विमलेन्द्रलाई टक्कर दिँदै महेन्द्र

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा विमलेन्द्र निधि प्रधानमन्त्री शेरबहादुर देउवको विरुद्ध सभापतिमा उम्मेदवारी दिनुभयो । त्यही गुटमा रहेर गुटकै नेता विरुद्ध उम्मेदवारी दिनु कम साहसको कुरा होइन तर त्यो साहस निधिका लागि निकै महँगो परेको छ । उहाँ पार्टीमा एक्लिदै जानु भएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाका सबभन्दा विश्वासपात्र भनेको विमलेन्द्र निधि नै हुनुहुन्थ्यो तर अहिले उहाँमाथि विश्वास गरेको छैन । त्यो ठाउँमा महेन्द्र यादवलाई ल्याइएको छ । त्यही धनुषाका महेन्द्र यादवले अहिले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणको आडमा विमलेन्द्र निधिलाई टक्कर दिइरहनु भएको छ ।

यद्यपी सभापतिमा हारेका निधिलाई पनि केन्द्रीय समितिमा मनोनित गरिएको छ । पटक पटकको पराजितका कारण निधिका कार्यकर्ता तथा नेताहरु निराश भएका छन् । उनीहरुको मनोवल घटेको छ । अन्ततः यसले आउने चुनावमा निधिलाई क्षति हुने आँकलन गरिएको छ । धनुषा क्षेत्र नम्बर ३ बाट उहाँ संसदीय चुनाव हार्नुभयो । त्यो पनि मधेशवादी दलका नेता राजेन्द्र महतोबाट जो अर्को जिल्ला (सर्लाही) बाट आएर उहाँलाई हराउनु भएको थियो । निधिको गृहजिल्ला तथा उहाँको पुरानो चुनावी क्षेत्र थियो । तैपनि अर्को जिल्लाबाट आएर उहाँलाई महतोले हराउनु भयो ।

यो निधिका लागि सबभन्दा ठूलो हार थियो । त्यसै बखतदेखि उहाँका कार्यकर्ता तथा मतदाताको मनोबल कमजोर भयो । त्यसपछि उहाँ पार्टीको महाधिवशेनमा सभापतिको उम्मेदवार बन्नुभयो । उहाँले थोरै मत ल्याएर सभापतिमा हार्नुभयो । त्यसले पनि उहाँलाई राजनीतिक जीवनमा ठूलो क्षति गर्यो । पार्टीमा कमजोर हुनु नै भयो । देउवा गुटमा पनि विश्वास पात्र रहनु भएन । त्यसपछि प्रदेश २ मा भएको काँग्रेसको प्रदेश अधिवेशनमा पनि उहाँका उम्मेदवार रामसरोज यादव पराजित हुनुभयो । प्रधानमन्त्री देउवा पक्षका कृष्ण यादव जित्नुभयो । यसले पनि उहाँलाई निकै ठूलो क्षति पुर्याएको छ । यसले उहाँ आफ्नो गृहजिल्ला तथा प्रदेशमा कार्यकर्ता तथा नेतामाझ निकै कमजोर हुनुभएको कुराको पनि पुष्टि गर्छ ।

अब बाँकी रह्यो जिल्लाको अधिवेशन । जिल्लामा पनि उहाँको अवस्था राम्रो छैन । उहाँले छिरेश्वर नगरपालिकाका मेयर योगेन्द्र परियारलाई जिल्ला सभापतिको उम्मेदवार बनाउनु भएको छ । उता प्रधानमन्त्री देउवाले आफ्नो पक्षबाट सन्तोष यादवलाई उम्मेदवार बनाउनु भएको छ । सन्तोष यादवले हिजो जिल्ला सभापतिमा उम्मेदवारी पनि घोषणा गर्नुभयो । यसपटक निधिले जिल्ला सभापतिमा पनि आफ्नो उम्मेदवारलाई जिताउन सक्नु भएन भने उहाँ राजनीतिक रुपमा समाप्त हुने धेरैको अनुमान छ । त्यसपछि के मुख लगाएर उहाँ कार्यकर्ताको माझमा जानु हुन्छ । कार्यकर्तासँग उहाँको बोल्ने अधिकार हुँदैन ।

उहाँ केन्द्रमा शक्तिशाली पदमा जान सक्नु भएन । प्रदेशमा पनि उहाँ कमजोर हुनुभयो । अब जिल्लामा पनि उहाँको उम्मेदवारलाई जित्न नदिनका लागि अहिलेदेखि तयारी भइरहेको छ ।

त्यसका लागि महेन्द्र यादव लागि पर्नुभएको छ । महेन्द्र यादव पनि देउवा गुटकै नेता हुनुहुन्छ । प्रदेश २ मा प्रधानमन्त्री देउवाका विश्वास पात्र भनेको महेन्द्र यादव र आनन्द ढुगांना हुनुहुन्छ । पार्टीका सहमहामन्त्री समेत रहेका महेन्द्र यादवले विमलेन्द्र निधिलाई टक्कर दिइरहनु भएको छ । त्यसमा गृहमन्त्री बालकृष्ण खाँणले पुरै सघाइ रहनु भएको छ । गृहमन्त्री खाँण महेन्द्र यादवसँग पटक पटक जनकपुर गएर कार्यक्रमहरु सहभागी हुनुभएको छ । महेन्द्र यादवले आयोजना गर्ने कार्यक्रमहरु खाँण नै प्रमुख अतिथी रहदै आउनु भएको छ । त्यसले महेन्द्र यादवको हाइट बढाएको छ ।

महेन्द्र यादव हरहमेशा गृहमन्त्री खाँणसँगै हुनुहुन्छ । गृहमन्त्रालयदेखि मन्त्री क्वाटरसम्म महेन्द्र यादवको हालीमुहाली छ । मनौ गृहमन्त्रालय खाँणले होइन, महेन्द्र यादवले चलाई रहनु भएको छ । त्यसले महेन्द्र यादवको प्रदेश २ मा पनि हालीमुहाली बढेको छ । र, त्यसको अगाडिमा निधि कमजोर हुँदै जानु भएको छ । निधि निकट जनकपुरका एक पत्रकारले भन्नुभयो, ‘निधिजी र महेन्द्र यादवको तुलना गर्न मिल्दैन, कहाँ निधि, कहाँ महेन्द्र । तर अहिले प्रधामन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणले उहाँलाई स्पेश दिनु भएको छ त्यसले आउने दिनमा पक्कै पनि निधिलाई टक्कर दिने खालको हुन्छ ।’

अहिले प्रदेश २ मा काँग्रेसका नेता आनन्द ढुगांना र महेन्द्र यादव मिलेर विमलेन्द्र निधिलाई कमजोर बनाइ रहनु भएको छ । केही दिन पहिले काँग्रेस निकट निजामती कर्मचारीको धनुषा जिल्ला अधिवेशन थियो । त्यसमा विमलेन्द्र निधिलाई सोध्दा पनि सोधिएन । सो कार्यक्रमको प्रमुख अतिथी आनन्दप्रसाद ढुगांनालाई बनाएको थियो । यसले पुष्टि हुन्छ कि प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्र, प्रदेशमा मात्र होइन, जिल्लामै निधिको हालत कस्तो बनाइ दिनुभएको छ ।

को हुनुहुन्छ महेन्द्र यादव ?
२०७४ सालमा बनेको देउवा नेतृत्वको सरकारमा महेन्द्र यादव खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्थ्यो । तरुण दलको अध्यक्ष भइसक्नु भएका महेन्द्र यादव काँग्रेसमा निधिका विश्वास पात्र मानिनु हुन्थ्यो तर अहिले उहाँले निधिको साथ छाडेर गृहमन्त्री बालकृष्ण खाँणको साथ लाग्नु भएको छ । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा महेन्द्र यादव उपाध्यक्ष हुनुुहुन्थ्यो ।
महेन्द्र यादवको जन्म २०१९ भदौ २ गते धनुषा जिल्लाको सपही–१ मा भएको हो । बुवा दिप नारायण यादव र आमा दिवसमैन यादवका छोरा महेन्द्र यादव बिज्ञान सकायको गणितशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँको श्रीमतीको नाम विना यादव हो ।

२०३५ सालमा राजनीतिमा प्रवेश गर्नुभएका उहाँ एक वर्ष बन्दी जीवन बिताउनु भएका र तीन महिना भूमिगत जीवन बिताउनु भएको छ । महेन्द्र यादव हाल कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष रहेर समेत काम गर्नुभएको छ । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित र १४ औं महाधिवेशनबाट सहमहामन्त्री बन्नु भएको छ । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद हुनुभएको थियो भने २०७४ को चुनावमा उहाँ धनुषा क्षेत्र नम्बर ४ मा एमालेका नेता रघुबीर महासेठ बाट चुनाव हार्नुभएको छ ।
-सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया