मधेशलाई विभाजन गर्ने बीउ नछरौं (फरकमत)

–सुरेशकुमार मण्डल
यतिखेर प्रदेश २ मा प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । प्रदेश २ को नाम के राख्ने हो, त्यहाँको राजधानी कहाँ हुने हो भनि चासो राष्ट्रिय चासो बनेको छ । प्रदेशसभामा पनि यसको बहस जारी छ । संघीयताको नेतृत्व गर्ने प्रदेश २ को सफलता असफलतामाथि सिगों संघीयताको सफलता असफलता निर्भर छ । त्यसैले दुनियाँभरिका संघीयताप्रेमी तथा संघीयता विरोधिहरू सबैको नजर प्रदेश २ माथि नै छ । त्यसकारण यस प्रदेसको प्रस्तुती, प्रक्रिया र परिणामले नै यो मुलुकमा संघीयताको औचित्य छ कि छैन भन्ने सावित गर्नेछ । यस्तो चुनौतिपूर्ण र जटिल परिस्थितिका बीच प्रदेश २ का सरकार, सत्तारुढ दल, प्रतिपक्ष, राष्टभक्त कर्मचारी र आमजन समुदायले समेत सकारात्मक भएर काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

मधेसी जनताको लामो संघर्ष र बलिदानी स्वरूप देशले संघीयता पाएको छ । यद्यपि मधेसी जनताको चाहना अनुसारको संघीयता देशले पाएको छैन । त्यसका निम्ति थप संघर्षको आवश्यकता देखिन्छ । राज्य अभैm संघीयताप्रति र खासगरी मधेसी जनसमुदायप्रति इमान्दार देखिएको छैन । संघीयताअन्तर्गत राज्यपुनर्संरचनाका निम्ति बनाएको न्युनतम मापदण्ड पहिचानका पाँच तत्व र सामथ्र्यका चार तत्वलाई समेत राज्यले वेवास्ता गरेको छ । राज्यको तर्फबाट नै संघीयताको स्वरूपलाई विकृत र विभेदपूर्ण बनाउने काम भयो । पहिचान र सामथ्र्यका आधारमा बढीमा दुई प्रदेशसम्म हुने मधेशलाई छ टुक्रामा विभाजन गरियो ।ं प्रदेश दुई बाहेक बाँकी पाँचवटा प्रदेशमा मधेसीलाई सत्ता सञ्चालनबाट बञ्चित गरियो ।

काँग्रेस र नेकपा एमालेले पनि तत्काललाई पक्ष विपक्ष नहेरी संघीयताको यस शुरूवाती घडीमा संघीयतालाई संस्थागत गर्न एकमत र एकजुट भई अगाडी बढनु पर्नेछ किनभने भोली गएर मधेश असफल भयो भने सम्पूर्ण मधेशी जनसमुदायमाथि असफलताको ट्याग लाग्ने छ । यहाँ सबाल खाली जसपा र लोसपाको सफलताको मात्र छैन । सम्पूर्ण मधेस र मधेसी जनसमुदायको छ । तसर्थ साझा संकल्पको रूपमा संघीयतालाई सफल बनाउने प्रण गरौंं । अहिले प्रदेस २ को प्रदेश सभमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव दर्ता भएको छ । यससँगै प्रदेशसभामा गरमा गरमी बहस र छलफल जारी छ ।

सात प्रदेशमध्ये पाँचवटा प्रदेशले आफ्नो नामाकरण र राजधानी तय गरिसकेको छ । मात्र प्रदेस १ र प्रदेश २ ले नाम तथा राजधानी तोक्न सकेको छैन । यसबारे बिगतमा निकै बहस, छलफल र निर्वाचन प्रक्रियामा समेत गएको तर सफल हुन नसकेको अति विवादित र संवेदनशील विषय हो । ऐतिहासिक पृष्ठभूमिको आधारमा विगतमा मिथिला, सिम्रौनगढ जस्ता नाम रहेको पाईन्छ । माओवादी जनयुद्धका बेला माओवादीहरूले राज्यपुनर्संरचना गर्दा यस भु–भागलाई भाषाको आधारमा मिथिला–भोजपुरा भनेर नामाकरण गरेको थियो । ऐतिहासिक मधेश बिद्रोह र त्यसपछिका मधेश आन्दोलनहरूले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको २२ जिल्लालाई मधेश भनेरै नामाकरण गरेको हो । जुन निकै नै स्थापित नाम हो ।

राज्यपुनर्संंरचना आयोगको बहुमतको प्रतिवेदनले नारायणीदेखी पूर्व झापासम्म पूर्वी मधेस र नारायण्ीदेखि पश्चिम कञ्चनपुरसम्मको भु–भागलाई पश्चिमी मधेस थरुहट भनि नाम सिफारिस गरेको थियो । हाल केही युवा अभियन्ताहरूले यस प्रदेश २ को नाम मध्यमधेस प्रदेश राख्नुपर्छ भनिरहेका छन् । तर मधेश बिद्रोह, मधेश आन्दोलन दोस्रो र तेस्राको सबभन्दा लोकप्रिय नारा मधेश प्रदेश नै थियो । मध्य मधेस आयातित र अपरिपक्व चिन्तन हो । यसको नाममा मधेशको इतिहास भुगोल नबिगारौं । मधेशलाई बिभाजन गर्ने बीउ नछरौं । जहाँसम्म पूर्वका झापा, मोरङ्, सुन्सरी र पश्चिमका परासीदेखि कञ्चनपुरसम्मको मधेशको भुगोलको सबाल छ, हामी त्यसका निम्ति थप संघर्ष गरौं । जसपाले अघि सारेको दश जोड एकको राज्यपुर्नसंरचनाको खाकामा एकमत होऔं वर्तमान राजनीतिकको सबभन्दा स्थापित शबदावली मधेश हो । त्यसकारण वर्तमान प्रदेश २ को नाम सर्वसम्मतिबाट ‘मधेश प्रदेश’ राख्नु नै सम्पूर्ण मधेश र मधेशी जनसमुदायको लागि श्रेयकर र हितकर देखिन्छ ।

प्रदेश २ को हाल अस्थायी राजधानी जनकपुरलाई तोकिएको छ । जनकपुरलाई राजधानी तोक्ने बित्तिकै वीरगञ्जमा आन्दोलन चर्कियो । त्यसलाई बुद्धिमानीपूर्वक मधेशवादी दल र नेतृत्वले मुख्यमन्त्री, सभामुख, संसदीय दलका नेता लगायत महत्वपूर्ण पद तथा जिम्मेवारीहरू दिएर तत्काललाई सामसुम पारे । तर स्थायी राजधानी तोक्नेबेलामा यस्ता संवेदनशील सवालहरूमा उत्तेजित नभई संयमित भएर सर्वस्वीकार्य र सर्वसहमतीय प्रक्रियाद्धारा राजधानी तोक्नु राम्रो हुनेछ । राजधानी सम्बन्धी निर्णय लिँदा संघीयताको मुख्य सिधान्त एक्सेस टु द नेसनको मुलमर्म र भावना अनुकुल नै लिनुपर्छ । आमजनताको पायक पर्नेे ठाउँ रोज्नुपर्छ । त्यसपछि राजधानीको लागि चाहिने पूर्वाधार, ऐतिहासिक पृष्ठभुमी लगायतका अति महत्वपूर्ण तत्वहरु बिध्यमान हुनुपर्छ सम्पूर्ण योग्यता, क्षमता र बिशेषता अस्थायी राजधानी जनकपुरधाममा उपलब्ध रहेकोले र मध्यभागमा अवस्थित रहेकोले सबैको पायक पनि पर्ने भएकोले जनकपुरधामलाई नै राजधानी तय गर्नु उपयुक्त देखिन्छ ।

वर्तमान प्रदेससभाका संरचना र अंकगणित हेर्दा जसपा, लोसपा र माओवादी एक कित्तामा अर्थात मधेस प्रदेश र राजधानी जनकपुरधामको पक्षमा देखिन्छ । सत्ताभित्रकै नेपाली काँग्रेस यो प्रस्तावको विपक्षमा देखिन्छ । नेकाले मिथिला भोजपुरा नाम र जनकपुरधामलाई राजधानी प्रस्ताव गरेको छ । त्यस्तै नेकपा एस पनि जानकी प्रदेश र राजधानी जनकपुरधामको पक्षमा छ । यसरी हेर्दा नाममा जटिलता देखिएपनि राजधानी सजिलै पास हुने छाँटकाट देखिन्छ । नामको सबालमा तीन पक्ष देखिन्छ । जसपालाई आफनो प्रस्ताव पास गराउन सत्ताभित्रै सकस देखिन्छ । जसपालाई आवश्यक दुईतिहाईको लागी ६ मत अपुग छन । जसको लागि सत्ता सहयात्री नेका र नेकपा एस मध्ये कुनै एकको समर्थन चाहिन्छ ।

(लेखक सुरेशकुमार मण्डल प्रदेश २ का प्रदेश सासद तथा पूर्वराज्यमन्त्री हुनुहुन्छ)

तपाईको प्रतिक्रिया