मधेशीले पहिचान पायो, अधिकारका लागि संघर्ष जारी छ–नेता सोनल

बारा माघ ५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री जितेन्द्र सोनलले मधेशी शहीदले देखेको सपना मधेश प्रदेशको स्थापना गरेर पुरा भएको बताउनुभयो ।

लोसपा बारा जिल्ला कार्य समितिद्वारा १५ औं बलिदानी दिवसको अवसरमा आयोजित ‘वर्तमान परिस्थितिमा लोसपा नेपालको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मधेश प्रदेश र मधेश सरकार गठन गर्ने सपना मधेश आन्दोलनमा बलिदानी दिएका सहिदहरुले देखेका थिए ढिलो भएपनि त्यो सपना पुरा भएकोमा सम्पूर्ण योद्धा तथा वीर सहिद परिवारलाई धन्यवाद दिन चाहेको बताउनुभयो ।

मधेशी जनताले पहिचान पाएको छ तर अधिकार पाउन अझै बाँकी छ, त्यसका लागि लोसपा संघर्ष गरिरहेको बताउँदै उहाँले लोसपा संघर्षका लागि जन्मेको पार्टी हो र जसरी मधेशीलाई पहिचान दिलाउन सफल भयो त्यसरी नै अधिकार दिलाउन सफल हुने कुरामा आफूलाई विश्वास लागेको बताउनुभयो ।

उहाँले आठवटा प्रदेश मात्र मधेश होइन, तराई मधेशका २२ वटै जिल्ला मधेश हो र त्यसको पहिचानका लागि पनि आफूहरुको संघर्ष जारी रहेको बताउनुभयो । भूँइको टिप्दा गोजीको पनि नझरोस् भन्ने कुराको पनि ध्यान राख्नुपर्छ, उहाँले भन्नुभयो, आज आठवटा जिल्लालाई मधेश बनाउन सफल भयौं अब अरु जिल्लालाई पनि मधेश नामाकरण कसरी गर्ने त्यसका लागि सघर्ष गर्न आवश्यक छ र त्यसका लागि लोसपा तयार छ ।’

यो आठवटा जिल्ला अर्थात प्रदेश २ को नाम मधेश नहोस् भनि ठूलो षड्यन्त्र भएको थियो तर त्यो षड्यन्त्रलाई चिर्न आफूहरु सफल भएको र थप अधिकार र पहिचानका लागि लडाई अगाडि बढाउने उहाँले धारणा राख्नुभयो ।

लोसपा नेपालको जिल्ला अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सभाका संसदीय दलका उप नेता रानी शर्मा, सचेतक प्रमेश्वर साह, प्रदेशसभा सदस्य अभिराम शर्मा, लोसपाका नेताहरु जैनुल राईन, बबिता देबी, प्रहाल्द गिरीलगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित नेताहरुले मधेश आन्दोलनमा सहादत दिएका सहिदको फोटोप्रति मल्यार्पण गर्दै सहिदको सपना सकार गर्न संघर्षलाई निरन्तता दिने धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया