नेकपा (एस) मा प्रचण्डका सुराकी

नेपालको राजनीतिमा केही पनि असम्भव छैन । जुनसुकै बेला जेपनि हुनसक्छ । सत्ताधारी दलले कानुन नै संशोधन गरेर अर्काको पार्टी फुटाउँछ । प्रधानमन्त्री बन्नमा सहयोग गरेका मान्छेलाई मन्त्री बनाउँछ । नेतालाई जेल हाल्नेमाथि अविश्वास प्रस्ताव ल्याउछ । यस्ता थुप्रै घटनाक्रम नेपाली राजनीतिको परिदृश्य हो । त्यसैमा हालै एउटा थपिएको छ, पार्टी अध्यक्षकै सल्लाहमा कुनै नेता पार्टी छाडेर अर्को पार्टीमा लाग्नु भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र झाले पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । तर अच्चमको कुरा के छ भने नेता झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सल्लाह गरेर नै नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । राजनीतिमा यस्तो घटना विरलै हुने गरेको छ । पार्टीका अध्यक्षलाई जानकारी दिएर पार्टी छाड्नु र सल्लाह गरेर छाड्नु दुई फरक कुरा हो । रामचन्द्र झाले अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर पार्टी छाड्नु भएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लड्नका लागि माओवादी केन्द्रभन्दा सजिलो नेकपा एकीकृत समाजवादीबाट हुने रामचन्द्र झाको तर्क थियो ।

त्यत्तिकै पनि माओवादी केन्द्रमा मेरो कुनै भूमिका छैन, जिम्मेवारी पनि छैन, यहाँ त्यतिकै बस्नु भन्दा माधवकुमार नेपालसँग बस्दा माओवादी केन्द्रलाई पनि ठिक हुन्छ र मलाई पनि ठिक हुन्छ, रामचन्द्र झाको भनाईलाई उद्धृत गर्दै उहाँ निकट एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, अहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रुपमा अ‍ोली प्रवृतिको विरुद्ध लडाई लडि रहेका छन्, सो लडाईमा प्रचण्डसँग बसेर लड्नु भन्दा माधव नेपालसँग बसेर लड्न सजिलो हुन्छ, त्यहाँ जिम्मेवारी पनि पाइरहेको छु, भूमिका पनि दिइरहेको छ ।’
आखिर एक दिन न एक दिन नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकीकरण नै हुन्छ, त्यसअघि नै त्यहाँ गएर सबै वतावरण मिलाउने काम आफूले गर्ने भनि रामचन्द्र झाले अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर नै माधवकुमार नेपालको पार्टीमा जानु भएको हो ।

एमालेमा बसेर लामो समयसम्म काम गरेको कारण ओली नेतृत्वको एमालेबाट नेता तथा कार्यकर्ता तान्न सकिने भएकाले त्यही बस्नु प्रचण्ड र सो पार्टीका लागि फाइदा हुने देखेर नै आफू माओवादी केन्द्र छाडेको नेता झाले बताउनुभयो । उहाँले माओवादी केन्द्रको बैठकमा नै रामचन्द्र झाले पार्टी छाड्न लाग्नु भएको कुरा अध्यक्ष प्रचण्डले सबैसँग भन्नुभएको थियो, उहाँले भन्नुभयो, माओवादी केन्द्रमा रहेर ओली प्रवृतिको विरुद्ध लड्न सकिदैन, ओलीसँग लड्नका लागि एमालेबाट अलग हुनुभएका माधवकुमार नेपालकै साथमा रहेर मात्र लड्न सकिन्छ ।’

एमाले छाडेर रामचन्द्र झाले माओवादीमा प्रवेश गर्नुभएको थियो । पछि माओवादी विभाजन भएर डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्तिमा जानु भएको थियो । नयाँ शक्तिबाट पुनः माओवादी केन्द्रमा फर्किनु भएको थियो । र अहिले माओवादी केन्द्र छाडेर पुन एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजादीमा फर्किनु भएको छ ।

माओवादी केन्द्रमा मातृका यादवसँग रामचन्द्र झाको राम्रो सम्बन्ध थिएन । दुईजनाको बीचमा मनमुटाव थियो । मातृका यादवका कारण रामचन्द्र झाले पार्टीमा उचाई लिन नसक्नु भएको उहाँ निकट नेताहरु बताउनुहुन्छ । उहाँ दुईजनाको बीचमा द्धन्द भएको कारणले प्रचण्ड पनि रामचन्द्र झालाई स्थान दिन सकिरहनु भएको थिएन । अनि माओवादी केन्द्रमा केन्द्रीय सदस्य भएर बस्नु भन्दा माधव नेपालसँग बस्नु नै राम्रो हुने भन्दै रामचन्द्र झा त्यहाँ जानुभयो । नेकपा एकीकृत समाजवादीले अहिले रामचन्द्र झालाई सचिवालय सदस्यमा राखेको छ । उहाँलाई उपाध्यक्षसम्म दिने सम्भावना रहेको छ । माधवकुमार नेपालको पार्टीमा उपाध्यक्ष भएपछि माओवादी केन्द्रसँग एकता भयो भने रामचन्द्र झाको पनि त्यही अनुसार पद समायोजन हुन्छ । त्यतिबेला रामचन्द्र झा मातृका यादवभन्दा ठूलो पदाधिकारी भएर आउने सम्भावना पनि रहेको छ ।

मंसिर ७ गते जनकपुरमा रामचन्द्र झाको उपस्थितिमा एउटा आमसभा गर्ने तयारी भइरहेको छ । सोही कार्यक्रमबाट रामचन्द्र झा आफू माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको औपचारिक घोषणा गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया