महन्थ ठाकुरलाई यो उमेरमा पनि काममा लगाउनु अपराध हो

उहाँका वरिपरी रहेका केही नेताहरु जो पार्टीमा द्वन्द रहि रह्यो भने पार्टीमा नेता रही रहन्छु भनि सानो चित्त राखेकाहरुले महन्थ ठाकुरबाट यस्तो अपराध गराइ रहनु भएको छ । मलाई लाग्छ महन्थ ठाकुर आफ्नो सुझबुझले गरिरहनु भएको छैन ।

–सन्तोष मेहता
नेता, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको पाँच महिना मात्र भएको छ तर सो पार्टीमा गुटबन्दी सुरु भइ सकेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच आन्तरिक द्वन्द सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी एक ठाउँमा हुनुहुन्छ भने वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य अनिलकुमार झा एक ठाउँमा हुनुहुन्छ । यिनै द्वन्दका कारण पार्टीका कुनै गतिविधि वा बैठकहरु बसिरहेका छैनन् । प्रायः सबै काम ठप्प छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशहरुमा केही मनोनय गर्नुभ भएको छ । त्यसले पार्टीमा झन विवाद उत्पन्न गराएको छ । यिनै र यस्तै विषयवस्तुमा लोसपाका नेता सन्तोष मेहतासँग सहारा टाइम्सले कुराकानी गरेको छ । युवा नेता सन्तोष मेहता (सुनसरी) लामो समय सद्भावना पार्टी तथा अन्य पार्टीमा राजेन्द्र महतोको निकट भएर काम गर्नुभयो । पार्टी पटक पटक विभाजन हुँदा पनि उहाँले राजेन्द्र महतोको कहिले साथ छाड्नु भएन । पार्टी र संगठनप्रति प्रतिवद्ध भएर काम गर्नुभयो । तत्कालिन जसपाको प्रवक्ता तथा कार्यकारिणी सदस्य समेत भइसकेका सन्तोष मेहतालाई अहिले लोसपामा कुनै जिम्मेवारी दिएको छैन । प्रस्तुत छ, नेता सन्तोष महतोसँग गरिएको कुराकानीको संम्पादीत अंशः

तपाई केही दिन पहिले आफ्नो फेसबुकमा ‘यो लोसपा हो, तमलोपा होइनं’ भनि लेख्नु भएको थियो । त्यो लेखाईका सान्दर्भिकता के हो ?
–मैले यो लेखेको थिए कि लोसपा भनेको तमलोपा होइन नि । त्यसको सन्दर्भ के हो भने विगतमा मधेशी मोर्चा बनाएर सँगै आन्दोलन गरेका विभिन्न ६ वटा .(मधेश केन्द्रीत दल) दल मिलेर राजपा बनेको थियो । राजपा बन्नुको उद्देश्य मधेशमा मात्र होइन, देशमै एउटा वैकल्पिक शक्ति निर्माण गर्नु थियो र त्यसबाट मधेशको मागहरु पुरा गराउनु थियो । सामूहिक नेतृत्व, सामूहिक निर्णयको आधारमा पार्टी सञ्चालन गर्ने उद्देश्य थियो त्यो पार्टीको । राजपामा कुनै पार्टी विलय भएको वा कुनै पार्टीले अगुवाई गरेको अवस्था थिएन । ६ वटै दल र त्यसका अध्यक्षहरुको बराबर हैसियत थियो । र नेपाली राजनीतिमा त्यो एउटा नयाँ प्रयोग पनि थियो । यद्यपी सामूहिक नेतृत्व प्रणाली अपनाउने क्रममा पनि केही समस्याहरु आए ।

कता कता सामूहिक निर्णय असफल भएको महसुस भएपछि हामीले सामूहिक निर्णय, एकल नेतृत्व र बहु पदीय प्रणालीमा जानुपर्छ भनि त्यसैबेला निर्णय गरेका थियौं । राजपामा यी कुराहरुको बहस चलिरहँदाको अवस्थामा नै पहिचान, समृद्धिका लागि मधेशको शक्तिलाई अझ बलियो बनाउनुपर्छ भनि उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जसपा बन्यो । कोरोनालगायत विविध कारणले जसपाको सांगठनिक कार्य अगाडि बढेन । समायोजनका कामहरु सुरु पनि भएन । त्यति नै बेला पार्टीमा केही आन्तरिक असहमतिका कारण विवादहरु बाहिर आए । र जसपा विभाजन भयो । अर्को दल लोसपा बन्यो ।

जसपा किन गठन भयो र पुनः किन विभाजन भयो त्यो गम्भिर समिक्षा हुनुपथ्र्यो र हुनुपर्छ । तत्कालिन राजपामा रहेका ६ जना नेतामध्ये दुईजना (महेन्द्र राय यादव र राजकिशोर यादव) उपेन्द्र यादवको साथमा जानुभयो भने लोसपामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा रहनु भयो । विगतमा जसरी राजपामा ६ जना अध्यक्षमण्डल थियो । त्यसको अभ्यास लोसपामा नहोस् भने हामी सचेत थियौं र एकल अध्यक्ष प्रणालीमा गयौं । चारजनामध्ये एकजना अध्यक्ष, दुईजना वरिष्ठ नेता र एकजना कार्यकारिणी सदस्य बन्नुभयो । तर एकल नेतृत्वको अर्थ तानाशाही थिएन । एकल नेतृत्वको अर्थ हरेक निर्णय एकल ढंगबाट गर्नका लागि होइन । एकल नेतृत्व र सामूहिक निर्णयको अवधारणामा लोसपा बनेको थियो ।

तर कम्युनिस्ट तानाशाह पार्टीमा पनि यस्तो हुँदैन । त्यहाँ पनि पोलिटब्युरो र स्थायी कमिटी हुन्छ । र सामूहिक निर्णयहरु हुन्छन् । हामी लोकतान्त्रिक पार्टी बनाएका थियौं । विभिन्न दलहरु मिलाएर राजपा, त्यसपछि जसपा अनि लोसपा बनायौं । पार्टीको समायोजन पनि भएको थिएन । संगठनको काम अगाडि बढेको थिएन । त्यस अवस्थामा अध्यक्ष महन्थ ठाकुरले सामूहिक निर्णय गरेर संगठनका कामहरु अगाडि बढाउनु पथ्र्यो । त्यसमा अध्यक्ष महन्थ ठाकुरको कमजोरी देखियो ।

उहाँले लोसपालाई पनि तमलोपा जस्तै चलाउन खोज्नुभयो । त्यही भएर मैले यो लोसपा हो तमलोपा होइन भनेको थिए । विगतका चारवटा (संघीय सद्भावना पार्टी, सद्भावना पार्टी, तमलोपा र रामसपा) दलका अध्यक्षहरु अहिले पनि लोसपामा हुनुहुन्छ । उहाँहरुले महन्थ ठाकुरलाई अध्यक्ष स्विकार गर्नु नै भएको छ । अध्यक्ष ठाकुरले अरु केही नगरेपनि कमसे कम जे निर्णय गर्दा उहाँ चारजनाको बीचमा छलफल गर्नुपर्छ, र गर्नुपथ्र्यो । त्यसमा उहाँ चुक्नुभयो । उहाँले पार्टीलाई एकल ढंगबाट चलाउन खोज्नु भयो । कुनै निर्णय गर्दा कसैसँग कुनै सल्लाह गर्नुहुन्न । आफ्ना पक्षका नेताहरुलाई भटाभट मनोनय गर्न थाल्नु भएको छ ।

तर तपाईले यसो भनि रहँदा अध्यक्ष महन्थ ठाकुरले निर्णय गरेको विषयमा तीन जना (राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा) नेताले हालसम्म कुनै टिप्पणी गर्नुभएको छैन, यसको मतलब उहाँहरुसँग सल्लाह गरेर नै ती मनोनयहरु गर्नुभएको छ कि ?
–हो, उहाँहरुले हालसम्म कुनै टिप्पणी गर्नुभएको छैन । यो राजनीतिककर्मीको उच्च संस्कारमध्ये पर्छ । हरेक कुरामा बाहिर टिप्पणी गरि हाल्नु पनि हुँदैन । तर मलाई लाग्छ कुनै नकुनै रुपमा अध्यक्ष ठाकुरको निर्णयप्रति असहमतिको संकेत देखाउनु भएको छ उहाँहरु । उहाँहरुले कुनै टिप्पणी नगरेपनि जिल्लाहरुमा असन्तुष्टिहरु देखिएका छन् । पार्टी कार्यालयमा आएर नेताहरु धर्ना नै बस्नुभयो । यसले के देखिन्छ भने अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको निर्णय सही थिएन त्यही भएर विरोध भएको हो । मलाई लाग्छ अध्यक्षजीले कसैसँग सल्लाह गर्नुभएको छैन । यदि सल्लाह गर्नु नै भएको भने सल्लाहबाट आएका सुझाव अनुसार केही गर्नुभएको हो जस्तो मलाई लाग्दैन । अध्यक्ष ठाकुरले के गर्नुपथ्र्यो भने जे निर्णयहरु गर्नुभयो ती सबै एकैपटक गर्नुपथ्र्यो ।

जिल्ला, प्रदेश, स्थानीय तहलगायत सबै ठाउँमा एकैपटक मनोनयहरु गर्नुपथ्र्यो । सायद एकैपटक सबै मनोनयहरु भएको भए यसरी विरोध हुने थिएन । पालो पालो आफ्नो मान्छे छानीछानी उहाँले जुन मनोनयहरु गर्नुभयो त्यो गलत हो । अध्यक्ष ठाकुरसहित चारजना नेताहरु छन् पार्टीमा । तलसम्म सबैका पार्टीका स्ट्रेन्थ अहिलेपनि छन् । यी स्ट्रेन्थलाई ख्याल गरेर समायोजन प्रकृयाको आधारमा मनोनहरु गर्नुपथ्र्यो तर सुस्त पाराले आज एउटा फेरि दुई दिन वा एक हप्तापछि अर्को मनोनहरु भयो । हुनसक्छ महन्थ ठाकुर वृद्ध हुनुभयो । उहाँले काम गर्न सकिरहनु भएको छैन । कतै हामीले ८०–८५ वर्षको वृद्धलाई काम लगाएर अपराध त गरिरहेका छैनौं । उमेरका कारण महन्थजीलाई काम गर्न समस्या छ भने उहाँले अरु नेताहरुको सहयोग लिनुपर्छ । कामको जिम्मा अरुलाई दिनुपर्छ । हामीसँगै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा सबै संगठन बनि सकेका छन् । एकैपटक सबै नियुक्ति तथा मनोनयनहरु गरिएको छ । त्यसरी लोसपाले किन गर्न सकेन भनि प्रश्न उठेको छ ।

जसपा किन गठन भयो र पुनः किन विभाजन भयो त्यो गम्भिर समिक्षा हुनुपथ्र्यो र हुनुपर्छ । तत्कालिन राजपामा रहेका ६ जना नेतामध्ये दुईजना (महेन्द्र राय यादव र राजकिशोर यादव) उपेन्द्र यादवको साथमा जानुभयो भने लोसपामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा रहनु भयो ।

अध्यक्ष महन्थ ठाकुरले त आफूले सबैसँग सल्लाह गरेर मनोनयहरु गरेको भन्दै आउनु भएको छ नि ?
–ल ठिक छ, उहाँले सबैसँग सल्लाह गर्नुभएको छ । यदि अरु नेताहरुले दिएको सल्लाह अनुसार अध्यक्ष ठाकुरले मनोनयहरु गर्नुभएको छ भने त्यो गलत हो । अध्यक्षजीले गर्नुभएको कुनै पनि मनोनय ठिक छैन । यदि अन्य तीनजना नेताको सल्लाहमा ती मनोनयनहरु भएका छन् भने महन्थ ठाकुर जतिकै उहाँहरु पनि दोषी हुनुहुन्छ । तर मलाई जहाँसम्म थाह छ, ती नेताहरुसँग बुझ्दा र कुरा गर्दा अध्यक्ष ठाकुरजीले कसैसँग कुनै सल्लाह गर्नुभएको छैन । हामीलाई के लागेको छ भने जसपा विभाजन हुँदा विगतमा सद्भावना पार्टीका कारण राजेन्द्र महतोका साथमा रहेका केही नेताहरु जसपामै बस्नुभयो । ३२ सदस्यी कार्यसमिति छन् त्यसमा पनि महन्थ ठाकुरकै बहुमत छन् । त्यसले गर्दा राजेन्द्र महतोलगायतका नेताहरुलाई पेलेर जाँदा पनि हुन्छ कि जस्तो महन्थ ठाकुरलाई लागेको हुनुपर्छ । महन्थ ठाकुरको मनमा यो नभएपनि उहाँका वरिपरी रहेका नेताहरुले उहाँबाट त्यस्तो गराइ रहनु भएको छ ।

तपाई अध्ययन अनुसन्धान पनि गर्नुहुन्छ । महन्थ ठाकुरले यसरी यस्ता निर्णयहरु किन गर्नुभयो जस्तो लाग्छ तपाईलाई ?
–उहाँले आफ्नो मनले यस्तो गर्नुभयो जस्तो मलाई लाग्दैन । उहाँका वरिपरी रहेका केही नेताहरु जो पार्टीमा द्वन्द रहि रह्यो भने पार्टीमा नेता रही रहन्छु भनि सानो चित्त राखेकाहरुले महन्थ ठाकुरबाट यस्तो अपराध गराइ रहनु भएको छ । मलाई लाग्छ महन्थ ठाकुर आफ्नो सुझबुझले गरिरहनु भएको छैन । उहाँलाई यी सबै गर्न लगाइ रहेको छ । र यी सब गर्न लगाएर महन्थ ठाकुरको योगदान र बलिदानको अवमूल्यन भइरहेको छ । यस्तो अपराध कसैले गर्नु हुँदैन जस्तो मलाई लाग्छ ।

महन्थ ठाकुर पार्टीका कार्यकारी अध्यक्ष हुनुहुन्छ, उहाँले कसैसँग सल्लाह गरेर वा नगरेर कामहरु गरिरहनु भएको छ तर राजेन्द्र महतो वरिष्ठ नेता हुनुहुन्छ उहाँले पनि पार्टीमा कसैसँग वा अध्यक्षसँग सल्लाहै नगरि आफ्नो तरिकाले जिल्ला जिल्लामा गतिविधिहरु गरिरहनु भएको छ नि यसमा के भन्नुहुन्छ ?
–होइन, दशैं यता पार्टीका कुनै कार्यक्रम भएको छैन । राजेन्द्र महतो पार्टीको संगठनसँग सम्बन्धित कुनै पनि कार्यक्रममा जानु भएको छैन । कसैको विहेमा, वा कुनै शुभकामना अदान प्रदान कार्यक्रम वा आफ्नै नीजि कार्यक्रमहरु लिएर जिल्ला तथा क्षेत्रमा जानुभएको होला तर पार्टीको संगठनका कामका लागि जानु भएको छैन । पार्टीमा कसैसँग कसैको कुनै सल्लाह नै हुँदैन । अनि नेताहरु आआफ्नो व्यक्तिगत तथा संसदीय क्षेत्रमा गइरहनु भएको छ । यो पार्टीको राम्रो लक्षण होइन । चुनाव नजिक आइसक्यो । सबै पार्टी एक्टिभ छन् । महाधिवेशन गराएर रिचार्ज भइ आफ्नो क्षेत्रमा गइरहेका छन् तर लोसपा अझै अलमलमा छ ।

राजेन्द्र महतो काठमाडौबाट निस्केदेखि आफ्ना पक्षका नेताहरुसँग मात्र उहाँको भेटघाट र छलफल हुन्छन्, एयरपोर्टदेखि लिएर कुनै पनि छलफल वा कार्यक्रममा राजेन्द्र महतो पक्षका नेताहरुको उपस्थिति हुन्छ यहाँसम्म कि एयरपार्टमा स्वागत गर्न पनि राजेन्द्र महतो निकट नेताहरु नै पुगेका हुन्छन् के यो राजेन्द्र महतको गलत काम होइन ?
–मनौ राजेन्द्र महतो कुनै विहेमा सहभागी हुन विराटनगर जानुभयो । एयरपार्टमा झर्नुभयो । उहाँ आएको थाह पाएर उहाँमाथि आस्था राख्ने नेताहरु उहाँलाई स्वागत गर्न त्यहाँ जानुभयो । त्यो कुनै गलत कार्य होइन । महतोले कसैलाई मलाई स्वागत गर्न तिमीहरु एयरपोर्ट आउ भन्नुभएको छैन । कुनै होटलमा बस्नुभयो । उहाँलाई भेट्न विभिन्न नेताहरु आउनु हुन्छ । त्यस अवस्थामा महतोलाई सबभन्दा बढी चिन्नै र बुझ्ने नै आउनु हुन्छ नि । हो, यदि उहाँले कसैलाई निमन्त्रण दिएर वा कसैलाई फोन गरेर मलाई भेट्न आउ भनेको बेला उहाँकै पक्षका नेताहरु आएको भए एउटा कुरा हुन्थ्यो । आफ्नो नीजि कामका लागि कतै गएको बेला कोही भेट् आएको कुरालाई त्यसरी पक्षका र विपक्षका रुपमा लिनु हुँदैन । पार्टीको कार्यक्रम हुँदा त्यहाँ उपस्थित हुनेहरुलाई त्यसरी त्यो रुपमा लिनुपर्छ । तर आफ्नो व्यक्तिगत रुपमा कतै जाँदा भेटघाटलाई टिप्पणी गर्नुहुँदैन ।

त्यसरी भेटघाटलाई गुटबन्दी भन्न मिल्छ कि मिल्दैन ?
–मिल्दैन । व्यक्तिगत भेटघाट तथा समाजिक कार्यक्रमलाई गुटबन्दी भन्न मिल्दैन

गुटबन्दी कस्तोलाई भनिन्छ त ?
–पार्टीको कार्यक्रम लिएर जाँदा, त्यहाँ झण्डा ब्यानर लगाइएको छ र त्यहाँ एउटा गुटका नेता मात्र आएका छन् भने मात्र त्यो गुटबन्दी हो । पार्टीले कुनै कार्यक्रम तय गरेको छ । त्यो कार्यक्रमको समानान्तरमा अर्को कार्यक्रम आयोजना गरेको छ भने त्यो गुटबन्दी हो । कुनै नेता व्यक्तिगत कामका लागि कुनै जिल्लामा जानुभयो र भेटघाट गर्नुभयो भने त्यो गुटबन्दी होइन ।

राजेन्द्र महतोले के गर्दै हुनुहुन्छ भने कुराको जानकारी पार्टीका अध्यक्षलाई हुनुपर्छ कि पर्दैन ?
–नेताले गर्ने हरेक कामको जानकारी पार्टीका अध्यक्षलाई जानकारी नै दिनुपर्छ भने छैन । दिँदा त राम्रै हो । तर व्यक्तिगत काम, विहे, श्राद्ध, मुण्डनलगायतका अन्य समाजिक कार्यक्रममा जाँदा अध्यक्षलाई जानकारी दिनुपर्छ जस्तो मलाई लाग्दैन तर पार्टीको कार्यक्रममा जाँदा त्यसको जानकारी दिनुपर्छ । तर मलाई लाग्दैन कि राजेन्द्र महतोबाट त्यस्तो भएको छ । राजेन्द्र महतोले कुनै गुटबन्दी गर्नुभएको छैन । यदि उहाँ गुटबन्दी गरेको भए उहाँसँग भएका नेताहरु अरुअरु पार्टीमा लाग्नु हुन्थेन । बरु महन्थ ठाकुरजी काँग्रेसमा एउटा गुटको मलजल गरेर आउनु भएको कारण यहाँ त्यसैको अभ्यास गरिरहनु भएको छ जस्तो लाग्न थालेको छ ।

पर्सालगायत पश्चिम मधेशमा पार्टीका केही कार्यक्रममै राजेन्द्र महतो सहभागी हुनुभयो जुन कुराको जानकारी पार्टी अर्थात महन्थ ठाकुरलाई छैन ?
–राजेन्द्र महतो कुनै पनि पार्टीको कार्यक्रममा जानुभएको छैन । पर्सा वा कुनै ठाउँमा पार्टीको कार्यक्रम थिएन जस्तो लाग्छ मलाई । त्यो कार्यक्रम कुनै समाजिक कार्यक्रम भएको हुनुपर्छ जस्तो लाग्छ । हो राजेन्द्र महतो अहिले विभिन्न जिल्लाहरुमा गइरहनु भएको छ । उहाँ व्यक्तिगत भेटघाट तथा समाजिक कामका लागि गइरहनु भएको छ । तर उहाँ त्यहाँ जाँदा पार्टीका कुनै पनि गतिविधि गर्नुभएको छैन ।

त्यसो भए पार्टी यसैगरि चल्छ कि केही सुधार गर्नुपर्छ तपाईको के सुझाव छ ?
–पहिलो कुरा, आदरणीय अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय गर्नुभएका मनोनयहरुमा सुधार गर्नुपर्छ । सम्भव छ भने त्यसलाई फिर्ता लिएर एकैपटक सबै तहका मनोनय तथा नियुक्तिहरु सकाउनुपर्छ । कुनै पनि निर्णय गर्दा सामूहिक रुपमा गर्नुपर्छ । आफूले गर्न नसक्ने कामको जिम्मेवारी अरुलाई पनि दिनुपर्छ । पार्टीको बैठक नियमित गर्नुपर्छ । योग्यता र क्षमता अनुसार सबैलाई जिम्मेवारी दिनुपर्छ । पार्टीका कार्यकारिणी समिति विस्तार गर्नुका साथै केन्द्रीय समिति, राजनीतिक समितिलगायतका संगठन चाँडै बनाउनुपर्छ । जिल्ला तथा प्रदेशका लागि कार्यक्रमहरु बनाएर जिम्मेवारी दिएर पठाउनुपर्छ । अध्यक्ष ठाकुरले आफ्ना वरिपरी परिक्रमा गर्ने, खुट्टा ढोगी रहने, चाप्लुसी गर्नेहरुबाट टाढा रहनुपर्छ । र, सबभन्दा महत्वपूर्ण कुरा यी सबै निर्णयहरु सामूहिक निर्णयका आधारमा गर्नुपर्छ ।

तपाईले दिएको सुझाव अनुसार पार्टी सञ्चालन भएन भने के हुन्छ ?
–पार्टी विखण्डन हुन्छ । पार्टीमा भाँडभैलो हुन्छ । पार्टी अनियन्त्रित हुन्छ । जसलाई जे मन लाग्छ त्यही हुन्छ । पार्टी विघटनमा जान्छ । कार्यकर्ताहरु निराश भएर अरु विकल्पको खोजीमा लाग्छन् । जुन पार्टीको हितमा छैन ।

के पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो गरी दुईटा पोल छन् ?
–म यसलाई दुईटा पोल भन्दिन । पार्टीमा एउटै पोल छ त्यो हो महन्थ ठाकुर । हामीले महन्थ ठाकुरलाई नै पोलका रुपमा लिन्छौं । तर समस्या कहाँ छ भने उहाँका वरिपरीहरुले उहाँलाई विगारीरहनु भएको छ । एउटै पोलको रुपमा रहन दिन चाहनु भएको छैन ।

तपाईको प्रतिक्रिया