले पनि पार्टी निर्माणमा लागेको छ । पुनगर्ठित गर्दै कार्यविभाजनहरु गरेको छ । राष्ट्रिय सम्मेलन गर्ने मिति पनि तय गरिसकेको छ । तर एमाले वा अन्य पार्टीभन्दा माओवादी केन्द्रको संगठन अलि फरक छ । शान्ति प्रकृयामा आएदेखि यसको संगठनले कहिले पूर्णता पाएन । भातृ संगठनहरुले पूर्णता पाएका छैनन् । संगठन बन्दै गरेका हुन्छ अनि बिचमै केही नयाँ प्रयोग सुरु हुन्छ । फेरि पार्टी भत्किन्छ । नयाँ ढंगबाट सुरु हुन्छ, फेरि केही नयाँ सुरुवात हुन्छ अनि फेरि भत्किन्छ । यस्तो प्रयोग विगत १०–११ वर्षदेखि निरन्तर हुँदै आएको छ । पार्टीमा अनेक गुटहरु छन् । पार्टीले महाधिवेशन गराउन सकेको छैन । माओवादी केन्द्रभित्र मधेशी नेताहरुको असन्तुष्टि तीब्र छ मधेशमा संगठन तहस नहस हुँदैछ । मधेशको संगठन पार्टीको पकड भन्दा बाहिर छ । यिनै विषयवस्तुमा केन्द्रीत रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मासँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि माओवादी केन्द्रको संगठनको काम कसरी अगाडि बढी रहेको छ ?
–माओवादी केन्द्र चारवर्ष अलपत्र नै पर्यो । अहिले नयाँ गतिमा अगाडि बढेको छ । पार्टीको राष्ट्रिय सम्मेलन गर्ने मिति पनि तय भइसकेको छ । राष्ट्रिय सम्मेलनपछि ३० लाख माआवादी बनाउने योजना पार्टीले बनाएको छ । नेकपाबाट अलग भएपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको छ । पार्टीमा कार्यविभाजन भएको छ । भातृ संगठनहरु निर्माण भइरहेको छ । माओवादी केन्द्र सरकारमा आएपछि अर्थ मन्त्री जनार्दशन शर्माले ल्याउनु भएको अध्यादेश वजेटले पनि पार्टीको उचाईलाई बढाएको छ । विपन्न तथा गरिबलाई राहत दिएको छ । विजुलीमा सहुलियत दिएको छ । अर्थात माओवादी केन्द्र पार्टी साँच्चै जनताको पार्टी हो भने अनुभूती दिलाइ रहेको छ ।

पार्टीका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा ३० लाख पार्टी सदस्य बनाउने योजना सुनाउनु भएको छ, यसखालको योजना पहिला पनि सुनाउनु भएको थियो, त्यो त सफल भएन नै यसपाली यो ३० लाखको योजना कसरी सफल होला जस्तो लाग्छ तपाईलाई ?
–नेपालको राजनीतिमा प्रचण्डको विकल्प छैन । पार्टीको अवस्था के छ, कस्तो छ त्यसको हिसाब किताब हुँदै गर्ला तर उहाँले नेपालको राजनीतिमा जुन उपस्थिति देखाउनु भएको छ । जुन ड्यासिङ देखाउनु भएको छ, त्यसले उहाँले बोलेको कुरा पुरा भएको देखिन्छ । माओवादी केन्द्र यस्तो पार्टी हो जहाँ प्रचण्ड निर्विकल्प नेता हुनुहुन्छ । अहिले पनि पार्टीमा प्रचण्डको विकल्पमा कोही देखिनु भएको छैन । कोही आफ्नो नाम पनि अघि सारेको छैन । जसरी अन्य अन्य पार्टीमा नेतृत्वको विकल्पहरु बाहिर आइरहेका छन् त्यसरी माओवादी केन्द्रमा देखिएका छैन । यो पार्टीको लागि महत्वपूर्ण कुरा हो । अध्यक्ष प्रचण्डले पार्टीलाई आफ्नो ढंगले डोर्याई रहनु भएको छ । तर पार्टीमा केही समस्या देखिएकाले यसलाई कतै नकतै कमजोर बनाइरहेको अनुभूती सबैतिर भइरहेको छ । पार्टीमा सबभन्दा ठूलो समस्या भनेको गुटबन्दी नै हो । गुटबन्दीले गर्दा पार्टी अगाडि बढी रहेको छैन । प्रचण्डको नेतृत्वमा कुनै समस्या छैन तर उहाँले पार्टीमा देखिएको गुटबन्दीलाई तोड्न सक्नु भएको छैन । गुटबन्दी अन्त्य गर्नका लागि प्रचण्ड आफै अगाडि बढ्नुपर्छ । अर्को कुरा प्रचण्डले देशमा देखिएको भ्रष्टाचारलाई अन्त्य गर्न निर्ममता पूर्वक लाग्नुपर्छ । जसरी नेकपा हुँदाका बखत तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि भ्रष्टाचारको आरोप उहाँले लगाउनु भयो, त्यसलाई उहाँले निरन्तरता दिनुपर्छ । जसरी लिखित रुपमै पार्टीमा भ्रष्टाचारको उजागर गर्नुभएको थियो । त्यसलाई उहाँले पुनः उठाउनुपर्छ । उहाँले जोजो माथि जसरी भ्रष्टाचारको आरोप लगाउनु भयो, त्यसको अवस्था कहाँ पुग्यो ? कस्तो अवस्थामा छ त्यसको निरन्तरता दिनुपर्यो । भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि त्यसलाई निर्ममतापूर्वक कारवाही गर्नुपर्छ । अर्को कुरा, पार्टीमा रहेका होनहार नेता, जसले माओवादी क्रान्तीका लागि योगदान दिए, पार्टीको विचार र सिद्धान्तप्रति बफादार रहे, काममा लगनशिलता देखाए, काम गरि देखाउने लालसा देखाए त्यस्ता नेताहरुलाई पार्टीमा भूमिका दिनुपर्छ । कसैलाई काखा, कसैलाई पाखा गर्नु हुँदैन । जो जसको जस्तो क्षमता छ, त्यसलाई त्यही अनुसार भूमिका दिनुपर्छ । पार्टीभित्र नेतालाई भूमिका विहिन राख्नु हुँदैन । यति काम गरेपछि प्रचण्डले पार्टीका लागि देख्नु भएको सपना अवश्य पूरा हुन्छ भनि म त्यसको ग्यारेन्टी लिन्छु ।

माओवादी पार्टी १० वर्ष जनयुद्ध गर्यो । त्यसपछि शान्ति प्रकृयामा आयो । शान्ति प्रकृयामा पनि आएको धेरै भयो तर पार्टी अझै बन्न सकेको छैन । पार्टीले कहिले पनि पूर्णता नपाएको हामीले पाएका छौं प्रचण्डले जहिले एकखालको प्रयोग नै गरिरहनु हुन्छ, माओवादी पार्टीले पूर्णता पाउने कहिले हो ?
–तपाईको कुरा सही हो । संसारमा कहि नभएको चार हजारको केन्द्रीय कमिटी पनि माओवादी केन्द्रले बनायो यो पनि एउटा नौलो प्रयोग नै थियो । युद्धबाट आएको पार्टी हो माओवादी । त्यसमा हजारौं नेताहरु आए । त्यसलाई त्यतिकै व्यवस्थित गर्न सजिलो छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध सञ्चालन गर्नुभयो । जनयुद्धबाट आएको पार्टी भएको हुनाले अन्य पार्टी भन्दा माओवादी केन्द्र अवश्य फरक छ र हुुनु पनि पर्छ । उसको पार्टी सञ्चालन गर्ने तरिका, संगठन निर्माण गर्ने तरिका, सरकार सञ्चालन गर्ने तरिका अवश्य नै फरक हुन्छ । माओवादी केन्द्र काँग्रेस र एमाले जस्तो हुनसक्दैन । माओवादी केन्द्रको आफ्नै पहिचान छ । त्यसैले प्रचण्डले जे गरिरहनु भएको छ त्यो अरुलाई अनौठो लाग्नु स्वभाविक हो ।

माओवादीमा मधेश ठूलो फ्याक्टर हो, प्रचण्ड आफै पनि एकपटक त्यहाँबाट चुनाव जित्नु भएको हो । उहाँले पटक पटक मधेशसँग लभ परेको भन्नुभएको छ । हतियार चलाउने मधेशबाट नै सिकेको हुँ पनि भन्नुहुन्छ । त्यति मात्र होइन, माओवादी केन्द्रले नै सबभन्दा पहिले मधेशमा आफ्नो भातृ संगठन बनायो, पछि त्यसको सिको गर्दै अन्य दलहरुले पनि सुरु गरे तर आज माओवादीमा मधेश कतै देखिएको छैन, न संगठन छ न मधेश छ यस्तो किन भयो ?
–तपाई महत्वपूर्ण कुरा उठाउनुभयो । माओवादी केन्द्र जनयुद्धबाट आएको पार्टी हो । सो पार्टीका सञ्चालन विधि फरक छ, संगठन सञ्चालन गर्ने तरिका फरक छ । त्यही भएर संगठन निर्माणमा समस्या देखिएको छ । जहाँसम्म मधेशको कुरा हो, वास्तवमा मधेश माओवादी केन्द्रका लागि ठूलो फ्याक्टर हो । तराई मधेशको राजनीतिकमा वैदेशिक हस्तक्षेप बढी देखिएको छ । देशमा सातवटा प्रदेश छन् तर प्रदेश २ नै यस्तो प्रदेश हो जहाँ छुट्टै क्षेत्रीय पार्टी जन्मेका छन् । ती यस्ता पार्टी हुन् जसले देशको राजनीतिमा निकै महत्व राख्छन् । सरकार बनाउने र ढाल्ने हैसियत राख्ने खालको पार्टी रहेका छन् । अर्को कुरा, त्यहाँ साँस्कृतिक विविधताकै साथै जातीय र भाषिक समस्या पनि छन् । त्यहाँको राजनीतिमा जातपातको कुरा त्यहाँँ बढी हुन्छ । त्यहाँको जातीय फ्याक्टरले राजनीतिकलाई निकै प्रभावित गरेको देखिन्छन् । अरु प्रदेशको तुलनामा प्रदेश २ मा नेताहरु बढी छन् । राजनीतिक चलखेल पनि त्यही बढी हुन्छन् । त्यही भएर त्यसको असर माओवादी केन्द्रमाथि परेको हुनुपर्छ । मधेशमा माओवादी केन्द्रको संगठन छैन भने होइन तर त्यो व्यवस्थित हुन सकेको छैन । माओवादीमा सबभन्दा ठूलो समस्या मधेशका लागि गुटबन्दी नै हो । मधेशमा व्यक्तिपिच्छे गुटबन्दी रहेका छन् । त्यसलाई नेतृत्वपंक्तिले मसिनो गरि समाधान गर्ने तिर ध्यान नदिएको जस्तो लाग्छ । पार्टी शक्तिशाली भएपनि त्यसखालको परिणाम निकाल्न नसकेको हो कि जस्तो मलाई लाग्न थालेको छ । प्रदेश २ का लागि माओवादी केन्द्रले फरक ढंगबाट सोच्नुपर्ने अवस्था आएको छ ।

माओवादी केन्द्रमा रहेको तपाईलगायत अन्य मधेशी नेताहरुले प्रचण्डलाई त्यहाँको समस्याको बारेमा पटक पटक लिखित रुपमा ध्यानाकर्षण गराउनु भएको देखिन्छ । यसरी प्रचण्डलाई मधेशको बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मधेशमा पार्टीभित्र देखिएको समस्या समाधान गर्नेतिर उहाँले ध्यान नदिनुको कारण के हुनसक्छ ?
–यो विषयमा हामी बीचमा पनि छलफल हुने गरेको छ । र, बेलाबेलामा पार्टी नेतृत्वलाई पनि हामीले सम्झाउने गरेका छौं । प्रचण्डभन्दा अर्को डायनामिक लिडर नेपालमा छैनन् । उहाँको क्षमता अदभुत छ । उहाँ नै यस्तो नेता हुनुहुन्छ, जसले जे पनि गर्न सक्नु हुन्छ । तराई मधेशको जनसँख्या र राजनीतिक अवस्था अरु प्रदेशभन्दा फरक छ । मधेशमा माओवादी केन्द्रका एक से एक क्षमता भएका नेताहरु छन् । संगठन पनि राम्रै छ । तर मधेशमा माओवादी केन्द्र किन एक नम्बरको पार्टी हुन सकेको छैन यो गम्भीर प्रश्न हो । त्यसैले पार्टी पनि मधेशका लागि गम्भीर भएर लाग्नुपर्छ । माओवादी केन्द्रले सातवटै प्रदेशमध्ये मधेशलाई अलि फरक ढंगबाट हेनुपर्ने आवश्यकता छ । प्रचण्डले मधेशमा पार्टीलाई एक नम्बर बनाउने सोचि रहनु भएको छ भने पहिलो काम त्यहाँको गुटबन्दी अन्त्य गर्नुपर्छ । मधेशका जनताले माओवादी केन्द्रलाई विश्वास गरेको थियो तर पार्टी संसदीय राजनीतिमा आएपछि काँग्रेस, एमाले र मधेश केन्द्रीत दल जस्तै हुन पुग्यो, फरक देखाएन । काँग्रेस र एमाले जस्तै माओवादी केन्द्र हो भने त्यहाँ किन बस्नु पर्यो भन्दै माओवादी केन्द्रबाट अलग हुन खोजेका छन् । तराई मधेशमा जातीय समिकरण मिलाउन पनि पार्टीले सकेको छैन । मुस्लिम, यादव, बाहुन कायस्थ, थारुलगायतका जातलाई समावेशी गर्न सकिरहेको छैन । जो शीर्ष नेता तथा कुनै गुटको वरिपरी हुन्छन् त्यसले हरेक कुरामा पटक पटक चान्स पाउँछन् जो कुनै नेताको वरिपरी वा गुटमा छैन भने त्यसलाई कुनै वास्ता हुँदैन । त्यसैले माओवादी केन्द्रले अरु प्रदेशभन्दा मधेशलाई फरक ढंगबाट हेर्नुपर्छ । अनि मात्र मधेशको समस्या समाधान हुन्छ । मधेशको बारेमा धेरै पटक अध्यक्ष प्रचण्डलाई भेटेर मधेशको समस्या बारेमा ध्यानाकर्षण गराएको छु । अस्ति केहीदिन अगाडि मात्र प्रचण्डसँग भेटेर मधेशको समस्या र अवस्थाको बारेमा लिखित रुपमै ध्यानाकर्षण गराएको छु । उहाँ अब मधेशमा फरक ढंगले जाने, त्यहाँ पार्टीमा देखिएको समस्या चाँडै समाधान गर्ने भन्नुभएको छ ।

आउने चुनावमा माओवादी केन्द्रको कोसँग प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ तपाईलाई ?
–अहिले समय बाँकी छ । स्थानीय तहको चुनावको लगभग ६ महिना बाँकी छ । आमचुनावको १४–१५ महिना बाँकी छ । पार्टी त्यसको तयारीमा लागेको छ । यद्यपी यो देशको राजनीतिक परिवर्तनमा माओवादी केन्द्रको जुन भूमिका रह्यो त्यसको असर प्रदेश २ मा अवश्य पर्छ । आन्दोलनको हरेक मोर्चामा माओवादी केन्द्रको अगुवाई हुन्छ । चाहे प्रतिगमन विरोधको आन्दोलन होस् वा मधेशी, आदिवासी जनजाति तथा पिछडिएको पहिचानको मुद्दा होस् माओवादी केन्द्रले त्यसको अगुवाई गरेको छ । त्यसैले प्रदेश २ मा माओवादी केन्द्रलाई समस्या छैन । त्यहाँ पार्टीमा देखिएको आन्तरिक समस्या सुधार गर्ने वित्तिकै माओवादी पार्टी एक नम्बरको पार्टी बन्छ । चुनाव लगतै नेकपा बनेको थियो । त्यसमा अधिकाँश समय विवाद र झैझगडामा बित्यो । जनताको बीचमा जानै सकिएन । जनतासँग गरेको प्रतिवद्धता पुरा गर्नै सकिएन । कहाँ कहाँ अलमलिएको जस्तो देखिएको थियो पार्टी । अब पार्टी व्यवस्थित ढंगले अगाडि बढेको छ । चुनाव आउँदासम्म पार्टीले आफ्नो पोजिसन क्लियर गर्छ । अहिले माओवादी कन्द्रका लागि अनुकुल समय छ । एमाले दुई टुक्रा भएका छन् । त्यसको फाइदा माओवादी केन्द्रलाई मात्र हुन्छ । उता मधेशमा सबभन्दा ठूलो पार्टी जसपा विभाजन भएको छ त्यसको फाइदा पनि माओवादी केन्द्रलाई नै हुने देखिएको छ । अहिले माओवादी केन्द्र सरकारमा छ । आम चुनाव आउन अझै एक वर्षको समय बाँकी छ । त्यस अवधिमा सरकारमा रहनु भएका माओवादी केन्द्रका मन्त्रीहरुले इमान्दारी पूर्वक काम गर्दिनु भयो भने पार्टी एक नम्बरको बन्छ ।

तपाईको प्रतिक्रिया