सिके राउतको आन्दोलनलाई राजेन्द्र महतोको साथ (विज्ञप्तिसहित)

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको किसान आन्दोलनलाई समर्थन गर्दै सरकारले आन्दोलनमाथि गरिरहेको दमनको घोर भत्र्सना गर्नुभएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘विगत दुई सातादेखि मलखाद, बीउ विजन, सिंचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु ।’

किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उल्लेख गर्दै उहाँले वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गर्न पनि माग गर्नुभएको छ ।

उहाँले किसानको माग पुरा गर्नुको साथै आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ । विगत २२ दिनदेखि सिके राउत नेतृत्वको जनमत पार्टीले किसानका विभिन्न माग राख्दै तराई मधेशमा आन्दोलन गर्दै आइरहेको छ । सो आन्दोलनको बारेमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले आलोचना गर्दै आइरहेका छन् । त्यही बेला लोसपाका वरिष्ठ नेता एवं सांसद महतोले विज्ञप्ति जारी गरेर आन्दोलनप्रति ऐक्यवद्धता जनाउनु भएको छ ।

उहाँका प्रेस सहयोगी किशोर गुरुले कुन पार्टीले आन्दोलन गरिरहेको छ, त्योसँग आफूहरुलाई मतलब छैन, किसानले आन्दोलन गरिरहेका छन् र त्यसमाथि सरकार दमन गरिरहेको बुझेर नै त्यस आन्दोलनप्रति समर्थन जनाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया