मधेश आन्दोलन र जनयुद्ध एउटै होइन

–नरेश राय यादव
माओवादीले १० वर्ष गरेको जनयुद्ध र मधेशमा भएको जनविद्रोह फरक कुरा हो । दुवै आन्दोलन आआफ्नो ठाउँमा गरिमा कायम गरेको छ, इतिहास रचेको छ । देश परिवर्तनमा दुवै आन्दोलनको भूमिक अहम छ । तर यी दुवै आन्दोलन एउटै होइन । माओवादी एउटा पार्टीको रुपमा त्यो आन्दोलन को नेतृत्व गरेको थियो । एउटा वैचारिक सशस्त्र आन्दोलन थियो । तर मधेश विद्रोहमा सुरुमा कुनै पार्टीको संलग्नता थिएन । त्यतिबेला काँग्रेस, माओवादी, एमालेलगायत दलमा रहेका नेताहरु पनि मधेश आन्दोलनमा सहभागी भएका थिए । त्यो विशुद्ध मधेशी जनताले गरेको आन्दोलन थियो । पछि त्यो आन्दोलनको नेतृत्व मधेशी जनअधिकार फोरम त्यसपछि तमलोपा, सद्भावना हुँदै अन्य मधेशवादी दलहरुले गर्न थाले ।

तर आन्दोलनको सुरुवात मधेशी जनताले मात्र गरेको थियो । त्यतिबेला सामाजिक संस्थाको रुपमा रहेको मधेशी जनअधिकार फोरम नेपाल अगुवाई गरिरहेको थियो । फोरम समाजिक संस्था भएको कारणले नै त्यतिबेला मधेशका सबै तप्काका जनताले सहयोग गरेको थियो । त्यो आन्दोलनमा सहभागी हुन कसैलाई सहभागी कुनै संकोच थिएन । प्रदेश २ का सरकारले मधेशी प्रतिष्ठान गठन गरेको छ । त्यसमा जनयुद्ध शब्द पनि छिराएको छ । मधेश आन्दोलनको बदौलत मधेश सरकार (प्रदेश २) गठन भएको हो । त्यो सरकारका लागि मधेशीको रगत बगेको छ । मधेशी सहिदको रगतबाट सिंचित भएको सरकार हो । तर पछिल्लो समय गठबन्धन सरकार बनेपछि प्रतिष्ठानको विधान नै संशोधन गरेर त्यसमा जनयुद्ध शब्द पनि राख्ने काम भयो ।

माओवादी केन्द्रका नेता भरत साह प्रदेश २ सरकारको आन्तरिक मामिला मन्त्री भएपछि प्रतिष्ठान गठन भएको हो । हुन त त्यसअघि देखि नै अर्थात २०७६ मा ज्ञानेन्द्र यादव मन्त्री हुँदा प्रतिष्ठान गठन गर्ने प्रकृया सुरु भएको थियो । तर केही कारणवश उहाँ सरकारबाट हटेपछि प्रतिष्ठान गठन प्रकृया स्थगित भएको थियो । भरत साह मन्त्री भएपछि हामी सहिद परिवार दवाव दियौं र प्रतिष्ठान गठनको प्रकृया सुरु भयो । आफू माओवादीबाट मन्त्री भएको कारणले जनयुद्धमा सहिद भएका परिवारका लागि पनि केही गर्नुपर्छ भनि मन्त्री साहले प्रतिष्ठानको विधान जवरर्जस्ती संशोधन गरेर जनयुद्ध शब्द राख्नुभयो । र जनयुद्ध सहिद परिवारका दुईजना सदस्यलाई प्रतिष्ठानको सदस्यमा राख्नुभयो ।

यदि हामीले त्यो बेला त्यसको विरोध गरेको भए, यो प्रतिष्ठान पनि गठन हुने थिएन । सबै लथालिङ हुन्थ्यो । हामी बाध्य भएर जनयुद्धलाई स्विकार गर्यौ र जनयुद्धमा सहिद भएका परिवार तथा घाइते परिवारलाई त्यसमा समेट्न राजि भयौं । त्यतिबेला हाम्रो आग्रह थियो, जनयुद्ध र मधेश आन्दोलन अलग अलग भएका छन् भने एउटै प्रतिष्ठानमा किन राख्ने । जब कि त्यो प्रतिष्ठानको नाम नै मधेशी सहिद प्रतिष्ठान हो । जनयुद्धप्रति हाम्रो कुनै आग्रह, पूर्वाग्रह छैन । हामी मधेशी सहिद जतिकै सम्मान जनयुद्धका सहिद परिवारलाई पनि गर्छौ तर यसलाई अलग राख्दा नै राम्रो हुन्थ्यो भनि हामीले भनेका थियौं तर त्यतिबेला विभिन्न बाध्यताहरु थियो त्यो सम्भव भएन । अब त्यो प्रतिष्ठानबाट जनयुद्धको बेला प्रदेश २ बाट सहिद भएका परिवारलाई मधेशी सहिद परिवारको जस्तो सेवा सुविधा दिइनेछ । मधेशमा माघ ५ गते बलिदानी दिवस मनाए जस्तै माओवादी केन्द्रले पनि फागुन १ गते मधेशमै प्रतिष्ठानको तर्फबाट कार्यक्रम आयोजना गर्नेछ ।

माओवादी केन्द्रले प्रदेश २ मा सहिद परिवार तथा घाइते परिवारको तथ्यांक संकलन गर्ने कार्य सुरु गरि सकेको छ । फागुन २ गते ती परिवारलाई सम्मान गर्नुको साथै विभिन्न कार्यक्रमहरुको आयोजना गर्नेछ । कार्यक्रम गर्नु, सम्मान गर्नुमा हाम्रो कुनै गुनासो छैन । मधेशी सहिद परिवार संघर्ष समितिको तर्फबाट हामी पनि सम्मान गर्छौ तर एउटै प्रतिष्ठानमा दुईटा अलग अलग विषयवस्तुलाई समावेश गर्नुमा आफूहरुका चित्त दुखाइ छ । जनयुद्धका सहिद परिवार तथा घाइते परिवारका लागि कुनै छुटटै निकाय बनाउँदा पनि हुन्थ्यो ।

प्रतिष्ठानको अध्यक्षमा मन्त्री भरत साह हुनुहुन्छ भने मधेशी सहिद परिवारको तर्फबाट म आफै (नरेश यादव), सिम्तीकुमारी साह रहनु भएको छ भने जनयुद्ध सहिद परिवारको तर्फबाट कविता कुमारी ठाकुर र सुरेन्द्रकुमार जयसवाल रहनु भएको छ । प्रदेश २ सरकारका अन्य मन्त्रीहरु सदस्य सचिवको रुपमा रहनु भएको छ । प्रतिष्ठानले मधेशी सहिदका लागि कामहरु अगाडि बढाएको छ । त्यसमा हामीलाई खुशी लागेको छ । एक सहिद परिवार एक रोजगार दिने निर्णय सरकारले गरेको थियो । त्यसमा हालसम्म ३५ जनाले रोजगारी पाइसकेका छन् भने सरकारको तथ्यांक अनुसार १७ जना अझै बाँकी छन् । सरकारी नियमानुसार जोजो सहिद घोषणा भएका छन् उनको परिवारलाई मात्र प्रदेश सरकारले रोजगारी दिने भएको छ ।

अन्य सहिद परिवारका सदस्यलाई पनि भरपोषणको व्यवस्था गर्ने तथा जो सहिद घोषणा भएको छैन त्यसलाई सहिद घोषणा गर्न लगाउने प्रकृयामा जाने भनेको छ । प्रदेश २ का प्रत्येक जिल्लामा मधेशी सहिद पार्क बनाउने सरकारले निर्णय गरेको छ । त्यसका लागि एउटा जिल्लाका लागि ७५ लाख रुपियाँ छुट्याएको छ । पार्कका लागि जग्गाको खोजी भइरहेको छ । त्यो पार्कमा त्यो जिल्लामा जति पनि मधेशी सहिदहरु छन् उनीहरुको स्ट्याचु राखिने भनेको छ । सहिद परिवारलाई परिचयपत्र दिने काम पनि अन्तिमचरणमा पुगेको छ । माघमसान्तभित्र त्यो पनि प्रदान गर्ने सरकारले भनेको छ । हामीले सहिदका बच्चालाई निशुल्क शिक्षा दिन भनेका छौं । त्यसको बारेमा अहिले कुनै निर्णय भएको छैन तर हामीले त्यसका लागि दवाव दिँदै आएका छौं ।

मधेश आन्दोलनको क्रममा सहिद हुने परिवारलाई ५० लाख रुपियाँ दिने घोषणा मधेशवादी दलले गरेको थियो । त्यसको कुरा पनि हामीले उठाई रहेका छौं । तर प्रदेश २ सरकारले त्यो रकम केन्द्र सरकारबाट दिलाउने भनिएको थियो । त्यसका लागि केन्द्र सरकारलाई दवाव दिइरहेको भन्दै आएको छ तर कहाँबाट हुन्छ त्यो रकम दिनै पर्छ भनि हामीले दवाव दिँदै आएका छौं । माघ ५ गते प्रदेश २ सरकारले बलिदानी दिवस सप्तरीमा मनाउने भएको छ । त्यहाँ प्रत्येक सहिद परिवारलाई सम्मान गर्नुको साथै ती परिवारहरुलाई तीन लाख नगद दिने भएको छ ।

त्यस्तै मधेश आन्दोलनको क्रममा घाइते भएकालाई पनि सम्मान गर्नुको साथै नगद सहयोग गर्ने भएको छ । जो पुरै अशक्त छन् उसलाई जनही तीनलाख, त्यसभन्दा कम घाइतेलाई अढाई लाख, त्यसभन्दा पनि कम घाइतेलाई दुईलाख र समान्य घाइतेलाई २५ हजार रुपियाँ प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।
(सर्लाहीका नरेश यादवसँग गरिएको कुराकानीमा आधारित । नरेश यादव सहिद परिवारका सदस्य तथा मधेशी सहिद परिवार संघर्ष समितिका संयोजक पनि हुनुुहुन्छ । २०६३ माघ २१ गते उहाँका दाजु दिनेश राय यादव मधेश आन्दोलनको क्रममा सहिद हुनुभयो ।)

तपाईको प्रतिक्रिया