बद्री मण्डलको ‘कमब्याक’

राजावादीको छाप लागेका बद्री मण्डल राजनीतिमा पुनः सक्रिय हुनु भएको छ । ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि उपप्रधानमन्त्री भएका बद्री मण्डल अर्को मन्त्रीमण्डलमा मन्त्री पदमा जाँदा उहाँको आलोचना भएको थियो । उपप्रधानमन्त्री भइसक्नु भएका व्यक्ति कसरी मन्त्री पद खानु भयो भन्दै उहाँको आलोचना भएको थियो र अहिले पनि कोही व्यक्ति आफ्नो वरियताक्रम भंग गरेर कुनै पदमा जान्छन् भने त्यसलाई बद्री मण्डल भएको टिप्पणी गर्छन् । त्यही बद्री मण्डल पुनः राजनीतिमा आउनु भएको छ ।

उहाँ नेपाल सद्भावना पार्टीको सर्वमान्य नेता भएर राजनीतिमा आउनु भएको छ । एक समय उहाँ त्यही नेपाल सद्भावना पार्टीको अध्यक्ष हुनुहुन्थ्यो तर उहाँमाथि राजावादीको आरोप लागेपछि सो पार्टीबाट राजिनामा दिइ केही समय राजनीतिबाट निस्कृय हुनुभएको थियो । पछि उहाँ राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालिन सद्भावना पार्टीमा प्रवेश गर्नुभएको थियो । सदभावना पार्टीले अन्य पार्टीहरुसँग राजपा बनाएपछि बद्री मण्डल राजपासम्म राजेन्द्र महतोको साथमा हुनुहुन्थ्यो तर जब राजपा र समाजवादी पार्टी मिलेर जसपा बन्यो अनि बद्री मण्डल एकाएक निस्कृय हुनुभयो ।

अहिले गजेन्द्रनारायण सिंहले स्थापना गरेका नेपाल सद्भावना पार्टीलाई सबैले छाड्दै गएपछि पछिल्लो समय रामकुमार महतोले पुर्नगठन गरी सो पार्टीलाई सक्रिय भएका बनाउनु भएको छ त्यसैमा उहाँ सर्वमान्य नेताको रुपमा प्रवेश गर्नुभएको छ ।

नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएपछि कार्यवाहक अध्यक्ष बद्री मण्डल हुनुभएको थियो । त्यही बेला ज्ञानेन्द्र शाहले कु गरी बनाएको सरकारमा बद्री मण्डल उपप्रधानमन्त्री बन्नुभएको थियो । पछि मन्त्री पनि बन्नुभएको थियो । राजालाई साथ दिएको भन्दै पार्टीमा उहाँको निकै आलोचना भएको थियो । राजविराजमा भएको चौथो महाधिवेशनबाट बद्री मण्डललाई पार्टीबाट हटाउने प्रयास भएको थियो । भरतविमल यादव, ह्रदयश त्रिपाठी, राजेन्द्र महतो, रामेश्वर राय यादवलगायतका नेताहरु बद्री मण्डललाई पार्टीबाट हटाउने प्रयासमा लाग्नुभएको थियो ।

तर उहाँ सत्तामा रहेको कारण कसैको दाल गलेन । अन्ततः त्यहाँ पार्टी विभाजन भयो । गजेन्द्रनारायण सिंहका श्रीमती आनन्दी देवी सिंहलाई अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गरेको थियो । बद्री मण्डल नेपाल सद्भावना पार्टीको अध्यक्ष भएर ज्ञानेन्द्र शाहलाई समर्थन गर्नुभएको थियो । पार्टीमा त्यसको चर्को विरोध हुन थालेपछि बद्री मण्डलले पार्टी अध्यक्षबाट राजिनामा दिएर लक्ष्मण लाल कर्णलाई कार्यबाहक अध्यक्ष बनाउनु भएको थियो ।

कार्यबाहक अध्यक्ष रहेका कर्णले नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) बीच एकीकरण गराउनु भएको थियो । पछि सो पार्टीमा निकै विवाद चलि रह्यो । कहिले को अध्यक्ष त कहिले को अध्यक्षको विवाद चल्यो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतबाट नेपाल सद्भावना पार्टीको आधिकारिकता सरिता गिरीले पाउनु भएको थियो । उहाँ पछि तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभयो ।

उता, अर्को सद्भावना पार्टी राजेन्द्र महतोको नेतृत्वमा थियो । उहाँले पनि विभिन्न दलसँग एकीकरण गरी राजपा नेपाल बनाउनु भएको थियो । यसरी गजेन्द्रनारायण सिंहले जन्माएका नेपाल सद्भावना पार्टी नेपालका अन्त्य भएको थियो ।
पछि सोही नेपाल सद्भावना पार्टीलाई रामकुमार महतोले निर्वाचन आयोगमा दर्ता गराएर पुर्नर्जिवित गरेर सक्रिय बनाउनुभयो । जसको सर्वमान्य नेता हुनुभएको छ, बद्री मण्डल ।

तपाईको प्रतिक्रिया