‘हाइट’ खोज्ने तर ‘रिस्क’ नलिने

राजनीतिमा ‘हाइट’ खोज्ने तर ‘रिस्क’ नलिने एक नेता हुनुहुन्छ ह्रदयश त्रिपाठी । उहाँ नयाँ पार्टी गठन गर्ने तयारीमा लाग्नु भएको छ । त्यसै सिलसिलामा उहाँ भारतको भ्रमण सकाएर पनि आउनु भएको छ । नयाँ पार्टीको बारेमा सरसल्लाह गर्नका लागि उहाँ दिल्ली जानु भएको स्रोतले जनाएको छ । त्यहाँ गएर उहाँले मंसिर २ गते भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन शिंङलालाई भेट्नु भएको थियो । त्यसबाहेक उहाँ भारतीय जनता पार्टीका अन्य नेतलाई भेटघाट गर्नुको साथै अन्य उच्चस्तरीय भेटघाट गरेर उहाँ नेपाल फर्कि सक्नु भएको छ ।

उहाँ नेपाल फर्केर नयाँ पार्टी खोल्ने तयारीमा जुट्नु भएको छ । उहाँले नयाँ पार्टी नखोलिकन पनि कुनै पार्टीमा गएर राम्रै पदमा बस्न सक्नु हुन्छ । तर त्यतिकै गएर पद पाउनु र एउटा हैसियत बनाएर पद लिनु फरक हो भन्ने कुरा राम्री बुझ्नु भएका त्रिपाठी आफ्नो पार्टी गठन गरेर अरु कुनै पार्टीसँग एकीकरण गरेपछि सो पार्टीमा बराबरको हैसियत पाइन्छ भनि बुझाई उहाँको छ । र, त्यसको तयारीमा लाग्नु भएको छ । स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेको चुनाव चिन्हबाट प्रतिनिधिसभा चुनाव जित्नु भएका त्रिपाठी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँ मन्त्री पनि बन्नुभयो । अहिले मन्त्री पदबाट हटेपछि अगामी चुनाव कसरी जित्न सकिन्छ भनि त्यसको ‘जोगाड’ मा लाग्नु भएको छ ।

राजपामा हाइट
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल बनाउनमा मुख्य भूमिका खेल्नु भएका त्रिपाठीले त्यहाँ आफ्नोे हाइट अनुसारको पद नपाएपछि सो पार्टी छाडेर राजनीतिक समूह खोल्नु भएको थियो । छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । राजपामा छजनाको एउटा अध्यक्षमण्डल थियो । त्यो अध्यक्षमण्डलमा उहाँ अटाउनु भएन । आफ्नो कार्यकर्ता मान्ने राजेन्द्र महतो अध्यक्षमण्डलमा बस्ने र आफू उहाँको मुनी सदस्य वा पदाधिकारी भएर बस्ने कुरा कदापी स्वीकार हुँदैन भनि राजपा नेपाल छाड्नु भएको थियो । उहाँले राजपामा असहमति जनाएपछि उहाँलाई अध्यक्षमण्डलको आमन्त्रित सदस्य बनाइएको थियो तर उहाँले त्यसलाई स्वीकार गर्न सक्नु भएन, उहाँलाई अध्यक्षमण्डलको सदस्य नै चाहिएको थियो । त्यो सम्भव भएन ।

र, विद्रोह गरेर त्यहाँबाट निस्कुनु भयो र छुट्टै समूह पनि खोल्नुभयो । सो समूहबाट उहाँले एमालेको सूर्य छाप लिएर चुनाव पनि जित्नुभयो । मन्त्री पनि बन्नुभयो । मन्त्री भएको बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता त्रिपाठीलाई पार्टीमा आउन पटक पटक आग्रह गर्नु भएको थियो । उहाँ एमालेमा गएको भए राम्रै पद पाउनु हुन्थ्यो तर उहाँको मन मानेनन् । एमालेभित्र आफै कलह छ । माओवादी छाडेर गएकाहरुको हालत खराब छ, एमालेकै कतिपय नेताहरु पदका लागि दौड लगाइ रहेका छन् । त्यस अवस्थामा त्यहाँ गएर पेन्डुलम बन्नु भन्दा आफ्नै समूहमा बस्नु नै बेस हुने भनि उहाँले त्यो ‘रिश्क’ लिन चाहनु भएन ।

सरकारमा हाइट
गत जेठमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा स्वास्थ्य मन्त्रालयबाट हटाइएका त्रिपाठीलाई अर्को कुनै मन्त्रालयको जिम्मेवारी दिन चाहनु भएको थियो । तर त्रिपाठीले स्वीकार गर्नुभएन । सो सरकारमा राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेल उपप्रधानमन्त्री बनेपछि उहाँ सरकारमा सहभागी हुनुभएन । आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै त्रिपाठीले ओलीको मन्त्री पद अस्वीकार गर्नु भएको थियो । उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफूले मन्त्री पद अस्वीकार गरेको प्रतिकृया उहाँले त्यतिबेला दिनुभएको थियो ।

यदि उहाँ चाहेको भए एउटा कुनै राम्रै मन्त्रालय लिएर बस्न सक्नु हुन्थ्यो । तर उहाँले ‘रिश्क’ लिनु भएन । जुनियरहरु उपप्रधानमन्त्री बन्ने र आफू मन्त्री मात्र भएर नबस्ने अडानका साथ उहाँले मन्त्री पद खानु भएन । त्यतिबेला रघुवीर महासेठ र विष्णु पौडेल मात्र भइ दिएको भए उहाँ मान्नु पनि हुन्थ्यो तर त्यहाँ राजेन्द्र महतो पनि उपप्रधानमन्त्री बन्नुभयो । जसलाई उहाँले सुरुदेखि नै आफूभन्दा जुनियर मान्नुहुन्छ । उहाँले राजेन्द्र महतोको मुनी बसेर काम गर्न मान्नु भएन ।

लोसपामा हाइट
उहाँलाई लोसपामा ल्याउने प्रयास पटक पटक भएको हो । उहाँ पनि महन्थ ठाकुरको साथमा बसेर काम गर्ने इच्छा देखाइ रहनु भएको छ तर महन्थ ठाकुरका सकेण्डम्यान राजेन्द्र महतो हुनुहुन्छ, त्यहाँ गएर थर्ड म्यान, फोर्थ म्यान भएर उहाँ ‘रिश्क’ लिन चाहनु भएन । उहाँ महन्थ ठाकुरपछिको नेता बन्न चाहनु भएको छ । उहाँले सो पार्टीमा महन्थ ठाकुरबाहेक अरु कसैलाई नेता मान्न तयार हुनु भएको छैन । उहाँ आफ्नै पार्टी बनाएर सिधै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग एकीकरण गरेपछि पार्टी अध्यक्षको हैसियतामा उहाँलाई पद दिन बाध्य हुनेछ । दुई पार्टीबीच एकीकरणको बाहानामा उहाँ लोसपामा आफ्नो हाइट लिने दाउमा रहनु भएको लोसपाका नेताहरु बताउँछन् । तर लोसपाका नेताहरुले त्यतिकै उहाँलाई स्वीकार गर्ने अवस्थामा छैनन् ।

जहिले सकेण्डम्यान
भैरहवाको एक कार्यक्रममा २०४७ जेठ २६ गते तत्कालिन नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभएका त्रिपाठी लगातार २७ वर्ष मधेशको राजनीतिमा रहनु भयो । २७ वर्षको अवधिमा तीनपटक मन्त्री बन्नु भएका उहाँ पछिल्लो समय अ‍ोली सरकारमा पनि स्वास्थ्य तथा जनसँख्या मन्त्री बन्नुभएको थियो । उहाँ पार्टीको ठूलो ठूलो पदमा जानु भयो । चार पटक मन्त्री बन्नुभयो । तर उहाँले आफैले कहिले पार्टीलाई नेतृत्व गर्न चाहनु भएन । अहिले एउटा समूहको संयोजक हुनु भएको छ, त्यसलाई कहिले अवतरण गराई हालौं भनि सोचमा पुगि सक्नु भएको छ । त्यो समूह पनि उहाँलाई भारी भएको छ । उहाँ अहिले जुन पार्टी बनाउने कुरा गर्नुभएको छ । त्यो पार्टी बनाएर तत्कालै कुनै दलसँग एकीकरण गर्ने तयारी उहाँको छ ।

उहाँ मधेश राजनीतिमा जहिले पनि ‘सकेण्डम्यान’ बनेर रहनु भयो तर नेतृत्वको साँचो आफ्नै हातमा राख्नुभयो । चाहे गजेन्द्रनारायण सिंह होस् या आनन्दी देवी । चाहे महन्थ ठाकुर होस् या रामेश्वर राय यादव । उहाँ जहिले पनि सकेण्ड म्यान रहेरअर्काको काँधमा बन्दुर राखेर पड्काउनु भयो । उहाँ भन्दा पछि राजनीतिमा आएकाहरु पार्टीका अध्यक्ष भएर कहाँबाट कहाँ पुगि सके तर उहाँ अझै पार्टीको नेतृत्व गर्ने हिम्मत गरिरहनु भएको छैन ।

त्यसैले मधेश राजनीतिमा त्रिपाठीलाई चतुर र बौद्धिक नेताका रुपमा मानिन्छ । पार्टीमा जहिले पनि ‘हाइकमाण्ड’ को वरिपरी रहने उहाँलाई ‘हाइकमाण्ड’ सँग कुरा नमिल्ने बित्तिकै पार्टी छाडेर हिड्ने वा अर्कै समूह बनाउने उहाँको इतिहास छ । तत्कालिन सद्भावना पार्टीका पुराना नेता श्यामसुन्दर गुप्ता भन्नुहुन्छ, ‘गजेन्द्रनारायण सिंहले एक होनहार नेताको रुपमा त्रिपाठीजीलाई पार्टीमा ल्याउनुभयो, तर गेन्द्रनारायण सिहलाई जीवनभरी उहाँले दुःख दिनुभयो ।’

तत्कालिन सद्भावना पार्टीका पुराना नेतामध्येका एक खुशीलाल मण्डलले भन्नुभयो, ‘गजेन्द्रनारायण सिंहले त्रिपाठीलाई पार्टीमा ल्याउँदा पश्चिमका नेताहरु रिसाएका थिए । त्रिपाठीलाई पार्टीमा लिनुहुँदैन भनि व्यापक विरोध भएको थियो तर उहाँले ती नेता तथा कार्यकर्तालाई थामथुम पारेर उहाँलाई साथमा राख्नुभएको थियो ।’ तर गजेन्द्रनारायण सिंहलाई कहिले उहाँले नेताको जस्तो व्यवहार गर्नुभएन । मौका आएपछि गजेन्द्रनारायण सिंहलाई धोका नै दिनुहुन्थ्यो ।

पहाडी समुदायसँग उठ बस
जमिनदारकै रुपमा नवलपरासीबासीले चिनेका त्रिपाठीलाई थारु समूहले पटक्कै मन नपराउने राजपाकै नवलपरासीका एक नेता बताउँछन् । पहाडीहरुसँग मिलेर थारुलाई दमन गर्ने काम उहाँको पुर्खाले गर्नुभएको थियो । तत्कालिन नेपाल सद्भावना पार्टीमा आउनुभन्दा पहिले उहाँको बसउठ पहाडी समुदायसँग बाक्लै थियो । जसले थारुलाई दासका रुपमा प्रयोग गरिरहेका थिए । तत्कालिन नेपाल सद्भावना पार्टीमा लिँदा त्यहाँका थारु नेताले आफूहरुमाथि दमन गर्ने नेतालाई पार्टीमा लिएमा आफूहरुले पार्टी छाडेर हिड्ने चेतावनी समेत दिएका थिए । तर त्यो कुरालाई पनि गजेन्द्रनारायण सिंहले बेवास्ता गर्नुभएको थियो । जनकपुरको पहिलो अधिवेशनबाट केद्रीय सदस्य बन्नु भएका त्रिपाठीले २०४८ सालको आम चुनावमा संसदमा जित्नु भएको थियो । त्यसपछि ५१ सालमा भएको मध्यावधि चुनावमा पनि उहाँ संसदको चुनाव जित्नु भएको थियो । २०४८ सालको चुनावमा तत्कालिन नेपाल सद्भावना पार्टीले सात सांसद जितेका थिए भने मध्यावधिमा तीन सांसद जितेका थिए ।

समाजवादी गठन
तत्कालिन नेपाल सद्भावना पार्टीबाट २०५४ सालमा लेखा समितिको सभापति बन्न उहाँ चाहनु भएको थियो । तर गजेन्द्रनारायण सिंहले काँग्रेससँग मिलेर अनिस अन्सारीलाई सभापतिका लागि प्रस्ताव गरेपछि त्रिपाठीले हाल माओवादी केन्द्रमा रहनु भएका रामेश्वर राय यादवको नेतृत्वमा समाजवादी पार्टी गठन गरेर नेपाल सद्भावना पार्टीबाट अलग हुनुभएको थियो । त्यसपछि उहाँले एमालेको सहयोगमा सभापतिमा उम्मेदवारी दिनु भएको थियो । त्यतिबेला एमालेको सरकार थियो । त्रिपाठीले उम्मेदवारी दिएपछि गजेन्द्रनारायण सिंहले उहाँलाई कारवाही गर्नुभएको थियो ।

मनमोहनले फेरि मध्यावधि चुनाव गराउन चाहनु भएको थियो तर अदालतले रोकेको थियो । यदि मध्यावधि चुनाव भएको भए त्रिपाठीले समाजवादी पार्टीलाई एमालेमा मिलाएर चुनावमा भाग लिने सोच बनाउनु भएको थियो तर त्यतिबेला चुनाव हुन सकेन । त्यतिबेलाका नेताहरु भन्नुहुन्छ, लेखा समितिको सभापति हुँदा त्रिपाठीले गजेन्द्रनारायणा सिंहलाई धेरै दुख दिनु भएको थियो । त्यतिबेला गजेन्द्रनारायण सिह उद्योग मन्त्री हुनुहुन्थ्यो । त्रिपाठीले उहाँलाई पटक पटक समितिमा बोलाएर सोधपुछ गर्दै दुख दिनुभएको कुरा अहिले पनि बेलाबेलामा चर्चा हुने गरेको छ ।

नेपाल सद्भावना पार्टीमा तीनजना सांसद मात्र थिए त्यसमध्ये त्रिपाठी मात्र एक्लै अलग हुनुभएको थियो । नियमअनुसार ४० प्रतिशत सांसद लिएर मात्र पार्टी विभाजन गर्न पाइन्छ नभए संसद पद पनि जान सक्छ । त्यो कुरा थाहा पाएर त्रिपाठी पुनः गजेन्द्रनारायण सिंहसँग मिलेर तत्कालिन नेपाल सद्भावना पार्टीमा फर्किनु भएको थियो ।

फेरि अर्को सद्भावना
२०५८ माघ १० गते गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी छिन्नभिन्न भयो । बद्री मण्डललाई कार्यवाहक अध्यक्ष बनाइएको थियो । मण्डल कार्यबाहक अध्यक्ष बन्ने वित्तिकै उहाँ राजा निकट भएर ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्री बन्नुभएको थियो । त्यसको निकै विरोध भएको थियो पार्टीमा । राजविराजमा महाधिवेशन हुँदा बद्री मण्डललाई पार्टीबाट निकाल्ने कुरा भएको थियो तर त्यतिबेला बद्री मण्डल शाही सरकारमा भएको कारणले उहाँ सबैमाथि भारी पर्नु भएको थियो । त्रिपाठीहरुले बद्री मण्डललाई पार्टीबाट निकाल्न सक्नु भएन । अनि त्यहाँ एउटा नयाँ पार्टी बनाउने सोच बन्यो ।

त्रिपाठीले गजेन्द्रनारायण सिंहका श्रीमती आनन्दी देवीलाई अध्यक्ष बनाएर अर्को पार्टी गठन गर्नुभयो । त्यसमा हृदयश त्रिपाठीसहित भरतविमल यादव, राजेन्द्र महतोलगायतका नेताहरु रहनु भयो । हुन त भारत विमल, राजेन्द्र महतोहरुले नेपाल सद्भावना पार्टी (गजेन्द्रनारायणं) नामको पार्टी खोल्नुपर्ने पक्षमा हुनुहुन्थ्यो । तर त्रिपाठी त्यसका लागि तयार हुनुभएन । गजेन्द्रनारायण सिंहको नाम जोडेर पार्टी बनाउँदा अध्यक्ष को बन्ने लफडा हुन्थ्यो । या आफू बन्नु पथ्र्यो वा अरुलाई सार्नु पथ्र्यो । त्यो कुरा त्रिपाठीलाई स्वीकार थिएन । त्यसैले उहाँ आनन्दी देवीलाई सार्नुभयो । आनन्दी देवी अनपढ हुनुहुन्थ्यो । त्यसलाई मज्जाले प्रयोग गर्न सकिन्छ भनि सोचले त्रिपाठी उहाँलाई अध्यक्ष बनाउनुभयो ।

र त्यसैको आडमा उहाँ २०६२ पछि बनेको सरकारमा मन्त्री बन्नुभयो । त्रिपाठीले मन्त्री पदबाट राजिनामा नदिएको कारण मधेश आन्दोलन सद्भावना पार्टीको हातबाट गएको आरोप उहाँमाथि लाग्दै आएको छ । मधेश आन्दोलनभन्दा पहिले नेपालगञ्जमा भएको आन्दोलनको समयमा त्रिपाठी मन्त्री थिए तर पार्टीले उनलाई मन्त्रीबाट राजिनामा दिन निर्देशन दिएपनि उहाँले राजिनामा नदिएको कुरा अहिले पनि राजेन्द्र महतोहरुले भन्दै आउनु भएको छ ।

तमलोपा गठन
मधेश आन्दोलन चलिरहेकैबेला त्रिपाठीले तत्कालिन नेपाल सद्भावना पार्टी छाडेर महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्नुभयो । सो पार्टीमा पनि उहाँ शक्तिशाली बनेर बस्नुभयो । सो पार्टीको हर्ताकर्ता नै त्रिपाठी बन्नुभयो । महन्थ ठाकुरको काँधबाट उहाँले बन्दुक चलाउनु हुन्थ्यो । त्यो पार्टीबाट पनि मन्त्री बन्नुभएको थियो ।

एकपटक राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टी, उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम र महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा बीच एकीकरण गर्ने सहमति अन्तिम चरणमा पुगेको थियो । तर त्रिपाठीले नै हुन नदिएको आरोप उहाँमाथि छ । उहाँले सो एकीकृत पार्टीमा आफ्नो ठाउँ खोजि रहनु भएको थियो । तर खोज्दै जाँदा उहाँले आफूलाई राजेन्द्र महतो र लक्ष्मणलाल कर्णभन्दा तल पाउनु भयो त्यही भएर उहाँले आफू राजेन्द्र महतोको तल बस्न नसक्ने जवाफ महन्थ ठाकुरलाई दिनु भएको थियो अन्ततः एकीकरण हुन सकेन ।

एमालेसँग सम्बन्ध
त्रिपाठी अहिले आफ्नो छुट्टै समूह बनाए पनि सांसद एमालकै हुनुहुन्छ । उहाँलाई एमालेको ह्वीप लाग्छ । एमालेका अध्यक्ष ओलीले चाहे भने उहाँलाई सांसद पदबाट जुनसुकै बेला पनि हटाउन सक्नुहुन्छ । त्यही भएर उहाँ एमालेसँग कुनै दुश्मनी लिन चाहनु भएको छैन । एमालेसँग उहाँको सम्बन्ध आजको मात्र होइन । उहाँको राजनीतिको यात्रा कम्युनिष्ट पार्टीबाट नै सुरु भएको हो । उहाँ वाम राजनीतिमा सक्रिय रहेको बेल ग्रिन डेमोक्रेटिक पार्टी पनि गठन गर्नुभएको थियो । सो पार्टीबाट उहाँ गतिविधि सञ्चालन गर्दै आइरहनु भएको थियो ।

पछि सो पार्टीलाई अलपत्र छाडेर उहाँ तत्कालिन नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभएको थियो । ग्रीन डेमोक्रेटिक पार्टी गठन गर्नुभन्दा पहिले उहाँ मनान्धर समूहको कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो । विद्यार्थी संगठनबाट राजनीतिक गर्नुभएका उहाँ त्यो भन्दा अगाडि जान सक्नु भएन । रुस पढन् गएको बेला उहाँ उतैबाट कम्युनिष्ट बनेर आउनु भएको थियो । पढाई सकेर नेपाल फर्केपछि उहाँ रसियन ग्रुपको कम्युनिष्टतिर लाग्नु भएको थियो । र रसियन दूतावासको आडमा नै ग्रीन डेमोक्रेटिक पार्टी खोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया