भारतबाट रसायनिक मल खरिद गर्ने सरकारको निर्णय

काठमाडौँ पुस २१ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग रसायनिक मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले भारतसँग पाँच वर्षका लागि रसायनिक मल खरिद गर्ने निर्णय गरेको हो ।

पहिलो वर्ष डेढलाख मेट्रिकटन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष त्यसमा १० प्रतिशतले वृद्धि गर्दै जाने सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । आउने आइतवार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला त्यहाँ सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने कृषि मन्त्रालयले जनाएको छ । भारतसँग जीटुजी प्रणालीमा मल खरिद गर्नका लागि विगत तीन वर्षदेखि पहल भइरहेको थियो ।
चालु आर्थिक वर्ष २०७८÷०७९ मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ । तर, गत वर्षको परिमाणमा मल खरिद गरी समयमै कृषकलाई उपलब्ध गराउने मन्त्रालयको प्रयासमा असहज अवस्था पैदा भएको कृषि मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा युरिया ३३८.८५ प्रतिशत र डीएपी २०२.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष प्रतिमेट्रिक टन युरिया मल ३६०.८३ अमेरिकी डलरमा खरिद भएको थियो भने अहिले ९४९ अमेरकी डलर पुगेको छ । त्यस्तै, गत वर्ष ४५५.४१ रुपियाँमा पाउने डीएपी मल अहिले ९२०.५ अमेरिकी डलर पुगेको छ । मूल्यमा यत्तिको फरक परेका कारण मल व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा मलको हाहाकार रहेको छ । मल नपाएर किसानले आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया