महानगरलाई युवा र विकास दुवैको आवश्यकता छ

भारतमा पनि दुई वर्ष भूमिगत रहेर नै आफ्नो पढाई पुरा गरे । पढाईका साथै संगठनका काम पनि गर्थे । मधेश आन्दोलन सुरु भएपछि त्यसमा एउटा पार्टीका सिपाहीको रुपमा आफ्नो भूमिका निर्वाह गरे ।

–अमरेन्द्र यादव
विराटनगर महानगरपालिको महानगर अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल

अमरेन्द्र यादव (दीपेश) जनता समाजवादी पार्टी विराटनगर महानगरपालिकाका महानगर कमिटीको अध्यक्ष हुनुहुन्छ । उहाँ अगामी स्थानीय चुनावमा महानगरको मेयरमा उम्मेदवारी दिने सोच बनाउनु भएको छ । भारतबाट विधि विज्ञानमा मास्टर्स गर्नुभएका अमरेन्द्र यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ । जबदेखि मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभयो, त्योबेलादेखि उपेन्द्र यादवसँग जोडेर विभिन्न टिकाटिप्पणी सुरु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयं आफ्नो छोरालाई महानगरबाट स्थानीय तहमा उठाउने रे, बुवाको बलमा मेयरको टिकट लिने जस्ता टिप्पणीहरु सुरु भएको छ । तर अमरेन्द्र यादवले यो कुराको पुरै खण्डन गर्नुभएको छ । उहाँले अरु नेताको छोराछोरी जस्तो म होइन, राजनीतिमा बुवाको सम्बन्ध कस्तो हुनुपर्छ र अध्यक्षको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा राम्री थाह छ भन्नुभएको छ । मोरङ् जिल्लाको जसपा युवा संगठनबाट संगठनात्मक राजनीति सुरु गर्नुभएका अमरेन्द्र यादव युवा संगठनको केन्द्रीय सदस्यसम्म बन्नुभएको थियो । हाल महानगर अध्यक्ष रहनु भएका अमरेन्द्र यादवसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको सम्पादीत अंशः

विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लड्नेमा तपाईको चर्चा भइरहेको छ त्यसमा कतिको सत्यता छ ?
–हो चुनाव लड्ने तयारी थालेको छु तर हालसम्म औपचारिक घोषणा गरेको छैन । म जुनबेला जसपा विराटनगर महानगरपालिका कमिटीको अध्यक्ष भए त्यही दिनदेखि मेयरको तयारी थाल्नी गरेको थिए । महानगरपालिकाको अध्यक्ष भएदेखि म पुरै समय विराटनगरमै जनताको बीचमा दिन थालेको छु । आफूलाई मेयरको अगामी उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेको छु । जनताको दुखसुखमा साथ दिइरहेको छु । विकास निर्माणका कामहरु पनि गरिरहेको छु । त्यसले गर्दा चर्चा सुरु भएको छ । र, त्यसमा सत्यता पनि छ ।
महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चासँगै उपेन्द्र यादवको छोराको रुपमा तपाईको बारेमा चर्चा हुन थालेको छ, त्यसले

तपाईलाई टिकट प्राप्तिमै असर त गर्दैन ?
–म उपेन्द्र यादवको छोरा हुँ त्यो मेरो गलती हो र । सबैजना कसैको न कसैको छोरा हुन् । त्यसै अन्तरर्गत म पनि उपेन्द्र यादवको छोरा हुँ । घरपरिवारमा उहाँको छोरा हुँ तर राजनीतिक जीवन तथा पार्टीमा उहाँ मेरो पार्टीका अध्यक्ष हुनुहुन्छ र म उहाँको कार्यकर्ता हुँ । मलाई विश्वास छ, मेरो उम्मेदवारीमा बुवा–छोराको सम्बन्धले असर गर्ने छैन । म यसमा सचेत छु र सायद वुवा पनि त्यसमा सचेत हुनुहुन्छ । कसैको बुवा पार्टीका अध्यक्ष हुनुहुन्छ भने त्यसको छोराछोरीले राजनीति नै गर्नु हुँदैन भने छैन नि । बुवा–छोराछोरीको सम्बन्धले पार्टीमा कति प्रभाव पार्छ त्यसमा भर पर्छ तर पार्टीमा राजनीतिक सम्बन्ध मात्रै राखे भने जुन आशंका गरिएको छ । सायद त्यो हुँदैन । विश्वमा यस्ता थुप्रै उदाहरणहरु छन् जहाँ बुवा–छोरा वा छोरी, आमा–छोरा वा छोरी एउटै पार्टीमा रहेर फरक ढंगबाट अगाडी बढेका छन् । पार्टीमा यो महसुस नै हुन दिँदैन कि बुवा छोराको सम्बन्ध छ । मेरो हकमा पनि त्यही हुन्छ ।

तपाई जे भनेपनि यदि तपाईले टिकट पाउनु भयो भने पार्टीभित्र र बाहिर पनि पार्टीका अध्यक्ष बुवा भएको कारणले टिकट पाएको आलोचना हुनसक्छ नि यसलाई तपाई कसरी चिर्नुहुन्छ ?
–त्यसको जवाफमा म एउटै जवाफ दिन्छु कि यसको जवाफ समयले दिन्छ, मेरो कामले दिन्छ । मलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवको छोराको रुपमा हेर्नुहुँदैन । पार्टीमा मेरो योगदान, लगनशिलता, प्रतिवद्धता र लगानीलाई पनि हेर्नुपर्छ । पार्टीमा म उपेन्द्र यादवको छोराको रुपमा मात्र छु कि अन्य भूमिकामा पनि छु यो पनि हेर्नुपर्छ । म सात–आठ कक्षा पढ्दादेखि नै भूमीगत जीवन बिताउन सुरु गरेको थिए । माओवादी जनयुद्धका कारण बुवा भूमिगत भएपछि राज्यबाट हाम्रो परिवारले कति टर्चर पायो, त्यो कसैले देखेको छैन । मधेश आन्दोलनमा मेरो आमा घाइते भएपछि दर्जनभन्दा बढी टाका लागेको थियो ।

सेना, प्रहरीले पटक पटक घरतलाशी लिँदा आमाले कति मानसिक तनाव झेल्नु भयो त्यो कसैले देख्नु भएको छैन । म स्कूलमा पढ्दा सेना तथा प्रहरी हत्या गर्नकै लागी पटक पटक स्कूलमा जान्थे । यदि म परीक्षाको अन्तिम दिन पर्खाल नाघेर नभागेको भए आज तपाईसँग कुरा गर्ने अवस्थामा रहदैन्थे होला । भारतमा पनि दुई वर्ष भूमिगत रहेर नै आफ्नो पढाई पुरा गरे । पढाईका साथै संगठनका काम पनि गर्थे । मधेश आन्दोलन सुरु भएपछि त्यसमा एउटा पार्टीका सिपाहीको रुपमा आफ्नो भूमिका निर्वाह गरे । जतिसके आन्दोलनमा योगदान नै दिए । आन्दोलनकै कारण प्राप्त उपलब्धीमा धेरैले फाइदा लिए तर मैले केही फाइदा लिइनन् ।

बुवाले चाहेको भए मलाई सांसद, मन्त्री मज्जाले बनाउन सक्नु हुन्थ्यो वा कुनै पोल्टिकल नियुक्ति पनि दिलाउन सक्नु हुन्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । उहाँले आफ्नो राजनीतिमा परिवारका सदस्यहरुलाई आफ्नो वरिपरी पनि आउन दिनुभएको छैन । यो उहाँको माहनता हो । र उहाँले त्यो कायम राख्नु हुन्छ । म पनि नेतालाई भनसुन गरेर पार्टीको कुनै ठूलो पदमा जान सक्थे तर मैले नै ग्रासरुटबाट मात्र माथि आउने सोच बनाएर राजनीतिमा लागेको हुँ । पहिला मोरगं जिल्लाको युवा संगठनको सदस्य बनेका थिए । त्यसपछि युवा संगठनकै केन्द्रीय सदस्य बने । लामो समय केन्द्रीय सदस्यमा बसेपछि अहिले पालिकामा गएको छु । अर्थात पार्टीमा मैले दिएको योगदान र मेरो अवद्धतालाई हेरेर मेरो मूल्यांकन गर्दिए राम्रो ।

पार्टीमा म उपेन्द्र यादवको छोराको रुपमा मात्र छु कि अन्य भूमिकामा पनि छु यो पनि हेर्नुपर्छ । म सात–आठ कक्षा पढ्दादेखि नै भूमीगत जीवन बिताउन सुरु गरेको थिए ।

एउटा कुरा, तपाई भारतबाट विधि विज्ञानमा मास्टर्स गर्नुभएको छ, त्यही क्षेत्रमा काम नगरेर यो राजनीतिमा किन आउनु भयो ?
–मैले जुन विषयमा अध्ययन गरेको छु, त्यस क्षेत्रमा म काम पनि गरिरहेको छु । डब्लुएचओलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संघ संस्थामा आवद्ध भएर काम गरिरहेको छु । तर १०–५ जस्तो वा नियमित काम छैन । आवश्यकता अनुसार क्षेत्रमा आएका कामहरु बीच बीचमा गरिरहेको हुन्छु । मेरो मुख्य उद्देश्य भनेको राजनीति नै हो ।

म बाल्यकालदेखि राजनीतिक माहोलमा हुर्केको छु । त्यही भएर राजनीतिलाई मैले नजिकबाट बुझेको छु । त्यसलाई नजिकबाट अनुभव गरेको छु । त्यही कारणले मेरो झुकाव राजनीतितिर गएको हो । राजनीतिको माध्यमबाट पनि यो समाजका लागि धेरै थोक गर्न सकिन्छ जस्तो लागेर म यो क्षेत्रलाई रोजेको हुँ । खासगरि मेरो अर्को चाहना भनेको राजनीतिमा युवाहरुको सहभागिता बढोस्, यो क्षेत्रमा पनि पढे लेखेका मान्छे आयोस् । समाजमा एउटा माइण्डसेट के भएको छ भने अनपढ, केही नबुझेका औठा छापहरु मात्र राजनीतिमा छन् । बेलाबेलामा जनताले नेताहरुको डिग्री खोजिरहेका हुन्छ । त्यसबेला नेताहरु नाजवाफ हुन्छ । अब त्यस्तो नहोस् भनेर पढे लेखेका युवाहरु पनि राजनीतिमा लाग्नुपर्छ । पछिल्लो समय पढे लेखेका युवाहरु पनि राजनीतिमा लाग्न थालेका छन् ।

तपाई मेयरमा लड्दै हुनुहुन्छ भन्ने कुराको जानकारी पार्टीलाई छ ?
–औपचारिक जानकारी छैन । मैल औपचारिक रुपमा जानकारी पनि गराएको छैन । तर अनौपचारिक रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइलाई अनौपचारिक जानकारी गराएको छु । उहाँहरुको सकारात्मक प्रतिकृया छ । तर निर्वाचन सम्बन्धी पार्टीभित्र सम्पूर्ण प्रकृया पुरा नभएसम्म कुनै कुरा आधिकारिक मान्न सकिदैन । त्यतिबेलासम्म सबै अनौपचारिक नै हुन्छ । पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । त्यहाँ स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित भएको छ तर त्यसमा के छ त्यसको सर्कुलर आइपुगेको छैन । त्यसलाई मैले अध्ययन गर्न बाँकी नै छ । केन्द्रीय समितिको बैठकपछि के निर्णय हुन्छ त्यसपछि औपचारिक प्रकृया सुरु हुन्छ ।

चुनाव लड्दैछु भनेर तपाई आफ्नो बुवा उपेन्द्र यादवसँग कुराकानी गर्नुभएको छ कि छैन ?
–मैले एकपटक कुरा राखेको छु । उहाँले उम्मेदवार चयन गर्ने प्रकृया के बन्दछ, त्यो अनुसार आउनुपर्छ । तल्लो कमिटीबाट प्रकृयागत सिफारिस हुँदै माथीसम्म नाम आयो भने मात्र त्यसमा पार्टीले केही गर्न सक्छ अन्यथा केही सकिदैन । बुवाले तल्लो तह अर्थात ग्रासरुटबाट चयन हुँदै आउनुपर्छ भन्नु भएको हो ।

विराटनगर महानगरपालिकामा १९ वटा वडा छन् । लगभग म सबै वडामा पुगिसकेको छु । जनताको पीडमर्का बुझ्ने प्रयास गरेको छु । उनीहरुको समस्यालाई समाधान गर्ने प्रयास गरेको छु । सानादेखि साना, ठूलादेखि ठूला समस्याहरुलाई समाधान गर्ने प्रयास गरेको छु ।

तपाईले आफ्नो नाम अचानक मेयरमा ल्याएपछि ग्रासरुटका जनता वा पार्टीका कार्यकर्ताले तपाईलाई पत्याउला ?
–यो अचानक होइन, यो मेरो धेरै दिनको तयारी हो । मैले पार्टी कमिटीको ग्रासरुटमै काम गरेको छु । ग्रासरुटकै संगठनबाट आफ्नो राजनीति यात्रा सुरु गरेको छु । मैले एकचोटी फेदमा जाने चेस्टा गरेको छैन । त्यही भएर मलाई ग्रासरुटका जनता पत्याउँछ भनि विश्वास छ ।

तपाईलाई विराटनगर महानगरपालिकाका अढाई लाख जनताले किन पत्याउँछन् त ?
–विराटनगर महानगरपालिकामा १९ वटा वडा छन् । लगभग म सबै वडामा पुगिसकेको छु । जनताको पीडमर्का बुझ्ने प्रयास गरेको छु । उनीहरुको समस्यालाई समाधान गर्ने प्रयास गरेको छु । सानादेखि साना, ठूलादेखि ठूला समस्याहरुलाई समाधान गर्ने प्रयास गरेको छु । स्वास्थ्य समस्या होस् या अड्डा अदालतको समस्या होस सकभर ती समस्या समाधानका लागि मैले प्रयास गरेको हुन्छु । विकास निर्माणका कामहरु पनि गरेको छु । स्वास्थ्य चौकी, राष्ट्रिय स्तरको ल्याब, पुल, सडकलगायतका काम पनि गरेको छु । काँग्रेसबाट मेयरमा जित्नु भएका भिम पराजुलीले पाँच वर्षमा केही काम गर्नुभएको छैन । विराटनगरमा अहिले जेजति काम देखिएको छ त्यो एडीबीको काम हो । उहाँ धर्मकर्म मान्छे भएपनि मद मन्दिर पनि बनाउनु भएन । शिक्षा, स्वास्थ्यको अवस्था पनि त्यस्तै छ । किसानले राहत महसुस गरिरहेको छैन । शौचालय, ओभरब्रीज बनाउने प्रतिवद्धता मेयरले गर्नुभएको थियो अहिलेसम्म बनाउनु भएको छैन । उहाँमाथि कोरोनाको भ्याक्सिन बेचेको आरोप पनि लागेको छ । मेयर भिम पराजुलीबाट जनता आजित भइसकेका छन् ।

तपाईकै पार्टीबाट पनि विभिन्न उम्मेदवारहरु देखिएका छन्, त्यो तपाईका लागि चुनौत हो नि ?
–एकजना बाहेक अरु कसैले औचारिक घोषणा गरेको छैनन् । यस्तै सञ्चारमाध्यम, फेसबुकमा आएका कुराहरु हुन् । जसरी मैले तपाईसँग उम्मेदवारीको बारेमा कुरा गरिरहेको छु तर मेरो औपचारिक घोषणा भएको छैन । जुनदिन पार्टीको आधिकारीक निर्देशिका आउँछ, उम्मेदवार चयनका लागि एउटा मापदण्ड बन्छ । प्रकृयाद्वारा चुनिए पछि मात्र औपचारिक घोषणा गर्ने हो । अहिल त आआफ्नो इच्छा व्यक्त गर्ने हो अरुको इच्छा बुझ्ने हो । औपचारिक घोषणापछि जजसको नाम आउँछ त्यो नै आधिकारीक हुन्छ ।

तपाईको प्रतिक्रिया