सुभाषको जीवनः कहिले मेट्ला मधेशको प्यास

सूर्यनाथ प्रसाद यादव (सप्तरी) नाम सुन्ने वित्तिकै अलमल हुन्छ तर जब सुभाष नाम लिइन्छ जो कोही उहाँलाई पहिचान गर्छन् । सूर्यनाथ प्रसाद यादवलाई राजनीतिले एउटा पहिचान दिएको छ त्यो हो सुभाष । माओवादी जनयुद्धमा लागेपछि पार्टीमा सबैले उहाँलाई सुभाष नामले चिन्थे । माओवादी शान्ति प्रकृयामा आएपछि पनि सूर्यनाथ सुभाष भएर नै बसे । उहाँलाई चिन्नै नाम नै सुभाष भयो । आमा बुद्धिदेवी यादव र बुवा रामप्रसाद यादवको कान्छो छोरा सुभाष तीन दाजु भाइ हुनुहुन्छ । जेठो दाजु देवनाथ यादव पनि माओवादीमा लाग्नु भएको थियो हाल उहाँ रामबहादुर थापाका साथमा एमालेमा जानु भएको छ । अर्को दाजु धर्मनाथ यादव शिक्षक हुनुहुन्छ ।

सुभाष इन्टरसम्म मात्र अध्ययन गर्नुभएको छ । एसएलसीपछि उहाँ कलेज ज्वाइन गर्नुभएको थियो । त्यहीबेला उहाँ माओवादीमा लागेर भूमिगत हुनुभयो । बल्लतल्ल इन्टर पास गर्नुभयो । तर माओवादीमा लागेका कारण उहाँलाई बुर्जुवा शिक्षा लिन मन लागेन । त्यो बेला माओवादीले त्यो शिक्षालाई विरोध गरिरहेको थियो । त्यही भएर उहाँ पढाईतिर ध्यान दिनुभएन । क्रान्तिमा लाग्नुभयो । अहिले आएर त्यही बुर्जुवा शिक्षा लिएको भए सायद यतिबेला काम लाग्थ्यो भनि सुभाषलाई लाग्न थालेको छ ।

राजनीतिक उतार चढाव

बाल्यकालदेखि क्रान्तकारी विचार बोकेर कम्युनिष्ट आन्दोलनमा लाग्नु भएका सुभाष केही समय माओवादी छाडेर मधेश विद्रोहबाट जन्मेका मधेशी जनअधिकार फोरममा लाग्नु भएको थियो । तर तर थोरै दिनमा उहाँलाई त्यहाँ उकुस मुकुस भयो र फेरि माओवादीमै फर्किनुभयो । उहाँ माओवादीबाट फोरम र फोरमबाट पुनः माओवादीमा फर्काउनुको एउटै कारण हो मधेश । मधेशप्रति उहाँको अगाढ प्रेम रहेको छ । उहाँले मधेशको पहिचान, विकास र समृद्ध चाहनु भएको छ । तर त्यो चाहना उहाँ कुनै पार्टीमा पाउनु भएको छैन । तर उहाँ त्यसको तलास छाड्नु भएको छैन । उहाँले मधेशको समृद्धि र पहिचानका लागि निरन्तर संघर्ष गरिरहनु हुनेछ ।

२०४६ सालको परिवर्तन पश्चात एकात्मक राजतन्त्रको अन्त्य र दलिय व्यवस्थाको शुरुवातबाट आफूले कम्यूनिष्ट भनेको गरिब, दुखी, मजदुर, किसानलगायत सबैको अधिकारको पक्षमा बोल्ने र कमजोर वर्गको संरक्षणमा भूमिका खेल्ने पार्टी भनेर बुझेकाले कक्षा ८ पढ्दै गर्दा उहाँले स्कूल इकाइमा अखिलको सदस्यता लिनु भएको थियो । बाल मस्तिष्कमा त्यो बेला अटाएको कम्यूनिष्ट प्रतिको बुझाई त्यति नै भए पनि त्यसबाट पाएको उर्जा उहाँभित्र अथाह थियो ।

कम्युनिष्ट बन्न प्रेरित

उहाँले भन्नुभयो, ‘२०५१ को मध्यावधि निर्वाचनमा सप्तरी क्षेत्र नम्बर. १ मा काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्न आउनु भएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाउन जाँदा प्रहरीको रोहवरमा काँग्रेसका कार्यकर्ताले हानेको इँटाले मेरो टाउकोमा लाग्दा झण्डै ज्यान गएको थियो । योे घटनाले मलाई झन गहिरिएर कम्यूनिष्ट आन्दोलनमा लाग्न प्रेरित गर्यो ।’ इँटाले टाउकोमा चोट लाग्दा उहाँलाई जटिल उपचार गराउनु परेको थियो । उपचार गराएर फर्केपछि उहाँलाई कम्युनिष्ट बारे अझै जान्न र बुझ्न उत्सुकता जागेको थियो । र उहाँले प्राप्त गरे जति कम्युनिष्ट बारे लेखिएका पुस्तकहरुको अध्ययन गर्न थाल्नु भयो र उहाँले कम्युनिस्ट बारे हुने बहसमा आफूलाई केन्द्रीत गर्नुभयो ।

राजनीतिमा आफूले देखेका सपना, चाहना भनेको दलित, उत्पीडित, महिला, मुस्लिम, मधेशी, आदिवासी, जनजाति र सर्वहारा वर्ग लगायतका हक अधिकार स्थापित गर्नु रहेको थियो, जुन विद्यार्थी राजनीतिबाट सम्भव नरहेको उहाँको बुझाई छ । परिवर्तन चाहनेले पहिले आफूलाई परिवर्तन गर्नुपर्छ भनेर उपयुक्त समयको प्रतीक्षामा उहाँ हुनुहुन्थ्यो ।

माओवादीमा प्रवेश

२०५३ साल राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मोरङ्गबाट आएका माओवादी निकट विद्यार्थी संगठन क्रान्तिकारीका मित्र गोपाल दंगाल (हाल बेपत्ता) सँग उहाँ नजिक हुनुभयो । एकदिन सुभाषले गोपालको डायरीबाट मोरङ्ग क्रान्तिकारीले सप्तरीमा क्रान्तिकारी संगठन निर्माणकालागि लेखिएको पत्र हात पार्नुभयो । त्यही नै उहाँका लागि माओवादी नजिक बन्ने अवसर भयो । गोपाल दंगाल नै माओवादी प्रवेश गराउने उहाँको  गुरु हुनुभएको थियो । त्यतिबेलासम्म माओवादीको चर्चा चुलिइसकेको थियो । गाउँ गाउँमा भुईं मान्छेको विश्वास माओवादी प्रति जागिसकेको थियो । राज्य व्यवस्थावाट जो उपेक्षित, उत्पीडित थिए उनीहरुको हक अधिकार माओवादीवाट मात्र सम्भव थियो भन्ने कुरामा सुभाषलाई पनि विश्वास लाग्न थालेको थियो ।

त्यसका लागि माओवादी जनयुद्धको सफलता अनिवार्य थियो भन्ने कुरा सुभाषको मस्तिष्कमा बसि सकेको थियो । उहाँले भन्नुभयो, ‘तत्कालिन अवस्थामा मधेश राज्यवाट उपेक्षितको अवस्थामा थियो भने मधेशीहरु पहिचान बिहिन अवस्थामा थिए, मधेशको यो समस्याको समाधानका लागि राज्य व्यवस्थामा आमूल परिवर्तन गर्नु नै थियो र त्यसकालागि एकमात्र शर्त थियो माओवादी जनयुद्धको सफलता ।’     यही क्रममा माओवादी जनयुद्धमा समाहित रहेका महेन्द्र पासवान (सिरहा), बलराम तिमल्सिना (सिन्धुली), देवनारायण यादव (मास्टर साहेव) (सिरहा), वेद प्रसाद भट्टराई (कार्यरत सिन्धुली), बिनोद यादव (सप्तरी), राधेश्याम पंडित (सप्तरी) लगायतको सम्पर्कले माओवादी जनयुद्ध र त्यसबाट प्राप्त हुने उपलब्धि बारे राम्रै ज्ञान मात्र प्राप्ती भएन माओवादी जनयुद्धमा लाग्न प्रेरणा र उर्जा समेत उहाँलाई प्राप्त भएको थियो ।

जेल जीवन

त्यसपछि संगठन विस्तारका क्रममा सप्तरीका गाउँगाउँ घुमियो, भुईं तहमा अधिकार र पहिचान बिहिन भई बाँचेका मधेशीको दुःख पीडा नजिकवबाट देख्दा राज्य सत्तासँग विद्रोहको ज्वारभाटा उब्जिन्थ्यो उहाँको मनमा । मधेशको कुना कन्दरामा यसरी शोषित, पीडित भएर बाँच्न बाध्य मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन जनयुद्धको स्वामित्व उनीहरुले समेत नबोकी सम्भव नरहेको ठहर सहित २०५७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, मणि थापाको उपस्थिति र महेन्द्र पासवान नेतृत्व रहने गरी मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन भयो, जसको एउटा सदस्य सुभाष पनि हुनुहुन्थ्यो । यो मोर्चाको उदयले मधेशमा उपेक्षित मधेशीको हक अधिकार स्थापित गरी राज्यमा उनीहरुको पहिचान र अधिकार स्थापित गराउने आशा पलायो, मधेशमा मधेशीको सक्रिय साथ, सहयोग र सहभागिता स्वस्फूर्त जनयुद्धमा बढ्न थाल्यो ।

समयक्रमसँगै देशभरी माओवादीले उत्पीडित जात, जाति, क्षेत्रको स्वायत्त राज्य र जन सरकार घोषणा गर्यो, सप्तरी जनसरकार प्रमुखको जिम्मेवारी सुभाषले पाउनुभयो । जनसरकार प्रमुख भएकै समयमा धनुषामा पक्राउ पनि पर्नुभयो ।  २१ दिनको प्रहरी हिरासत बसाई पछि त्यहाँबाट भाग्न सफल हुनु भएका उहाँ पुनः २०६१ सालमा सिरहामा पक्राउ पर्नुभयो । १८ महिनाको कष्टपूर्ण हिरासत ब्यहोर्दै २०६३ को शान्ति सम्झौता पश्चात रिहा भई खुल्ला राजनीतिमा सक्रिय रहन थाल्नुभयो । सोही वर्ष अन्तरिम व्यवस्थापिका संसदको सदस्य पनि हुनुभयो उहाँ । विभिन्न उतार चढाव र तनावको स्थितिबाट खुला राजनीतिमा त पुग्नुभयो तर मन भने अझै शान्त हुन सकेको थिएन । जुन उद्देश्य साथ माओवादी प्रवेश गर्नुभएको थियो । त्यो अझै पुरा भएको थिएन, मधेशमा मधेशीको समस्या ज्यूँ का त्यूँ थियो, न उनिहरुले अधिकार पाउनु भएको थियो न पहिचान नै ।

२०६४ को आम निर्वाचनमा देशको ठूलो पार्टीका रुपमा माओवादीलाई जनताले रोजेको थियो, ठूलो दलको हैसियतले प्रचण्डको नेतृत्वमा सरकार बन्यो, पार्टी हिजो जनयुद्धकालमा उठान भएको विषय मधेशी, आदिवासी, जनजाती, मुस्लिम, महिला, उत्पिडित वर्ग, क्षेत्र, भाषिक लगायतका मुद्दा सम्बोधन भन्दा पनि सरकार संचालनतर्फ केन्द्रित हुन पुग्यो, जसका कारण पार्टीभित्रै एक किसिमको अन्तरविरोध पनि चर्किन थाल्यो । त्यतिबेला पनि माओवादी पार्टी मधेशको सवालमा झन अनुदार झैं देखिएको थियो । सुभाषले भन्नुभयो, ‘तर बिडम्बना मधेशमा पार्टी हेर्ने जिम्मेबारी मधेशीलाई नदिएर पहाडकालाई दिइयो, जसबाट मधेशको भावना र संवेदना सम्बोधन हुन सम्भव देखिएन र भएन पनि ।’

जसले गर्दा मधेशलाई पार्टीले विश्वास गर्न नसकेको बुझाई व्याप्त हुन पुगेको उहाँको बुझाई छ । उहाँले भन्नुभयो, ‘आम उत्पीडित मधेशीलाई राज्यले पूंँजीबाल मधेशीकै रुपमा बुझिदिंदा त्यसबाट उत्पीडित मधेशी उत्पीडित नै रहने निश्चित थियो । राष्ट्रियताका सवालमा माओवादी पनि राजा महेन्द्रकै पाइलामा हिंडेको देखिन्थ्यो अनि मधेशी मधेशी बीच विभाजन हुने गरी माओवादीले मिथिला, भोजपुरा, अवध, थारु, लगायतका छुट्टाछुट्टै प्रदेश निर्माण गर्नु र अन्तरिम संविधानमा संघियता नसमेटनु दुर्भाग्य भएको ठहर गर्दै नेतृत्वसँग हामीले जनयुद्धको भावना, प्रतिवद्धता पालनाका लागि बारम्बार बहस, पैरवी, अनुरोध गर्न थालें । यति गर्दा पनि पुरा हुन नसके पछि अन्ततः माओवादीमै रहेर मधेशको समस्या समाधान गर्न सकिने छाँट मैले देखिन ।’

 

फोरममा प्रवेश

जुन माग राखेर सुभाषहरु पार्टीभित्र संघर्षरत थिए,ं सोही मागलाई मुद्दा बनाएर मधेशमा अघि बढेको मधेशी जनअधिकार फोरम नामक एनजिओ मधेशको एउटा सशक्त दलको रुपमा उभिएको थियो । माओवादीले तत् समयमा मधेशी नेताका कुरा, मधेशको जनभावना र जनयुद्धको बखत मधेशसँग गरेको प्रतिवद्धता पालनामा इमान्दारिता देखाएको भए देशमा त्यति बेला मधेशी जनअधिकार फोरम भन्ने दलको उदय नै हुने थिएन भनि सुभाषको मात्र होइन, माओवादीकै उपल्ला नेताहरुको पनि बुझाई रहेको छ । माओवादीले जुन मुद्दाको स्वामित्व बोक्नु पर्ने थियो त्यसको पेटेन्ट फोरमको नाममा दर्ता हुन पुगेको उहाँ बताउनु हुन्छ ।

मधेश र मधेशीका सवालमा उदाएको मधेशी जनअधिकार फोरम पार्टीसँग क्रान्तिकारी मुद्दाहरु थिए र त्यसको पालनाकालागि अथाह उर्जा पनि देखिन्थ्यो । मधेशको सवालमा माओवादी शिथिल हुन पुगेको झैं भान हुन थाले पछि १७ वर्ष जिउ, ज्यान समेतको परवाह नगरी आफ्नो लामो संघर्ष, लगानीले निर्माण गरेको घर माओवादी पार्टी परित्याग गरी २०७० मा मधेशी जनअधिकार फोरम नेपालमा उहाँ प्रवेश गर्नुभयो । उहाँ मधेशी जनअधिकरा फोरममा केन्द्रीय स्तरको जिम्मेवारी समेत पाउनुभयो ।  जिम्मेवारी दिने सवालमा माओवादी झै फोरम पनि सुभाषप्रति उदार नै थियो । किनभने उहाँले मधेश र मधेशी प्रति इमान्दारिता छाड्नु भएको थिएन । तर समयको अन्तरालसँगै मधेशको मुद्दाका सवालमा भने फोरम माओवादी भन्दा पनि अनुदार देखिएको उहाँको अनुभव रह्यो ।

सत्ता र कुर्सीको बृत्त वाहेकमा फोरम घुम्न सकेन, पार्टी सिद्धान्त विचार भन्दा बाहुबलीको कोर्ट झैं खेल्ने थलो भयो फोरम । मधेशमा रहेका उत्पिडित लगायतका समस्या समाधानमा झनझन उदासिन बन्दै गएको देखियो फोरम । मधेशीको मुद्दाका भरमा मधेशमा निर्बिकल्प दलको रुपमा आफूलाई चिनाएको दल फोरम पनि अन्ततः सामन्ती र पीडकको संरक्षक हुन पुगेको सुभाषको बुझाई रहेको छ । उहाँले भन्नुभयो, ‘पार्टी भित्रका बाहुबली नेतृत्वहरु मोटाउदै गए भने जनताको आवाज उठाउने र निष्ठाको राजनिती गर्ने म जस्ता धेरै ब्यक्तिरु एक्लिँदै भएको आभाष भयो ।’

फोरमप्रति वितृष्णा

बिचार र राजनीतिको बिचमा सांगठनिक तालमेल नहुनु, विचार भन्दा व्यक्तिले दललाई डोर्याउनु, सत्ता र पार्टी संगठनबीच तालमेल नहुनु आदी जस्ता कारणवाट आफूले हिजो राजनीति सुरुवात गर्दा बोकेको लक्ष्य पुरा हुन नसक्ने देखेपछि फोरमले पनि मधेसी जनताको पहिचान र अधिकारको बर्को मात्र ओढेको रहेछ भन्ने सुभाषले थाह पाउनुभयो  । बाहिर देखेको र सुनेको भन्दा पनि आफूले नभोगी, आफू त्यसमा सरिक नभई कुनै कुराको यथार्तता पत्ता लगाउनु असंभव प्रायः थियो । जुन कुरा उहाँले माओवादी पार्टीमा सक्रिय हुँदा पनि थाह पाउनु भएको थियो । पछि फोरममा आवद्ध भएपछि त्यो कुरामा झन निखारिने मौका उहाँले पाउनु भएको थियो ।

समयचक्रमा घुम्दै जाँदा मधेश र मधेशी जनताको अधिकार र पहिचानका लागि एनजिओको बलमा केही बिकाऊ र देखावटी उद्देश्य राखेर जन्मेको फोरम, जुन सदैव सत्ता र शक्तिको खेलमा मात्र अल्झिरह्यो । त्यो भन्दा राम्रो त जनताको मुक्तिको लागि भनेर संघर्षकै जगमा उभिएको र आफूले लामो समय अफ्नो जीवन दाउमा राखी परिश्रम, पसिना खर्चिएर बनाएको दल माओवादी नै कता कता उत्तम रहेको महसुस हुन थालेपछि सुभाषले जीवन रहेसम्म जुन उद्देश्यका साथ माओवादी क्रान्ति अनि राजनीतिमा होमिनु भएको थियो, पुनः आफ्नो ठाउँबाट इमान्दरिताका साथ लाग्ने प्रण गर्दै उहाँ माओवादीमै फर्कने निर्णय गर्नुभयो  ।

उहाँले भन्नुभयो, ‘यद्यपी मलाई थाह छ, कुनै पनि लक्ष्यमा पुग्न एक्लै संभव छैन, र यो पनि थाह छ, मेरा सहयोद्धा, सहकर्मी साथीभाइ, शुभचिन्तक र नेतृत्व वर्गको विश्वासमा मधेशी जनताको पहिचान र अधिकारको यात्रामा होमीएको मेरो राजनैतिक यात्राले एक दिन अवश्य गन्तब्य पाउने छ । एउटा सत्यलाई स्विकार्ने हो भने वर्गीय मुक्ति बिना जातिय, क्षेत्रिय, लैङ्गिक र धार्मिक लगायतका कुनै पनि मुक्ति सम्भव रहेनछ ।’ २८ वर्षे राजनैतिक यात्रावाट सुभाषले सिक्नु भएको, बुझेको, जानेको र सँगालेको अनुभवले भनेको कुरा के हो भने मधेशी जात, जाति, भाषा भाषी, क्षेत्र, लैङ्गिक अधिकारको प्राप्ती प्रचण्डले नेतृत्व गर्नु भएको माओवादी पार्टीबाट मात्र संभव देखिन्छ भनि सुभाषको बुझाई रहेको छ ।

संविधानसभा चुनाव

सुभाष संविधानसभाको दुईटै चुनावमा भाग लिनुभएको थियो । पहिलो संविधानसभामा सप्तरी क्षेत्र नम्बर १ बाट चुनाव लड्दा उहाँ दोस्रो पोजिसन ल्याउनु भएको थियो । लामो समयपछि चुनावमा भाग लिएको कारण त्यतिबेला माओवादीका थुप्रै मत बदर भएको थियो । त्यसले गर्दा चुनाव हारेको सुभाषको बुझाई छ । दोस्रो संविधानसभा चुनावमा पनि सोही क्षेत्रबाट चुनाव लड्नु भएको थियो । त्योबेला उहाँ तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा हुनुहुन्थ्यो । त्यो चुनावमा उहाँको अवस्था पहिलो संविधानसभाको चुनावभन्दा पनि बिग्रियो । उहाँको स्थान तेस्रो र चौथोमा पुगेको थियो ।

उहाँ २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा भाग लिनुभएको थिएन । दुईटा चुनाव हार्नुभएका सुभाषले पुनः समाजवादीबाट चुनाव लड्ने आँट गर्नुभएन बरु डा.सूर्यनारायण यादवलाई पार्टीमा ल्याएर चुनावमा सहयोग गर्नुभयो र जिताउनुभयो ।

विवाह

सुभाष र लक्ष्मी चौधरीको विवाह २०५९ सालमा भूमीगत अवस्थामा नै भएको थियो । माओवादीका नेता हितमान शाक्य, शेरमान कुँवरलगायतका नेताहरुको उपस्थितिमा उदयपुर जिल्लामा उहाँको विहे भएको थियो । लक्ष्मी चौधरी पनि सप्तरीकै हुनुहुन्छ । उहाँ पनि विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नु भएको थियो । लक्ष्मी चौधरीलाई निदेल साहले राजनीतिमा ल्याउनु भएको थियो । लक्ष्मी चौधरी २०५८ सालमा भूमीगत हुनुभएको थियो । उहाँ भूमीगत भएपछि सुभाषसँग चिनजान भएको थियो ।

दुवैजना एउटै जिल्लाको भएको कारणले उहाँहरुको भेटघाट बाक्लिदै गयो र उहाँहरुको बीचमा प्रेम बस्यो । पछि लक्ष्मी चौधरी साँस्कृतिक फाँटमा काम गर्न थाल्नुभयो । त्यसपछि उहाँहरुको बीचमा भेटघाट पात्लिदै गयो । तर प्रेम कम भएको थिएन, दुरी बढेसँगै प्रेम झन गहिरिदै गइरहेको थियो । अन्ततः दुवैजनाले विहे नै गर्नुभयो । विहे भएकै दिन दुवैजना आआफ्नो कार्यक्षेत्रमा जानु भएको थियो । आठ महिनापछि मात्र दुवैजनाको भेट भएको थियो । सुभाषका १५ वर्षीय पियुष यादव छोरा र १२ वर्षीय नितिका यादव छोरी छन् ।

तपाईको प्रतिक्रिया