जसपाभित्र राजपाबालाहरु तनावमा

जनता समाजवादी पार्टी नेपालमा बाहिर नदेखिए पनि त्यसभित्र गुटैगुट छन् । गुटका कारण भागबण्डा मिलाउनैमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव हेरान हुनुभएको छ । भागबण्डा मिलाउन नसक्दा पार्टीभित्र असन्तुष्टि बढेको छ । यसअघि पार्टीमा उपेन्द्र यादव (फोरम), डा.बाबुराम भट्टराई (नयाँ शक्ति) अशोक राई (सघीय समाजवादी) गरी तीन गुट थिए । अहिले जसपाभित्र राजपा नेपालबालाहरुको तीन गुट रहेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जसपा नेपाल बनेको थियो ।

जसपा नेपाल विभाजन भएपछि अहिले अर्को समुहले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनाएको छ । सो पार्टीमा केही समाजवादी पार्टीका नेताहरु पनि गएका छन् भने जसपामा पनि राजपा नेपालका नेताहरु बसेका छन् ।

जसपामा रहेका राजपा नेपालका नेताहरुको आफ्नै गुट रहेका छन् । महेन्द्र राय यादवले जसपाभित्र राजपा गुटको नेतृत्व आफूले गर्दै आइरहेको बताउँदै आउनु भएको छ भने राजकिशोर यादवले राजपा गुटको नेतृत्व आफूले गर्दै आएको दावी गर्दै आउनु भएको छ । त्यस्तै, प्रमोद साहले जसपाभित्र राजपा समूहको नेतृत्व आफूले गरिरहेको भन्दै आउनु भएको छ । जसपाभित्र राजपा नेपालका तीनवटा गुट देखिएको छ । उहाँहरु राजपाबाट आएपनि उहाँहरुको बीचमा राम्रो सम्बन्ध छैन ।

तीनवटा गुटमध्ये एकजना महेन्द्र राय यादवले मात्र मन्त्री पद पाउनु भएको छ । राजकिशोर यादव र प्रमोद साहले असन्तुष्टि जनाउनु भएको छ । प्रमोद साहले राजपाबाट आफूले सातजना सांसद लिएर आएको बताउँदै बताउँदै त्यसको आधारमा भाग पाउनुपर्ने भन्दै आउनु भएको छ ।

यता, महेन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै सोही पक्षमा रहनु भएका रामनरेश राय यादवलाई मन्त्रीबाट हटाइएको छ । महेन्द्र राय यादव मन्त्री बनेपछि रामनरेश यादव मन्त्री रहनु हुँदैन भनि पार्टीमा कुरा उठेको थियो । कुनै एउटा समूहले एउटा पनि पाएका छैनन् भने अर्को समूहले दुई दुईटा मन्त्री पाउने भन्दै पार्टीमा आलोचना सुरु भएपछि प्रदेश २ सरकारमा उद्योग मन्त्री रहनु भएका रामनरेश राय यादवलाई कात्तिक ३० गते त्यहाँका मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने भएपछि जसपाले रामनरेश राय यादवलाई राजिनामा दिनका लागि मुख्यमन्त्री राउतसहित जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आग्रह गर्नुभएको थियो । तर उहाँले अटेरी गर्दै आउनु भएको थियो । उहाँले पार्टीको निर्णय माग गर्नुभएको थियो । पार्टीले निर्णय गरेर सरकारमा पठाएको हुनाले पार्टीले नै निर्णय गरेर सरकारबाट हट्न भन्नुपर्छ भन्दै राजिनामा दिन इन्कार गर्नुभएको थियो । आज बाध्य भएर उहाँलाई पदबाट निलम्बन गर्नुपरेको प्रदेश २ का सरकारका प्रवक्ता शैलेन्द्र साहले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश २ सरकारमा एकजना मन्त्री र एकजना राज्यमन्त्री जाने सहमति भएको छ । एउटा मन्त्रालय र अर्को राज्यमन्त्री लिएपछि नेकपा (एकीकृत समाजवादी) ले महत्त्वपूर्ण मन्त्रालयको माग गरेको छ । त्यसका लागि प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई हटाउने तय भएको थियो । रामनरेश यादवको मन्त्रालयको काम कारवाही पनि सन्तोषजनक थिएन । उहाँको मन्त्रालयको बारेमा पार्टीभित्र निकै गुनासाहरु थिए । ती गुनासाहरुका कारण पनि उहाँलाई राजिनामा दिन पटकपटक भनिएको थियो तर उहाँ अटेरी गर्दै आउनु भएको थियो ।

हुन त प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको कार्यप्रगति पनि सन्तोषजनक छैन । उहाँको बारेमा पनि पार्टीका पटकपटक कुरा उठेको हो । उहाँलाई पनि हटाउन सकिन्थ्यो तर उहाँ तत्कालीन राजपाका नेता राजेन्द्र महतोको साथ छाडेर जसपामा बसेका कारण उहाँलाई हटाउन नमिल्ने भएर हटाइएको स्रोतले जनाएको छ ।

रामनरेश यादवको हकमा उहाँका पक्षका एकजना महेन्द्र राय यादव संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुहुन्छ । प्रदेश २ सरकारसँग सामान्य प्रशासन तथा कानुन मन्त्रालय र वातावरण मन्त्रालय पनि बाँकी छ । तर त्यो मन्त्रालयमा नेकपा एकीकृत समाजवादी जान तयार थिएन । त्यो पार्टीले कुनै विकासीय मन्त्रालय चाहिन्छ भनि अडानमा थियो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री रामनरेश यादवलाई राजिनामा दिन आग्रह गर्दा मन्त्री यादवले आफू पार्टीको निर्णयबाट सरकारमा आएको हुनाले पार्टीले नै यस विषयमा निर्णय गर्नुपर्ने भन्दै आउनु भएको थियो । मन्त्री हटाउने र राख्ने अधिकार मुख्यमन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ, उहाँले हटाउन सक्नुहुन्छ तर यदि राजिनामा दिने कुरा आयो भने यस विषयमा पार्टीले निर्णय गर्नुपर्छ, रामनरेश राय यादवले जोड थियो । उहाँले आफू राजपाबाट जसपामा आएको पनि भन्नुभयो । राजपाबाट आएर जसपालाई जोगाउने काममा आफ्नो

भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सरकारबाट कसैलाई बेइज्जती गरेर हटाउने अधिकार नरहेको अभिव्यक्ति दिँदै आउनु भएको थियो । सधैका लागि कोही पनि मन्त्री बन्दैन, आफू मन्त्री छाड्न तयार रहेको तर यसका लागि पार्टीको निर्णय हुन आवश्यक रहेको उहाँको धारणा थियो । तर मुख्यमन्त्री राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्देशन अनुसार मन्त्री पदबाट निलम्बन गर्नुभएको छ ।

यता, जसपा प्रदेश २ कमिटीमा पनि विवाद देखिएको छ । राजपा र समाजवादी पार्टी एकीकृत भएपछि प्रदेश कमिटी समायोजन भएको छैन । समायोजन गर्दा प्रदेश २ समितिमा कसलाई अध्यक्ष बनाउने तनाव पार्टीमा भएको छ । यसअघि समाजवादी पार्टीबाट अध्यक्ष रहनु भएका विजय यादवले राजिनामा दिनु भएको छ । नयाँ कार्य समिति बनाउनका लागि पटक पटक प्रयास भएपनि हालसम्म त्यसले पूर्णता पाएको छैन । प्रदेश समितिको बैठकबाट कार्यसमितिले पूर्णता नपाएपछि यसको जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

तर कमिटीको पदाधिकारीका लागि आकाँक्षिहरु धेरै देखिएपछि त्यसलाई मिलाउन समस्या भइरहेको छ । प्रदेश कमिटीको १५ जना पदाधिकारीमा एउटा अध्यक्षका लागि १० जनाले चाहना व्यक्त गरेका छन् भने सातवटा उपाध्यक्षका लागि ३५ जना, एउटा मुख्यसचिवका लागि पाँचजना, पाँचवटा सचिवका लागि २५ जना र एउटा कोषाध्यक्षका लागि १३ जनाले इच्छा देखाएका छन् । यीमध्ये १५ जनाको पदाधिकारी चयन गर्नुपर्ने चुनौती अध्यक्ष उपेन्द्र यादवसँग छ । अध्यक्षका लागि बालकिशोर यादव, अशोक यादव, ज्ञानेन्द्र यादव, उर्मिला साह, शेषनारायण यादव, रामपृत पासवान, लालकिशोर यादव, सुशिल यादव, रामअवतार यादव र रामअषिश यादव रहनु भएको छ ।

तपाईको प्रतिक्रिया