मधेशको समस्या माओवादीले मात्र समाधान गर्छ

–रामेश्वर राय यादव
सांसद एवं नेता, नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रको आठौं महाधिवेशन पुस ११ गतेदेखि काठमाडौँमा जारी छ । त्यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको विषयमा छलफल भइरहेको छ । समूह समूहमा विभाजन गरेर प्रतिवेदनमाथि गम्भिर छलफल भइरहेको छ । माओवादी केन्द्र अब कस्तो निर्णय लिनेछ, उ अब कसरी अगाडि बढ्छ भनि जिज्ञासाले सबैको नजर महाधिवेशनतिर नै छन् । अब माओवादी कस्तो हुनेछ, मधेशको बारेमा के के निर्णय गर्दैछ, साँच्चै माओवादीका नेता रुपान्तरित हुन्छ त लगायतका विषयमा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

माओवादी केन्द्रको आठौं महाधिवेशन चल्दैछ, यो महाधिवेशनले माओवादीलाई कस्तो बनाउँदैछ ?
–माओवादी केन्द्रको यो विशेष महाधिवेशन हो । राष्ट्रिय सम्मेलनको तयारी थियो तर रातारात त्यसलाई महाधिवेशनमा परिणत गर्यो । त्यसले यसलाई विशेष भनिएको छ । पक्कै पनि यो महाधिवेशनले माओवादी केन्द्रलाई नयाँ रुप दिइनेछ । हिजोको दिनमा माओवादी केन्द्रमा जुन जोशजांगर थियो, त्यो विभिन्न कारणले सेलाउँदै गइरहेको थियो । जसलाई अब यो महाधिवेशनले फेरि जगाउँने छ । माओवादी केन्द्रमा जुन क्रान्तकारी धार थियो, त्यसलाई पुनः सक्रिय बनाउने र जोशजांगरका साथ अगाडि बढ्ने काम यो महाधिवेशनले गर्नेछ । अर्थात माओवादी पार्टी पुनः क्रान्तकारी रुपमा आउँदैछ । महाधिवेशनबाट पार्टी पूर्ण रुपमा रुपान्तरित हुन्छ भनि विश्वास हामीले लिएका छौं ।

यसअघिका महाधिवेशन तथा सम्मेलनहरुमा पनि प्रचण्डका यस्तै प्रतिवेदनहरु आउँथ्यो । तर केही परिवर्तन भएन अब यो महाधिवेशनले नै पार्टी पूर्ण रुपमा रुपान्तरित हुन्छ भने त्यसको ग्यारेण्टी के छ ?
–हिजोको दिन भन्दा र अहिलेको दिन फरक छ । पहिला भएको महाधिवेशन भन्दा अहिलेको महाधिवेशन फरक परस्थितिमा भइरहेको छ । त्यतिबेला भर्खर भर्खर जनक्रान्ति सम्पन्न गरेर शान्ति प्रकृयामा आएको थियो । त्यसले परस्थिति बेग्लै बनाएको थियो । त्यसपछिका दिनमा पार्टीभित्र निकै उतार चढाव भयो । म जुनदेखि पार्टीमा आए त्यो दिनदेखि पार्टीमा निकै उतार चढाव सुरु भयो । पार्टी निर्माण नै हुन दिइरहेको थिएन । कहिले के समस्या त कहिले के समस्या आइरहन्थ्यो तर अहिले परस्थिति फेरिएको छ ।

समाजवाद उन्मुख समाज निर्माण गर्ने अभिभाराका साथ माओवादी केन्द्र अगाडि बढेको छ । जनक्रान्तिबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै पार्टीले अब नेता तथा कार्यकर्तालाई सिधै जनतासँग जोडेर आर्थिक क्रान्ति तथा उत्पादनमुखी समाज निर्माण गर्ने सोचका साथ अगाडि बढेको छ । पहिला क्रान्ति, संघर्ष, लडाईको कुरा मात्र हुन्थ्यो पार्टीमा अब जनतासँग सिधै जोडेर उत्पादन तथा आर्थिक समृद्धिका लागि काम गर्ने कुरा पनि भइरहेको छ । समतामुलक समाज कसरी निर्माण गर्ने त्यसलाई मुख्य लक्ष्य बनाएर अगाडि बढेको छ र पार्टीका अध्यक्ष प्रचण्डको प्रतिवेदनले पनि त्यही कुरा भनिरहेको छ । अहिले उहाँको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

यसअघि पनि पार्टीले नेता तथा कार्यकर्तालाई श्रमसँग जोडिन, उत्पादनसँग जोडिन, जनताको घरघरमा जान निर्णय गरेको थियो तर एकदिन पनि कुनै नेता काठमाडौँ छाडेर जनताको बीचमा जानु भएन अब फेरि त्यस्तै निर्णय गरेको छ, नेताहरु श्रम गर्न, उत्पादन गर्न जनताको बीचमा जानुहुन्छ भने के ग्यारेन्टी छ ?
–मैले अघि पनि भनेका थिए । विगतमा के भयो के भएन त्यो कुरा छोड दिनुस् । अब आउने दिनमा के हुन्छ के हुँदैन त्यतातिर जाउ । हो विगतमा पनि यस्ता निर्णयहरु नभएको होइन, पटक पटक निर्णयहरु भएका छन् तर त्यो कार्यान्वयन भएन । त्यही भएर पार्टी यो अवस्थामा पुगेको छ । त्यो कुराको अनुभूती सबै नेताले गरेका छन् । अब नेताहरु जनताको बीचमा जानु हुनेछ हेर्दै जानु होला । जनतालाई माओवादीको अनुभूति गराउनेछ ।

जनतामा गएर उत्पादनसँग जोडिन पार्टीले अनिवार्य गरेको छ । सबैले आआफ्नो ठाउँमा श्रम गर्नुपर्ने अनिवार्य छ । निकट भविष्यमा चुनाव आउँदैछ । तीन तहकै चुनाव हुन्छ । त्यसले गर्दा बाध्य भएर सबैलाई जनताको बीचमा जानुपर्ने हुन्छ । उत्पादनसँग आफूलाई जोडिनुपर्ने हुन्छ । अर्को कुरा यसपाली अध्यक्ष प्रचण्ड कडा रुपमा निर्देशन दिनुभएको छ । सबै नेताहरुको मूल्यांकन उहाँ आफै गर्नुहुन्छ । को नेता कहाँ छन्, कहाँ कहाँ गएका छन् सबै कुराको रेकर्ड उहाँले आफैले राख्नु हुन्छ । टेक्नोलोजी युगमा यस्ता यस्ता प्रविधि आइसकेका छन् कि घर बसि बसि सबैमाथि निगरानी राख्न सकिन्छ । विभिन्न सफ्टवेयरहरुको विकास भएको छ । सबैको तथ्यांक त्यसैमा राखिनेछ । कार्य क्षमताको आधारमा मूल्यांकन हुन्छ ।

माओवादी परिवर्तन भएन तर नेताहरु निकै परिवर्तन भइसक्नु भएको छ । सबै नेताहरु बिलासी भइसकेका छन्, महँगा महँगा गाडि चढ्न थालेका छन्, अलिशान महलमा बस्न थालेका छन्, के अब त्यस्ता नेताहरु गरिब जनताको घरमा जानुहुन्छ त, ?
–अब नगइकन सुख छैन । पार्टीले निर्णय गरेको छ । पार्टीले निर्देशन दिएको छ भने जुनसुकै अवस्थामा भएपनि उ जानुपर्छ । जो जनताको बीचमा जाँदैन त्यो जनताबाट आफै टाढिनेछ । जनताको मन जित्नका लागि जनताको बीचमा जानैपर्छ । जनताको दुखसुखमा साथ दिनै पर्छ । खानका लागि श्रम गर्नैपर्छ । उत्पादन गर्नैपर्छ ।

अब सुकिला मुकिला वा महलमा बसेर राजनीति हुँदैन । पार्टीको एउटा बलियो चेन अफ कमाण्ड बन्दैछ । पदाधिकारीहरु चयन हुँदैछ । पार्टी एउटा सिस्टममा जाँदैछ । सिस्टममा गएपछि कसैले कुनै निर्णय नमान्ने हुँदैन । यसअघि पार्टीमा सिस्टममा थिएन । जसलाई जे मन लाग्थ्यो त्यही गथ्र्यो । तर अब त्यस्तो हुनेछैन । त्यसैका लागि महाधिवेशनमा यत्रो बहसहरु भइरहेका छन् । छलफलहरु भइरहेका छन् । अब अरु पार्टीभन्दा माओवादीलाई फरक देखाउनका लागि पार्टीको निर्देशन सबैले मान्नै पर्ने हुन्छ नत्र सबैजना एउटै जहाजमा सवार छन् । जहाज डुब्यो भने सबैजना डुब्छन् ।

माओवादी केन्द्रका लागि मधेश धेरै ठूलो शक्ति हो । यो महाधिवेशनले मधेशलाई माओवादीले कसरी बुझ्दैछ ?
–मधेशको समस्या जटिल छ । मधेशका समस्या समाधानका लागि जबसम्म एउटा राष्ट्रिय शक्तिले पहल गर्दैन तबसम्म समाधान हुँदैन । मधेशको मुद्दा समाधानका लागि माओवादी मात्र इमान्दारीका साथ लागेका छन् । मधेशमा जुनखालको चेतना विकास भएको छ । आफ्नो अधिकार र पहिचानप्रति सचेत भएको छ, त्यो माओवादीका कारणले मात्र भएको छ । माओवादीले मधेशी, आदिवासी जनजाति तथा पिछडिएकालाई बोल्न सिकायो । आफ्नो अधिकार माग्न सिकायो ।

मधेशवादी दलहरुले पनि आफ्नो अधिकार र पहिचानका लागि आन्दोलन गरे तर उनीहरुले त्यसलाई आफ्नो सत्ता स्वार्थका बार्गेनिङ गर्ने माध्यम बनाए । त्यसैले मधेशको समस्या माओवादी केन्द्रले मात्र समाधान गर्छ भन्ने कुरामा ढुक्क भए हुन्छ । हामीले पनि पार्टीमा निरन्तर यो विषयलाई उठाइ रहेका छौं । मधेशको मुद्दा जसपा र लोसपाको मात्र होइन । माओवादीले किन प्राथमिकताका साथ त्यसलाई नउठाउने विषय हामीहरुले पटक पटक कुरा उठाउँछौं । विगतमा पनि मधेशका मुद्दा समाधानका लागि, संविधान संशोधन गर्न माओवादीले पहल गरेकै हो । काँग्रेसलाई पनि मनाएर संसदमा संशोधनको प्रस्ताव लगेकै हो तर एमालेले त्यसको विरोध गरेको कारण पारित भएन । अब राष्ट्रिय सहमितका साथ माओवादी अगाडि बढ्छ । एउटा राष्ट्रिय शक्ति निर्माण गरेर मधेशको समस्या समाधान गर्छ । यो महाधिवेशनबाट मधेशको हकमा एउटा कुनै ठोस निर्णय हुन्छ ।

तपाई लामो समय मधेशको राजनीतिक गर्नुभयो, अहिले माओवादीमा हुनुहुन्छ तपाईको यो पहिलो महाधिवेशन हो, तपाई मधेश बुझेको नेता हुनुहुन्छ । यो महाधिवेशनमा तपाईले मधेशका लागि के के अपेक्षा गर्नुभएको छ ?
–महाधिवेशनमा समूहगत छलफलहरु भइरहेका छन् । मैले आफ्नो समूहमा बल दिएर मधेशका कुराहरु उठाएको छु । मधेशको समस्या बारेमा यो महाधिवेशनले बोल्नुपर्छ भनेको छु । चाहे नागरिकताको समस्या होस् वा समावेशीको समस्या होस् वा संघीय संरचनाको समस्या होस् अथवा आर्थिक, समाजिक, साँस्कृतिक जुनसुकै समस्या होस् । माओवादीले त्यसलाई समाधान गर्नुपर्छ । यी कुरा मैले महाधिवेशनमा पनि उठाएको छु । यसप्रति पार्टीका अध्यक्ष कमरेड प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ । उहाँले पनि मधेशको बारेमा केही ठोस निर्णय गरेर अगाडि बढ्नुहुन्छ भनि मलाई विश्वास छ ।

अहिले जसरी जसपा र लोसपाले मधेशको मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढीरहेका छन् त्यसरी नै माओवादीले त्यसलाई प्राथमिकतामा राख्न सक्छ त ?
–मधेशको समस्या राष्ट्रको समस्या हो । यसलाई राष्ट्रियस्तरमै समाधान गर्नुपर्छ । नागरिकताको समस्या मधेशमा मात्र होइन पहाडमा पनि छन् । अस्ती हेटौडा जाँदा त्यहाँ पनि लाइन देखेको थिए । यसका मतलब नागरिकताको समस्या त्यहाँ पनि छ । संविधान संशोधनको विषय मधेशको मात्र नभएर राष्ट्रकै आवश्यकता हो । त्यसैले यो लोसपा वा जसपाले मात्र उठाइरहेको छ । उसको मात्र समस्या हो भने होइन । लोसपाले त मधेशको मुद्दा नै बिर्सिसक्यो ।

जुन एमालेले मधेशलाई माखोको संज्ञा दियो । मधेशीलाई गोली हानेर हत्या गर्यो, त्यसलाई साथ दिने काम लोसपाका अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको थियो । त्यसैले लोसपालाई मधेशको मुद्दासँग मतलब छैन । सत्ताका लागि जे पनि गर्ने खालको पार्टी हो लोसपा । प्रतिगामी कदममा एमालेलाई जसरी लोसपाले साथ दिएको थियो त्यसले मधेशमा नागिंएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा लोसपाभन्दा अलिकति अग्रगामी छ । त्यसले कुरा बुझ्छ । त्यही महन्थ ठाकुरको सहयोगमा अ‍ोलीले चालेको प्रतिगामी कदमको विरुद्धमा जसपा, माअ‍ोवादी र काँग्रेस एक साथ लडाई लडेको हो र अगामी दिनमा पनि साथ रहनेछन् ।

तपाईहरु त एमालेसँग एकीकरण नै गर्नुभएको थियो । तपाईहरु एकीकरण गर्दा ठिक, लोसपा (महन्थ ठाकुर) ले हातेमालो गर्दा बेठिक यो कसरी हुन्छ ?
–हामीले परिवर्तनलाई संस्थागत गर्ने उद्देश्यले एमालेसँग एकीकरण गरेका थियौं तर त्यो अवस्था त्यहाँ नदेखेपछि हामीले साथ छाडेका हौं । तर महन्थ ठाकुरहरुले एमालेलाई प्रतिगमनमा साथ दिनुभएको हो । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रतिगामी कदम चाल्दा त्यसमा साथ दिने र माओवादीले परिर्वतनलाई संस्थागत गर्न एमालेका साथ खोज्ने कुरा एक हुन सक्दैन । महन्थ ठाकुरहरुले संसद जस्तो गरिमामय संस्थालाई विघटन गर्ने प्रतिगमनकारीलाई साथ दिएको कारण उहाँहरु गलत हुनुहुन्छ । परिवर्तनलाई डुवाउने व्यक्तिलाई महन्थ ठाकुरलहरुले साथ दिएको कारण उहाँहरु गलत हुनुहुन्छ । माओवादी केन्द्रले जनताको बलिदानी र संघर्षबाट आएको परिवर्तनलाई संस्थागत गर्न एमालेको साथ खोजेको थियो त्यही भएर ठिक छ ।

माओवादी शान्ति प्रकृयामा आएदेखि हालसम्म कुनै नकुनै रुपमा सरकारमा रह्यो । तीनपटक त सरकारको नेतृत्व नै गर्यो यतिका दिनसम्म मधेशको समस्या समाधान गर्न नसक्ने माओवादी अब आउने दिनमा कसरी गर्छ ?
–माओवादी सरकारमा छ र थियो पनि तर राज्यको संयन्त्र माओवादीको नियन्त्रणमा कहिले रहेन । माओवादीले केही गर्न खोजेको देखिन्छ तर कुनै न कुनै रुपमा बाधा पारिएको देखिन्छ । माओवादी जहिले पनि एउटा सहायक भूमिकामा थियो, त्यसैले सोचेको जस्तो काम गर्न सकेन । अब माओवादी एउटा शक्ति भएर आउँदैछ । अनि आफ्नो तरिकारले मधेशका समस्याहरु समाधान गर्नेछ ।

 

तपाईको प्रतिक्रिया