‘फगुनिया’ प्रथम

टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु फिल्म ‘फगुनिया’ प्रथम भएको छ । फगुनिया फिल्मको निर्देशक सरिता साहले २५ हजार रुपियाँ पुरस्कार स्वरुप प्राप्त गर्नुभएको छ । त्यस्तै पुष्पा जोशी र एन्जेला चौधरीको ‘ललिता’ ले दोस्रो तथा श्रृषा कुँवर र अस्मिता लावतीको ‘समाइरा’ ले तेस्रो स्थान हासिल गरेका छन् ।

उहाँहरुले क्रमशः १५ हजार, १० हजार प्राप्त गर्नुभएको छ । त्यस्तै ब्रिटिश काउन्सिलको सहयोगमा आयोजित प्रतियोगितामा सोनाम छेके लामाको ‘द माउण्टेन आर एङग्री’ ले जलवायु परिवर्तन विधामा २५ हजार रुपियाँसहित उत्कृष्ट स्थान प्राप्त ग¥यो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सिलसिलामा आयोजित लघुचलचित्र प्रतिस्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ लघुचलचित्र प्रस्तुत गरिएको थियो ।

चलचित्रका निर्माता, निर्देशक, निर्णायकमण्डल, आइवार्ट समूहका सीमित सहभागीका बीच प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिएको हो । वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईं, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनका प्रमुख निर्माता तथा आइवार्ट नेपालका सचिव नीता सापकोटालगायत निर्णायक टोलीले कथा, निर्देशन÷सन्देशका आधारमा चलचित्र मूल्याङ्कन गरेको थियो ।

सरिता साहको निर्देशनमा बनेको फिल्म ‘फगुनिया’ मा मधेशी समाजमा एक बालिकाको बलात्कारपछिको घटनालाई देखाइएको छ । निर्देशक सरितासँगै फिल्ममा जानवी गुप्ता, मदन ठाकुर, प्रदीप सिंह, धिरज ठाकुर र सुजिता साहको अभिनय रहेको छ । गाउँमा सांस्कृतिक कार्यक्रममा आमा गएको बखत आफ्नो घरमा एक्लै रहेकी बालिकाको बलात्कार हुन्छ । तर, त्यो हिंसाको कारण उनकी आमालाई बनाइन्छ । घरमा नबसेर लापरबाही गरेको भन्दै उनीमाथि नै छोरीसँग भएको त्यो दुस्कर्मको आरोप थोपरिन्छ । जो त्यो अपराधमा संलग्न छ, उसलाई सार्वजनिक गर्दा इज्जत जाने भन्दै परिवारले नै त्यो घटनालाई लुकाउन खोज्छ ।

यो फिल्ममा बलात्कारलाई चित्रण गरिने चलनलाई प्रस्तुत गर्नुका साथै एक आमाले न्यायका लागि परिवारदेखि सामाजसम्म लडेको कथालाई देखाइएको छ । आफ्नी छोरीमाथि भएको हिंसा र त्यसपछिको उसको नाजुक अवस्थाबीच आफ्नो परिवार आफू विपरित हुँदा उनले कसरी न्यायका लागि परिवारको विपरितमा गएकी छिन् भन्ने कथा फगनियामा देखाइएको छ । तराई मधेशमा छोरीमाथि गरिने भेदभावको कुरालाई पनि सो फिल्ममा उजागर गरिएको छ ।

तपाईको प्रतिक्रिया