प्रदेश २ को काँग्रेसमा कृष्ण यादव विजय

धनुषा पुस ९ गते । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुन्छ भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ ।

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया