उपेन्द्र यादवको नाममा माछ भात

जनता समाजवादी पार्टी, नेपालमा प्रकाश अधिकारीको चर्चा खुब हुने गरेको छ । मधेशी नेताको बाहुल्य रहेको पार्टीमा प्रकाश अधिकारीको यो खालको हैसियतलाई सबैले अनौठो रुपमा लिइरहेको छ । पार्टीमा अहिले अध्यक्ष उपेन्द्र यादवको सबभन्दा नजिकको विश्वासपात्र प्रकाश अधिकारी हुनु भएको छ । प्रकाश अधिकारी पार्टीको कार्यकारिणी सदस्य हुनुको साथै कार्यालय सचिव पनि हुनुहुन्छ तर पार्टीमा उहाँलाई दिएको अधिकारका कारण धेरै नेताहरुले प्रकाश अधिकारीको आलोचना गरिरहनु भएको छ ।

स्वभाविक रुपमा उपेन्द्र यादवको विश्वास पात्र भएपछि प्रकाश आधिकारीमा त्यो अनुसार ‘अटिच्युड’ हुन्छ नै तर आवश्यकता भन्दा बढी अधिकार दिएर पार्टीकै अन्य वरिष्ठ नेताहरुलाई बाइपास गरेको आरोप पनि पार्टीमा लाग्ने गरेको छ । पार्टीमा अधिकाँश नेता प्रकाश अधिकारीको विरोध नै गरिरहनु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको आडमा पार्टीमा गुटबन्दी गर्नु, एक नेतादेखि अर्को नेताको बीचमा झगडा लगाई दिने काम उहाँले पार्टीमा गरिरहनु भएको आरोप पनि छ ।

सिरहा गोलबजार बेतौनाका प्रकाश अधिकारीका कारण सिरहामा जसपाको संगठन कमजोर भएको आरोप लाग्दै आएको छ । उहाँ उपेन्द्र यादवको नजिक भएको कारणले जिल्लामा उहाँको दवदवा छ । प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरु प्रकाश अधिकारीका नजिक हुनुहुन्छ । उहाँ पार्टी कार्यालय सचिव भएको कारणले पार्टीका अधिकाँश कुरा उहाँलाई जानकारी हुन्छ । त्यसलाई उहाँले कार्यकर्ता नेताहरुमाथि प्रयोग गर्ने गरेको आरोप उहाँमाथि छ ।

जसपाका भातृ संगठन समाजवादी युवा संघका प्रदेश २ का उपाध्यक्ष सकलदेव यादवले सिरहामा नेता प्रकाश अधिकारीले गुटबन्दी गरिरहेको दावी गर्नुभयो । उहाँ काठमाडौँबाट सिरहा आएपछि आफ्ना निकट नेताहरुलाई काँखी च्यापेर एक अर्काको विरोधमा झगडा लगाउने गर्नु भएको कारण यहाँ जसपाको संगठन कमजोर हुँदै गएको आरोप उहाँले लगाउनुभयो । ‘नेता प्रकाश अधिकारी एयरपोर्टमा ओर्लने वित्तिकै सिरहाका कुनै नेतालाई फोन गरेर गाडी मगाउनु हुन्छ, त्यहाँबाट गोलबजार आएपछि कसैबाट माछा मगाउन लगाउनु हुन्छ भने कसैबाट रक्सी त कसैबाट के हुकुम शैलीमा मगाउनु हुन्छ उहाँ चिया पसल र भठ्ठीमै चुनावका टिकट बाँड्नु हुन्छ, यसपाली तिमीलाई टिकक पक्का अर्थात उहाँले आफू उपेन्द्र यादवको खास मान्छे हुँ, आफूले जे भन्छु त्यही हुन्छ भन्दै नेता तथा कार्यकर्ताहरुबाट सेवा गराई रहनु हुन्छ, उपाध्यक्ष सकलदेव यादवले भन्नुभयो, ‘प्रकाश अधिकारीका कारण पार्टीलाई धेरै क्षति भइरहेको छ, जुन कुरा अध्यक्षज्युले बुझि रहनु भएको छैन ।’

प्रकाश अधिकारीलाई यसपाली राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्ने चाहना थियो । तर उहाँले सो अहिले नपाएपछि गुनासो गर्दै हिड्नु भएको छ । कतै कतै त उहाँ जसपा छाडेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी पार्टीमा पनि जानेसम्म कुरा पनि सुन्न थालिएको छ । सिरहामा मात्र होइन, गोलबजार मात्र पनि होइन बेतौनामा पनि उहाँको जनाधार छैन । उहाँले वडामा पनि चुनाव जितेर देखाई दियोस्, सकलदेव यादवले भन्नुभयो, जसको कुनै जनाधार छैन, मधेश आन्दोलनमा कुनै योगदान छैन, त्यो मान्छे आज हामीमाथि शासन गरिरहनु भएको छ ।’

२०४८ सालमा उहाँ माक्र्सवादी पार्टीबाट चुनाव लड्नु भएको थियो तर उहाँको जमानत पनि जफत भएको थियो । उहाँ कम्युनिष्ट पार्टीका पुरानो नेता हुनुहुन्छ । मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी पार्टीमा उपेन्द्र यादव र प्रकाश अधिकारीको भेट भएको थियो । दुवैजना विद्याथी नेता हुनुहुन्थ्यो । दुवैजना बौद्धिक नेता भएको कारणले उहाँहरुको बीचमा त्यतिबेला पनि कुरा मिल्थ्यो ।

उपेन्द्र यादव कम्युनिस्ट पार्टी छाडेर आफ्नै नेतृत्वमा पार्टी सञ्चालन गरेपछि पनि उहाँ दुईजनाको बीचमा कुराकानी भइरहन्थ्यो । विभिन्न समूहबाट विभाजित हुँदै प्रकाश अधिकारी महासचिव भएर संयुक्त माक्र्सवादी पार्टी गठन गर्नु भएको थियो तर उहाँले पार्टी चलाउन सक्नु भएन । अनि तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरी उपेन्द्र यादवको निकट हुनुभयो । पार्टी एकीकरण गर्ने वित्तिकै पार्टीको कार्यालय सचिव भएर पार्टी हाँक्न थाल्नुभयो । अहिले जसपामा पनि उहाँकै दवदवा छ ।

-सहारा टाइम्स पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया