नेपालका किसानले पनि प्रयोग गर्न सक्ने भए नानो युरिया मल

किसानका लागि हुने गरेको रासायनिक मलको हाहाकारलाई कम गर्नका लागि नेपालमा नानो झोल युरिया रासायनिक मल प्रयोगमा आउने भएको छ । भारतमा यो नानो युरियाले मलले राम्रो नतिजा ल्याएको छ । भारतबाट नेपालमा आयात गरी रासायनिक मलको हाहाकार कम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नानो युरिया मल आयतका लागि अनुमती दिने निर्णय गरेको छ ।

यसअघि दानादार युरिया मल मात्र पाइन्थ्यो अब झोलबाला युरिया मल पनि पाइने कृषि मन्त्री महिन्द्रराय यादवले बताउनुभयो । दानाबाला युरिया मलभन्दा सस्तो र सजिलो उपलब्ध हुने भएकाले नेपाली किसानले पनि नानो युरिया मल नै प्रयोग गर्ने भएको छ ।

नानो युरिया मललाई नेपालको मलमा सुचीकृत गरेको सूचना राजपत्रमा पनि प्रकाशित भइसकेको छ । योसहित नेपालमा अब ५३ प्रकारको मल पाइने भएको छ । नेपालमा प्राङ्गारिक मलको मात्र झोल पाइन्थ्यो । पहिलो पटक नेपालमा रासायनिक मल पनि झोलका रुपमा पाउने भएको छ । यसको उत्पादन भारतमा हुन्छ । त्यहाँबाट सजिलै तरिकाले खरिद गरेर ल्याउन सकिन्छ । नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनि परीक्षणका लािग कृषि मन्त्रालयले मन्त्रालयका सहसचिव रहनु भएका माटो विज्ञ डा.चन्द्र ढकालको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले खुमलटारमा नानो युरिया मलको परीक्षण गरेको कृषि मन्त्रालयका सहसचिव कमलराज गैरेले बताउनुभयो ।

समितिले काउली तरकारीमा यो नानो युरिया मलको प्रयोग गरेको छ । काउलीमा गरिएको परीक्षण सफल भएपछि नेपालमा यो नानो युरिया मल प्रयोग गर्न सकिने सिफारिस गरिएको सहसचिव गैरेले बताउनुभयो ।

काउली तरकारीमा गरेको परीक्षणका आधारमा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १५० रुपियाँ प्रतिहेक्टर कम लगानी परेको पुष्टि भएको छ । उत्पादन पनि दानाबाला युरिया प्रयोग गरेको भन्दा यसको प्रयोगले उत्पादन बढी देखिएको छ । परीक्षण गर्दा अन्य मलको तुलनामा नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन भएको देखाइएको छ ।

यो मल प्रयोग गर्दा लगानी कम र उत्पादन बढी हुने परीक्षणले पुष्टि गरेपछि सरकारले प्रयोगका लागि किसानलाई अनुमति दिएको उहाँले जानकारी दिनुभयो । एक बोरा (५० केजी) दानादार युरिया मल बराबर ५०० एमएल नानो झोल मल हुने गरेको छ । ५०० एमएल झोलबाला युरिया मलको तीनसय ८० रुपियाँ मात्र पर्छ जब कि एक बोरा दानाबाला युरिया मलको मूल्य अनुदानसहित ७५० रुपियाँ पर्छ । सहसचिव गैरेका अनुसार दानादार युरिया मल माटोमा छर्न सकिन्छ तर यो नानो युरिया मल बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ । नानो युरिया मल छर्नका लागि दानाबाला भन्दा अलि महँगो र झन्झटिलो छ ।

नानो मल छर्नका लागि ड्रोन चाहिन्छ, ड्रोन नभए अरु छर्किने मेसिन नै चाहिन्छ, त्यसका लागि अतिरिक्त खर्च लाग्छ । दानाबाला युरिया मल किसानले सिधै छर्न सकिन्छ । अहिले सरकारले नानो युरियामा अनुदान दिएको छैन । कुनै आयातकर्ताले बाहिरबाट ल्याउन चाहे कानुनी प्रकृया पुरा गरेर ल्याउन सकिनेछ ।

तपाईको प्रतिक्रिया