यता मन्त्री उता कोठा कब्जा

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महिन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रीमा चयन भएपछि पार्टी कार्यालयमा उहाँको कार्यकक्ष अर्कैले कब्जा गरेको छ । जसपाका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीले पार्टी कार्यालयमा रहेको मन्त्री यादवको कार्यकक्षमा आफ्नो नेमप्लेट लगाएर त्यहाँ बस्न थाल्नु भएको हो ।

नेता महिन्द्रराय यादव मन्त्री भएपछि एकदिन पनि पार्टी कार्यालय नगएपछि उहाँको कार्यकक्षमाथि कार्यालय सचिव अधिकारीले कब्जा जमाउनु भएको छ । कार्यालय सचिव अधिकारीले महिन्द्रराय यादवको कार्यकक्ष बाहिर राखिएको नेमप्लेटसँगै आफ्नो पनि नेमप्लेट राख्नुभएको छ । मन्त्री भएपछि पार्टी कार्यालयको कार्यकक्ष प्रयोगमा नआएपछि अधिकारीले त्यसलाई प्रयोगमा ल्याउनु भएको जसपाका एक नेताले बताउनुभयो । जसपाका ती नेताले भन्नुभयो, मन्त्री यादवले आफ्नो सबै भेटघाट तथा पार्टीका कामहरु समेत मन्त्रालयबाट नै गर्नुहुन्छ, पार्टी कार्यालय आउनु हुन्न त्यही भएर खाली भएको कार्यकक्ष प्रयोग गर्न थालिएको छ ।’

मन्त्री यादव अहिले पार्टीको सम्पर्कमा हुनुहुन्न । मन्त्री भएदेखि पार्टीको कुनै पनि गतिविधिमा सहभागी हुनु भएको छैन । उहाँलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीका कुनै काम अह्राउनु हुन्न । बरु सर्लाही जिल्लाकै प्रमोद साहलाई उहाँले सक्रिय गर्नुभएको छ तर महिन्द्रराय यादवलाई केही भन्नु हुन्न । सप्तरीमा केही दिन पहिले कृषि विश्व विद्यालयको उद्घाटन भयो । अध्यक्ष उपेन्द्र यादव त्यसको प्रमुख अतिथि भएर उद्घाटन गर्नुभयो । महिन्द्रराय यादव कृषि मन्त्री हुनुहुन्छ तर त्यस्तो कार्यक्रममा उहाँलाई बोलाइएको थिएन । यसैबाट प्रष्ट हुन्छ कि पार्टीमा उपेन्द्र यादव र महिन्द्रराय यादवको दुरी बढ्दो छ । यतिखेर सर्लाहीमा पार्टी समायोजनको काम चलिरहेको छ तर महिन्द्रराय यादवलाई यतोपतो छैन ।

समायोजनका कामका लागि जसपाका कार्यकारिणी सदस्य समेत रहनु भएका प्रमोद साहलाई अगाडि सारिएको छ । उहाँ सर्लाही आउजाउ गरिरहनु भएको छ । तर महिन्द्रराय यादवले कुनै मतलब राख्नु हुन्न । उहाँ पनि सर्लाही जानु हुन्छ । उहाँको गृह जिल्ला हो, नजाने कुरा नै हुँदैन तर पार्टीको कार्यक्रममा त्यति सहभागी हुनुहुन्न भनि आरोप छ । त्यही प्रमोद साह हुनुहुन्छ, जसको नाम काटेर महिन्द्रराय यादवलाई मन्त्री बनाइएको थियो । उपेन्द्र यादवले कृषि मन्त्रीका लागि सांसद प्रमोद साहलाई अगाडि सार्नु भएको थियो । तर स्रोत भन्छ, महिन्द्रराय यादवले जवर्जस्ती मन्त्रीको लिस्टमा आफ्नो नाम राखेर सपथग्रहणका लागि जानुभयो । असोज २२ गते विहानैदेखि सञ्चारमाध्यममा प्रमोद साहको नाम आइरहेको थियो तर जब राष्ट्रपति कार्यालयबाट मन्त्रीहरुको नामावली बाहिर आए, त्यसमा महिन्द्रराय यादवको नाम थियो ।
महिन्द्रराय यादव जवर्जस्ती मन्त्री भएपछि पार्टीमा द्वन्द उत्पन्न भएको बुझाई उपेन्द्र यादवको छ । त्यही बेलादेखि उपेन्द्र यादव र महिन्द्रराय यादवबीच दुरी बढ्दै गएको स्रोतको दावी छ । महिन्द्रराय यादव मन्त्री भएपछि प्रदेश २ मा रहेका उहाँ पक्षकै मन्त्री रामनरेश राय यादवलाई हटाइए । त्यसले पनि महिन्द्रराय यादवलाई चित्त बुझेको छैन । त्यसपछि मन्त्री महिन्द्र राय यादव पार्टीका गतिविधि भन्दा अलग हुनु थाल्नुभयो । पार्टी कार्यालय नै जान छाड्नु भयो ।

उहाँले आफ्ना निकटहरुसँग भन्ने गर्नुभएको छ, उपेन्द्रजीलाई मैले साथ नदिएको भए उहाँको पार्टी रहने थिएन, आज म मन्त्री भएको छु त्यसको बदलामा रामनरेशजीलाई मन्त्रीबाट हटाउनुभयो ।’ कार्यकारिणी सदस्य एवं मन्त्री महिन्द्रराय यादव सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको पक्षमा लाग्नु भएको छ । डा.बाबुराम भट्टराईसँग सल्लाह गरेर पार्टीमा काम गरिरहनु भएको पार्टीका कतिपय नेताहरुको अराोप छ ।
–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया