कृषिमाथि चिनियाँ आँखा

नेपालको कृषिमाथि चीनले आँखा जमाएर बसेको छ । चीनले नेपालमा गाईपालनदेखि लिएर बीउ विजन उत्पादनदेखि लिएर ठूला ठूला फार्म खोल्ने तयारी गरेको छ । गाई पालनको योजना ल्याएपछि किसान तथा डेरीवालाहरुले त्यसको विरोध गरेपछि अहिले त्यो स्थगित भएको छ भने अन्य कामहरु अगाडि बढेको छ । अहिले नेपालमा चीनका बीउदेखि लिएर रसायनिक मल, औजार सबै पाउन थालेका छन् । कृषि भारतको एकछत्र राज थियो तर पछिल्लो समय चीनले त्यसलाई तोडेको छ । कृषिमा चीनले भारतभन्दा बढी लगानी लगाई सकेको छ ।

चीनले कृषिका विज्ञहरु पठाएर विभिन्न अध्ययनहरु गराई रहेका छन् । भारतले बेलाबेलामा चिया निर्यातमा दुख दिने गरेको कारण नेपाल सरकारले आफ्नो चिया चीन निर्यात गर्ने भएको छ । यति मात्र होइन, नेपालले कागती र प्रशोधित घाँस पनि चीन पठाउन लागेको छ । चिया र घाँस निर्यातका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने पनि तयारी चलिरहेको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कुटनीति पहल गरेपछि चिया निर्यातका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहल सुरु भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

नेपालको चिया चीन निर्यात गर्ने कुरा उठेपछि परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गर्दा चीनले बोर्डलाई सम्झौतापत्रको मस्यौदा तयार गर्न जिम्मेवारी दिएको थियो । सोही अनुसार बोर्डले मस्यौदा तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाइ सकेको छ । चीनले नेपाली चियाको प्रचार प्रसार पनि गर्न लागेको छ । नेपाली ब्राण्डका चियालाई त्यहाँ विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने भएको छ । यसअघि भारत हुँदै नेपाली चिया चीन जान्थ्यो, नेपाली चियालाई चीनले मन पराएको छ, अब भारत हुँदै होइन, नेपालले सिधै चीन निर्यात गर्ने बोर्डले जनाएको छ । नेपालबाट निर्यात भएको चियालाई भारतले विभिन्न ब्राण्डमा प्याक गरि चीनलगायत विभिन्न देशलाई बेच्ने गरेको छ । त्यसमा भारतको प्रमुख बजार चीन नै रहेको छ ।

हाल भारतले ३० लाख केजी भन्दा बढी नेपाली चिया चीनलाई निर्यात गरिरहेको छ । नेपालको चिया चीन निर्यात गर्नका लागि विगत एक वर्षदेखि पहल भइरहेको थियो । अहिले आएर बल्ल प्रकृया अगाडि बढेको छ । मन्त्रालयले मस्यौदा हेरिसकेपछि कुटनीतिमार्फत चीनलाई पठाईने छ, चीनले त्यसमा ओके गरेपछि दुई देशबीच हस्ताक्षर हुनेछ । त्यस्तै, मंसिर १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रशोधित घाँस चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गरेको छ ।

यो स्वीकृतिसँगै घाँस चिन निर्यात गर्ने बाटो खुलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.कुमार सञ्जेलले अब नेपालको प्रशोधित घाँस चीन जाने भयो, यसका लागि धेरै पहिलादेखि प्रयास भइरहेको थियो तर अहिले आएर मन्त्रीपरिषद्ले प्रोटोकल स्वीकृत गरेको बताउनुभयो । चीनले एक डेढ वर्ष अगाडि नै नेपालबाट घाँस लैजाने तयारी गरेको थियो । त्यसको लागि चितवनमा एउटा किसानलाई भनेर घाँस पनि उत्पादन गराउन लगाउनु भएको थियो । किसानले घाँस प्रशोधन गरी तयारी अवस्थामा राखेको थियो । तर चीनले कोरोनाको बहाना बनाएर त्यो घाँस उठाएन । तर नेपालले तोकेको मापदण्ड चीनले पुरा नगरेको कारण त्यो घाँस लग्न सकिरहेको थिएन । चितवनको त्यो घाँस त्यतिकै खेर गयो ।

नेपालले तय गरेको मापदण्ड अर्थात प्रोटकलको विषयमा नेपाल र चीनबीच पटक पटक कुराकानी भयो । त्यसले गर्दा सम्झौताका लागि समय लागेको मन्त्रालयले जनाएको छ । यसअघिका कृषि मन्त्री पदमा अर्यालको पालामा पनि प्रोटोकल स्वीकृतिका लागि मन्त्रीपरिषद्मा प्रस्ताव गरिएको थियो । त्यतिबेला स्वीकृत हुन सकेको थिएन । अहिलेका वर्तमान कृषि मन्त्री महिन्द्रराय यादवले मन्त्रीपरिषद्बाट स्वीकृत गराउनु भएको हो । सरकारले स्वीकृत गरेको प्रोटकल चीन पठाइने छ । चीनले त्यसलाई स्वीकृत गरेपछि दुई देशबीच हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

चीनसँग छलफल गरेर नै प्रोटोकल तयार गरिएको हो, औपचारिकताका लागि एकपटक चीन पठाउने हो, प्रवक्ता सञ्जेलले भन्नुभयो, चीनले एकपटक हेरिसकेपछि हस्ताक्षरका लागि प्रकृया सुरु हुन्छ ।’

तपाईको प्रतिक्रिया