गृहमन्त्रालयले अर्थ मन्त्रालयसँग माग गर्यो पाँच अर्ब

गृहमन्त्रालयले किसानलाई राहत वितरण गर्नका लागि अर्थ मन्त्रालयसँग पाँच अर्ब रुपियाँ माग गरेको छ । बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्नका लागि रकम माग गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विवरण अनुसार बाढी पहिरोको कारण ११ अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको छ । त्यसका लागि पिडित किसानलाई पाँच अर्ब रुपियाँ राहत दिने भएको छ । गृहमन्त्रालयले ३० जिल्लाका किसानको क्षतिको विवरण अर्थमन्त्रालयमा पठाएको छ ।

बाढी पहिरोले धानमा पारेको असर बारे संकलन गरिएको विवरणको आधारमा अर्थ मन्त्रालयसँग करिब पाँच अर्ब रुपियाँ माग गरिएको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । उहाँले कृषि मन्त्रालयले पठाएको विवरणलाई भेरीफाइ गरी अर्थ मन्त्रालयलाई पठाई सकेको छ, उताबाट जति छिटो रकम आइपुग्छ त्यति छिट्टो किसानले राहतले पाउने बताउनुभयो । अर्थ मन्त्रालयबाट आएको रकम गृहमन्त्रालयले जिल्ला विपद व्यवस्थापन समितिमा पठाउनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले विवरण अनुसार किसानको खातामा सो रकम पठाईनेछन् ।

बेमौसमी वर्षाका कारण किसानको धानमा ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रीपरिषद्को बैठकले किसानलाई पाँच अर्ब ५२ करोड रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार ९०२ रुपियाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो ।

१० कठ्ठासम्म खेत भएका साना किसानले ६५ प्रतिशतको दरले प्रतिकठ्ठा एक हजार ९२१ रुपियाँका दरले राहत पाउनेछन् । ४० कठ्ठासम्म खेत भएका किसानले ३० प्रतिशतको दरले प्रतिकठ्ठा आठ सय ८७ रुपियाँको दरले राहत पाउने छन् । ४० कठ्ठाभन्दा बढी खेत भएका किसानले २० प्रतिशतको दरले प्रति कठ्ठा ५९१ रुपियाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानले २० प्रतिशतका दरले प्रतिकठ्ठा ५९१ रुपियाँ दरले राहत पाउनेछन् ।

कृषि मन्त्रालयका अनुसार एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु¥याएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानबालीमा चार अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपियाँ बराबरको क्षति भएको हो ।
सुदूरपश्चिममा ३६ हजार चार सय ५५ हेक्टरमा लगाइएको धानबालीमा तीन अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा एक अर्ब ६१ करोड १५ लाख ८२ हजार, प्रदेश १ मा १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा एक अर्ब ३९ करोड २९ लाख ३६ हजार रुपियाँ बराबरको क्षति भएको छ । कर्णालीमा दुई हजार ७६७ हेक्टरमा लगाइएको धानबालीमा २९ करोड ४४ लाख नौ हजार रुपियाँ, गण्डकीमा एक हजार १९२ हेक्टरमा लगाइएको धानबालीमा १२ करोड ६८ लाख २९ हजार रुपियाँ बराबरको क्षति भएको छ । बागमतीमा पाँच सय ३० हेक्टरमा लगाइएको धानबाली पाँच करोड ६३ लाख ९२ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया