यी जिल्लहरुमा खुवाइदैछन् हात्तीपाइले विरुद्धको औषधिको

काठमाडौँ फागुन २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा महाशाखाका निर्देशक डा चुमनलाल दाशले १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिनुभयो ।

उहाँले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने बताउनुभयो । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । उहाँले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुई÷दुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको बताउनुभयो । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ ।

हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ । ती १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन थालिएको हो । चार हजार ७०० स्वास्थ्यकर्मी र आठ हजार ८०० महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हात्तीपाइले रोग सामाजिक रोग भएकाले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताउनुभयो । विश्वमा ७२ देशमा देखिएका हात्तीपाइले रोग नेपाल २५ देशमध्ये जोखिममा पर्ने गरेको छ ।

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ । यो रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारणले हुने दीर्घकालीन असर हात्तीपाइले र अण्डकोश सुन्निे गर्दछ ।

तपाईको प्रतिक्रिया