भारतसँग मल खरिद गर्ने सम्झौता अन्योलमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्ने तयारी गरेको थियो तर पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता हुने कि नहुने अन्योल भएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणको बेला दुवै देशका सम्बन्धित मन्त्रालयका सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने भनिएको थियो । तर भ्रमण नै स्थगित भएपछि हस्ताक्षर हुने कुरामा अन्योल देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएको छ । कृषि मन्त्रालयका एक पदाधिकारी अनुसार सम्झौतापत्रमा हस्ताक्षर हुनेमा ढुक्क थियो तर भ्रमण स्थागित भएपछि यस्तो देखिएको हो । अब सम्झौतापत्रमा कहिले हस्ताक्षर हुने टुगों नै छैन । यद्यपी कृषि मन्त्री महेन्द्रराय यादवले यस विषयमा आफूले यस विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी गरेको बताउनुभयो ।

जीटुजी प्रणाली अन्तरर्गत पाँच वर्षका लागि सम्झौता हुन लागेको थियो । सम्झौता भएपछि शुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने भनि दुई देशको बीचमा सहमति भएको थियो ।

नेपालमा खपत हुने सम्पूर्ण रसायनिक मलको ३० प्रतिशत भारतबाट जीटुजीमार्फत खरिद गर्ने बाँकी बोलपत्र आह्वान गरेर खरिद गर्ने मन्त्रालयको तयारी रहेको बुझिएको छ । त्यसैगरि कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलगायत चीन, बङ्गलादेश, ओमन, मोराकोसँग पनि जीटुजीमार्फत मल खरिद गर्ने प्रकृया सुरु गरेको छ । यी देशहरुलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको छ तर त्यसको जवाफ आइ नसकेको मन्त्रालयले जनाएको छ । यसअघि बंगलादेशबाट भएको जीटुजी सम्झौताअनुसार नेपालले ५० हजार मेट्रिकटन मल ल्याइ सकेको छ ।

नेपालमा यतिखेर मलको अभाव देखिएको छ । सरकारसँग हाल १२ हजार २०० मेट्रिकटन मल मात्र मौज्दात छन् । अन्तराष्ट्रिय रुपमा मलमा भएको मूल्य वृद्धिका कारण नेपालमा त्यसको असर देखिएको छ । मलको अभाव कम गर्नका लागि मन्त्रालयले जीटुजीमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ ।

तर गत वर्षको परिमाणमा मल खरिद गरी समयमै कृषकलाई उपलब्ध गराउने मन्त्रालयको प्रयासमा असहज अवस्था पैदा भएको कृषि मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा युरिया ३३८.८५ प्रतिशत र डिएपी २०२.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष प्रति मेट्रिकटन युरिया मल ३६०.८३ अमेरिकी डलरमा खरिद भएको थियो भने अहिले ९४९ अमेरकी डलर पुगेको छ । त्यस्तै, गत वर्ष ४५५.४१ रुपियाँमा पाउने डिएपी मल अहिले ९२०.५ अमेरिकी डलर पुगेको छ । मूल्यमा यतिको फरक परेको कारण मल व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया