रामसीताको मटकोर विधि सम्पन्न

धनुषा मंसिर २१ गते । धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको पाचौँ दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि मनाइएको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट दिउँसो राम र सीताको प्रतीक बालकसहितको झाँकी नगर परिक्रममा गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक गङ्गासागरमा पुगेर दिउँसो मिथिलाको परम्पराअनुसार राम र जानकीको मटकोर गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

मटकोरमा प्रसादका रूपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गरिएको छ । विवाहको शुद्धीकरणका लागि मटकोर गर्ने धार्मिक परम्परा रहेको छ । आज मटकोटर सकिएपछि भोलि बुधबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाहको कार्य गरिने महन्थ वैष्णवले बताउनुभयो ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो शुक्रबार नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन हिजो (सोमबार) तिल्कोत्सव सम्पन्न भइसकेको छ । भोलि विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुने छ । त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

राजा जनककी छोरी सीता र भगवान् रामसँग भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको मानिन्छ ।

रामायणमा उल्लिखितअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको मान्यता रहिआएको छ । सीतालाई छोरी बहिनीका रूपमा मान्ने मिथिलावासी, महोत्सवमा देवीदेवताको शरीरको सहभागिता नभए पनि अदृश्य रूपमा उपस्थित हुने जनविश्वास छ ।

यसैबीच विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुहरुको ठूलो घुइँचो लागेको छ । जानकी मन्दिरमा पूजापाठ र रामसीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मुलुक भारतबाट श्रद्धालुहरु आएका छन् । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुहरुले दर्शन गर्ने अनुमान गरिएको छ ।

विवाहपञ्चमीका अवसरमा हुने भीडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुमा तीन दिन बिदा दिएको छ । प्रदेश २ सरकारले पनि भोलि बुधबार एक दिनका लागि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीका अवसरमा हुने भीडभाडमा आपराधिक घटनाहरु हुन नदिन र शान्तिसुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया