रेशम चौधरीमा अड्किएको थरुहट र मधेशको राजनीति

–सुरेशकुमार यादव
कैलालीको टीकपुर घटना (२०७२ भदौं ७) घटनाको मुख्य योजनाकारको आरोपमा जेलमा रहनु भएका रेशम चौधरीका कारण थरुहटको राजनीतिक मात्र होइन मधेशको राजनीति पनि अन्योलमा छन् । थारु समुदायका अगुवाहरुले बनाएको दल होस् वा समाजिक संस्था ती सबैले टीकापुर घटनालाई नै आफ्नो यात्राको मुख्य ध्येय बनाएका छन् । सिधा भाषामा भन्ने हो टीकापुर घटना र त्यसको मुख्य दोषी मानिएका रेशम चौधरीको रिहालाई मुख्य एजेण्डा बनाएका छन् । मानौ, ती पार्टी र संघ संस्थाका लागि अरु त्यहाँ कुनै एजेण्डा नै छैन ।

हुन त मधेशवादी दलहरुले पनि रेशम चौधरीको रिहालाई प्राथमिकतामा राखेका छन् । उनीहरुले पनि सरकारसँग कुरा गर्दा रेशम चौधरीको रिहालाई प्राथमिकतामा राखेकै हुन्छन् । यस्तो लाग्छ कि रेशम चौधरी रिहा भएपछि थरुहट तथा मधेशका सबै माग पुरा हुनेछ, त्यसपछि राजनीतिक गर्ने कुनै एजण्डा नै रहदैनन् । रेशम चौधरी रिहा हुनुपर्छ, उहाँमाथि राज्यले अन्याय गरेकै हो । उहाँलाई फँसाइएको हो भनि विभिन्न प्रतिवेदन तथा तथ्यले पुष्टि हुन्छ । उहाँ आफ्नो क्षेत्रमा उपस्थित नभए पनि प्रतिनिधिसभा चुनाव जित्नु भएको हो । उहाँ निर्दोष हुनुहुन्छ भनि यो भन्दा ठूलो प्रमाण अरु केही चाहिदैन । देशका प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुले पनि रेशम चौधरी निर्दोष हुनुहुन्छ, उहाँ राजनीतिक खेलका शिकार मात्र हुनु भएको छ । त्यस कारणले उहाँ स्वतः र स्वभाविक रुपमा रिहा हुनुपर्छ यसमा कुनै दुईमत छैन तर उहाँको रिहाको माग गर्दै अन्य मागलाई ओझेलमा पार्नु हुनु हुँदैन । तर उहाँ त्यही भइरहेका छन् ।

थरुहट तथा मधेशमा रेशम चौधरीका कारण अरु मुद्दा ओझेलमा परेको गुनासोहरु भइरहेका छन् । थारु तथा मधेशी नेताहरुले संविधान संशोधनलाई मुख्य एजेण्डा बनाउनुपर्छ । संघीय संरचना, शक्ति बाँडफाँड पहिचान तथा समानुपातिक समावेशी प्रणालीको आधारमा हुनुपर्ने एजेण्डा बनाउनुपर्छ । अहिलेको सात प्रदेशमा न मधेशीको पहिचान जोगिएको छ न थारुको । राज्यले थारु र मधेशी दुवैको पहिचान खोसेको छ । ती समुदायलाई विभिन्न टुक्रामा बाँडेको छ । तर ती समुदायका अगुवा तथा नेताहरु रेशम चौधरीको रिहाका लागि अल्झेर बसेका छन् । थरुहट र मधेशका सम्पूर्ण शक्ति रेशम चौधरीको रिहाका लागि लगाइ रहेका छन् । जब कि त्यो शक्ति खेर गइरहेको छ । अहिले थरुहट तथा मधेशले आफ्ना आधारभूत अर्थात नभइ नहुने मागहरु पुरा गराउनमा जोड दिनुपथ्र्यो ।

थारु र मधेशबीच एउटा शक्ति निर्माण गर्नुपथ्र्यो तर रेशम चौधरीका कारण थारुहट र मधेश विभाजित भएका छन् । रेशम चौधरीका कारण मधेश र थरुहट विभाजन भएको हो कि जस्तो लाग्न थालेको छ । रेशम चौधरीलाई कसले रिहा गराउने भनि दुवै पक्षमा प्रतिस्पर्धा चलेको छ । थरुहटबालाहरुलाई लाग्छन् कि रेशम चौधरीलाई रिहा गराएर मधेशवादी दलले ने सबै जश न लिइहालोस् । यता मधेशवादी दलका नेताहरुलाई लाग्छन् कि थरुहटबालाहरुले नै रेशम चौधरीलाई रिहाय गराएर सबै जश नलिहालोस् । थरुहटबालाहरुले आफ्नोतर्फबाट मधेशवादी दलका नेताहरुले आफ्नो तर्फबाट बल लगाई रहेका छन् । तर हालसम्म कसैको बल पुगेको छैन ।

यदि त्यस्तो होइन भने थरुहट र मधेश एकै ठाउँमा आएर एकैपटक रेशम चौधरीको रिहाका लागि किन कुरा गर्दैन, किन अवाज उठाउँदैनन्, छुट्टा छुट्टै किन आन्दोलन गर्नछन्, छुट्टा छुट्टै रिहाका लागि किन वार्ता गर्छन्, पक्कै पनि त्यसका कुनै नकुनै स्वार्थ लुकेको हुनुपर्छ । दुवै शक्ति एक ठाउँमा आएर राज्यमाथि दवाव बनाउन सकियो भने केही बात बन्न सक्थ्यो तर होइन, जश अरु कसैले नलियोस् भनेर दुवै पक्षका नेता तथा अगुवा कार्यकर्ताहरु आआफ्नो बल प्रयोग गरिरहेका छन् । जुन बल सरकारसमक्ष पुग्न सकेको छैन ।

एउटा घटनाको चर्चा गरौं यहाँ, जतिबेला महन्थ ठाकुरहरु जसपा नेपालमा हुनुहुन्थ्यो, उहाँहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो । मधेशको माग पुरा गराउन दवाव दिइरहनु भएको थियो । विभिन्न मागहरुमध्ये उहाँहरुले रेशम चौधरीको मागलाई प्राथमिकतामा राख्नु भएको थियो । निरन्तर दवाव र छलफलका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुभएको थियो र रेशम चौधरी रिहाका लागि पहल पनि सुरु गर्नुभयो ।

कानुन प्रकृयाबाट नै रिहा हुनु भएकाले अदालतमा कानुन प्रकृया पनि सुरु भएको थियो । त्यो थाह पाएर अन्य पार्टी निकट थारुहरुको संघ संगठनले समेत रिहाको मागसहित आन्दोलन शुरु गरे २०७७ चैत ८ गतेदेखि रेशम चौधरीको रिहाको माग गर्दै राजधानीको माइतीघर मण्डलामा काँग्रेस, एमाले र माओवादी समर्थित थारु संघ संगठनले आन्दोलन सुरु गरे । आन्दोलन थाल्नुअघि ती संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

माइतीघर मण्डलामा धर्ना बसेका थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली काँग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा अवद्ध छन् । जसपा जो एउटा राजनीतिक दल हो, यसले प्रधानमन्त्री अ‍ोलीलाई दवाव दिलाएर रेशम चौधरीलाई रिहा गराउन थालेको थाह पाएर काँग्रेस, माओवादी केन्द्र, एमालेलगायतका दलहरु तम्सिएर माइतीघर मण्डलामा धर्ना सुरु गरे ।

ती संगठनहरुले धर्ना सुरु गरेपछि सरकारको तत्काल ध्यानाकर्षण भयो । र तत्कालिन गृहमन्त्री रामबहादुर थापा धर्ना स्थलमै गएर उनीहरुसँग वार्ता र छलफल गर्नुभयो । सायदै यसअघि कुनै आन्दोलनकारीसँग यसरी धर्नास्थलमै गएर सरकारका गृहमन्त्रीले नै वार्ता गरेको होस् । तर तत्कालिन अ‍ोली सरकारले त्यो काम गरेको थियो । जेठ १० गते सरकार र ती आन्दोलनकारी संगठनबीच सम्झौता पनि भयो । त्यो सम्झौता गराउनका लागि रुक्मणी चौधरी, गंगा चौधरीलगायतका थारु नेताहरुले पहल गर्नुभएको थियो । त्यतिबेला सरकार र थारु कल्याणकारिणी सभा, थरूहट÷थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो ।

दुई पक्षबीच रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता लिन संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थियो । आखिर किन ? एउटै व्यक्तिलाई रिहा गर्नका लागि अ‍ोली सरकारले जसपासँग पनि सहमति गरेको थियो । कानुनी प्रकृया सुरु पनि भइसकेको थियो । तत्कालिन प्रधानमन्त्री अ‍ोली आफै त्यसका लागि सकारात्मक हुनुहुन्थ्यो । सबै कुरा सकारात्मक रुपमा अगाडि बढी रहेको थियो तर अचानक थरुहटका विभिन्न संघ संगठनहरु बीचमै हाम फाले र सरकारले पनि उनीहरुलाई स्पेश दियो । यसको एउटा कारण थियो, यसको जश मधेशवादी दलले नलियोस् । यो कुरा थरुहटका संघ संगठनले मात्र होइन, केपी शर्मा अ‍ोलीको मनमा पनि भय थियो । त्यही भएर उहाँले आफ्ना पार्टीका थारु नेताहरुलाई यसका लागि खटाउनु भएको थियो ।

नत्र ओलीले जसपाका नेता एवं सांसद रेशम चौधरीलाई रिहा गराउनुको मकसद के ? रेशम चौधरीलाई रिहा गराउन जसपा सफल भयो भने मधेशमा उसको जयजय हुन्छ । उ झन बलियो हुन्छ भने बुझाई अ‍ोलीको थियो त्यही भएर उहाँ यसको जश घुमाई फिराई आफ्नो पार्टीलाई नै दिन चाहनु भएको थियो तर उहाँको यो तरकिब काम लागेन ।

पत्रकार अनन्त अनुरागले सुनाउनु भएको एउटा कुरा यहाँ स्मरण गर्न चाहन्छु । अनुरागजी जसपाबाट मन्त्री बन्नु भएको शरतसिंह भण्डारीलाई शुभकामना तथा बधाई दिनका लागि उहाँको घर पुग्नु भएको थियो । त्यहीबेला सामान्य थारु समुदायका केही अगुवाहरु पनि उहाँलाई शुभकामना दिन आई पुगेका थिए । मन्त्री भण्डारी शुभकामना थप्न निकै व्यस्त हुनुहुन्थ्यो । त्यही भिडबाट एकजोडी सामान्य पहिरणमा आएका थारुले मन्त्री भण्डारीलाई फूलमाला र खादा लगाउँदै भनेका थिए, मन्त्रीज्यू, हाम्रो माग केही छैन, रेशम चौधरी जसरी पनि छुट्नु पर्यो, अरु हामीलाई केही थाहा छैन ।’ उनी कहाँका थिए त्यो कुरा अनुरागजीले सोध्नु भएन तर मन्त्रीसँग सामान्य रुपमा शुभकामना साटासाट गर्ने बेला अचानक रेशम चौधरीको रिहाका लागि कुरा राख्नुले उहाँलाई गम्भीर अवश्य बनाइएको थियो ।

आखिर रेशम चौधरीको रिहाका लागि यसरी थरुहटदेखि लिएर मधेश सबै किन लागेका छन् त ? यसको कारण के हो, के उहाँ रिहा भएपछि थरुहट तथा मधेशको सर्वकल्याण नै हुन्छ त, मधेश तथा थारुहरुको सबै माग पुरा हुन्छ त ? होइन । रेशम चौधरी एउटा व्यक्ति हुनुहुन्छ । कुनै पार्टीका नेता हुनुहुन्छ । उहाँ आन्दोलनको कारण पक्राउ हुनुभएको हो । राज्यले कानुन अनुसार उहाँलाई दोषी मानेको छ । त्यो निर्णयलाई हामी नमानौला, राज्यले गरेको निर्णय गलत हो भनि पनि भनौंला तर के उहाँको रिहाका लागि सबै माग र मुद्दा ओझेलमा पार्ने काम जायज हो त प्रश्न उठेको छ ।

रेशम चौधरीको रिहाका लागि जति प्रयास अहिले भइरहेको छ त्यति प्रयास रामराजा प्रसाद सिंह, बीपी कोइराला, गणेशमान सिंह, दुर्गानन्द झा, गजेन्द्रनारायण सिंहलगायत कसैका लागि पनि भएको थिएन । सारा कुरा छाडेर त्यसैको पछि कसैको समयमा लागेको थिएन । त्यतिबेला पनि दलका नेताहरु जेलमा थिए, तर आन्दोलन आफ्नो उद्देश्यमा अगाडि बढी रहेको थियो । एउटा समय आएपछि उहाँहरु आफै स्वतः रिहा हुनुहुन्थ्यो । रेशम चौधरीको हकमा पनि त्यस्तो हुनसक्छ तर उहाँका रिहाका लागि जे जे भइरहेको छ त्यो अलि धेरै नै हो ।
रेशम चौधरीको रिहाका लागि थरुहट र मधेश मात्र विभाजन भएको छैन ।

थरुहटका विभिन्न संघ संगठनमा पनि होडवाजी चलेका छन् भने यता मधेशवादी दल तथा विभिन्न संघ संगठनबीच होडबाजी चलेका छन् । लक्ष्मण थारुहरुको एउटा ग्रुप छ भने रुक्मणी चौधरीलगायतहरुको एउटा गु्रप रहेको छ । थारु कल्याणकारिणी सभा, थरूहट÷थारुवान संघर्ष समितिले सरकारसँग ६ बुँदे सम्झौता गरिसकेपछि लक्ष्मण थारुहरुको ग्रुप पनि माइतीघर मण्डलामा धर्ना बसेको थियो । केही दिन उहाँरुले पनि रेशम चौधरीको रिहाका लागि माग गर्दै माइतीघरमा प्रदर्शन गर्नुभयो । यद्यपी उहाँहरुसँग सरकारले कुनै वार्ता गरेन । तर लक्ष्मण थारुहरुको आन्दोलन जारी नै रह्यो । उहाँले कहिले काठमाडौँ आएर आन्दोलन गर्नुहुुन्छ भने कहिले कैलाली, बर्दिया, कञ्चनपुरतिरै आन्दोलन गर्नुहुन्छ ।

एकजना सुरेन्द्र चौधरी हुनुहुन्छ । उहाँ पहिला आइएनजीयोमा काम गर्नुहुन्थ्यो । अहिले के गर्नुहुन्छ थाह छैन तर उहाँले पनि पछिल्लो समय टीकापुरका राजबन्दी रिहाका लागि अभियान चलाउनु भएको छ । उहाँले तत्कालिन राजपा निकट नेताहरुको सहयोगमा अभियान सुरु गर्नु भएको थियो । सुरेन्द्र चौधरीले काठमाडौँमा गर्नुभएको एउटा कार्यक्रममा महन्थ ठाकुरलगायत राजपा निकट नेताहरुको बाक्लो उपस्थिति थियो । महन्थ ठाकुरसँगै धेरैपटक सुरेन्द्र चौधरी बालुवाटार गएर प्रधानमन्त्रीलाई पनि भेटेर आफ्नो कुरा राख्नु भएको छ । तर पछिल्लो समय उहाँ पनि निस्कृय हुनु भएको छ । उहाँ अहिले महन्थ ठाकुर पक्षका नेताहरुको सम्पर्कमा पनि हुनुहुन्न । लक्ष्मण थारुलगायत समूहले विभिन्न टुक्रा टुक्रामा गरिरहेका आन्दोलनको बारेमा उहाँले टिप्पणी गरिरहनु हुन्छ ।

यता, मधेशवादी दलमा पनि त्यस्तै होडवाजी रहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच होडवाजी चलिरहेको छ । उपेन्द्र यादव पक्षले रेशम चौधरीलाई रिहा गराउने जश आफूहरुलाई लागोस् भने दाउमा छ भने महन्थ ठाकुर पक्षले पनि त्यसको रिहाको जश आफूहरुलाई लागोस् भने दाउमा छ । रिहा गराउनका लागि तछाड मछाड छ । जसपाले भन्छ, रेशम चौधरी हामीसँग छ भने लोसपाले भन्छ, होइन, रेशम चौधरी हामीसँग छ । दुवै पक्षले आआफ्नो तर्फबाट उहाँलाई रिहाका लागि बल लगाइ रहेका छन् ।

तर यीमध्ये कसैलाई पनि रेशम चौधरीले भाव दिइरहनु भएको छैन । उहाँ सबैको सम्पर्कमा हुनुहुन्छ तर कसैसँग हुनुहुन्न । उहाँ जसपामा हुनुहुन्छ कि लोसपा हुनुहुन्छ त्यसमा अस्पष्टता छ । त्यस्तै उहाँ लक्ष्मण थारुहरुको ग्रुपमा हुनुहुन्छ कि रुक्मणी चौधरीको ग्रुपमा हुनुहुन्छ या सुरेन्द्र चौधरीको साथमा हुनुहुन्छ वा थरुहटको कुन पक्षमा हुनुहुन्छ, कुनै स्पष्टता छैन ।

महन्थ ठाकुर पक्ष जेलमा भेट्न जाँदा लोसपामै रहेको भनि दंग पारेर पठाउनु हुन्छ भने उपेन्द्र यादव पक्षका नेताहरु भेट्न जाँदा जसपामै रहेको भन्दै दंग पारेर पठाउनु हुन्छ । त्यस्तै खेला उहाँले थरुहटहरुसँग गर्नुहुन्छ । थरुहटमा पनि विभिन्न समूहहरु छन् । सबैले आआफ्नो तरिकाले आन्दोलन गरिरहेका छन् । तर रेशम चौधरी हालसम्म कसैको साथमा रहने वचन दिनुभएको छैन । उहाँ पनि छुट्टै पार्टी बनाउने गृहकार्य जेलभित्रैबाट गरिरहनु भएको विभिन्न सञ्चार माध्यममा समाचार आएका छन् । कोसँग र कस्तो पार्टी बनाउने भने कुरा हालसम्म खुलेको छैन ।

सांसद रेशम चौधरी एक बौद्धिक, क्रान्तीकारी युवा मात्रै होइन, रणनीतिक बनाउन सक्ने थारु नेता पनि हुनुहुन्छ । त्यसमा कुनै दुई मत छैन । यदि त्यस्तो नभएको भए सारा शक्ति उहाँको पछि लाग्ने थिएन । उहाँ प्रहरीका खोजी सूचीमा हुनुहुन्थ्यो, भारतमा बसिरहनु भएको थियो । माओवादी केन्द्रका अध्यक्ष तत्कालिन प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा गएको बेला रेशम चौधरी (२०७३ असोज ४ गते) ताजमहल होटलमा गएर भेट्नु भएको थियो । यो चानचुने कुरा होइन । यसबाट प्रष्ट हुन्छ कि रेशम चौधरी पनि चानचुने व्यक्ति होइन, नत्र प्रहरीका फरार सूचीमा रहनु रेशम चौधरी उच्च सुरक्षाको घेराभित्र रहनु भएका प्रधानमन्त्रीलाई भेट्नु प्राय असम्भव नै हुन्छ । यस्तो शक्तिशाली व्यक्ति काठमाडौको जेलबाट मधेशी तथा थारु नेताहरुलाई भाव दिएको होला जस्तो मलाई लाग्दैन । नत्र जसपाको नेता भएर रेशम चौधरी यसरी तटस्थ बस्न सक्नु हुन्थेन ।

उहाँ तत्कालिन राजपा नेपालबाट टिकट लिएर चुनाव जित्नु भएको हो । उहाँलाई महन्थ ठाकुर र राजेन्द्र महतोले टिकट दिनुभएको थियो । तर जब निर्वाचन आयोगमा जसपाको आधिकारिता बारे मतदान भइरहेको थियो अनि रेशम चौधरी तटस्थ बसि दिनुभयो । जुन कुराको महन्थ ठाकुरहरुले कल्पना समेत गर्नु भएको थिएन ।

मतदानका लागि रेशम चौधरी आउनु हुन्छ र महन्थ ठाकुरको पक्षमा मतदान गर्नुहुन्छ भनि प्रमाणका रुपमा रेशम चौधरीका श्रीमती त्यही हुनुहुन्छ । महन्थ ठाकुर पक्षधरका नेताहरुको साथमा हुनुहुन्थ्यो । तर उहाँ आयोग आएपछि न उपेन्द्रको पक्षमा मतदान गर्नुभयो र न महन्थ ठाकुरको पक्षमा मतदान गर्नुभयो । जब कि त्यही महन्थ ठाकुर र उपेन्द्र यादव रेशम चौधरीको रिहाका लागि सरकारसँग लडिरहनु भएको छ । अहिले पनि महन्थ ठाकुर र उपेन्द्र यादवले रेशम चौधरीको दावी छाड्नु भएको छैन । तर रेशम चौधरीको आवद्धताका बारेमा अस्पष्ट हुँदा धेरै समस्याहरु भइरहेको स्वयं नेताहरु नै बताउँछन् ।
(लेखक सुरेशकुमार यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया