गुणस्तरहिन औषधी बेच्नेलाई कारवाही गर्न सक्दैन कृषि मन्त्रालय

पशुका लागि अतिरिक्त आहाराको रुपमा खुवाउने न्युन गुणस्तरको औषधी बजारमा छ्यापछ्याप्ती पाउन थालेका छन् तर कानुन अभावका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । कारवाही गर्न नसकेपछि पशु सेवा विभागले बजारमा देखिएको कम गुणस्तरको फिड सप्लिमेन्ट (पशुका लागि अतिरिक्त औषधीजन्य आहारा) फिर्ता लैजान आयातकर्तालाई निर्देशन दिएको छ ।

पशुलाई आहाराको रुपमा खुवाउने सो औषधीजन्य सप्लिमेन्ट मापदण्डअनुसार नदेखिएपछि त्यसलाई बजारबाट फिर्ता लैजान मुख्य विक्रेताहरुलाई निर्देशन दिएको विभागका निमित्त महानिर्देशक डा.लेखराज दाहाल जानकारी दिनुभयो । भारतको विभिन्न पाँचवटा कम्पन्नीबाट उत्पादित १२ वटा औषधीजन्य फिड सप्लिमेन्ट फिर्ता लैजानका लागि नेपालका मुख्य विक्रेताहरुलाई निर्देशन दिइएको छ । नेपालका विक्रेताहरुले विभागबाट अनुमति लिएर भारतबाट ती औषधी आयात गरेका थिए । तर अनुमति लिँदा तोकिएको मापदण्डअनुसार नदेखिएपछि त्यसलाई फिर्ता लैजान भनिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले जानकारी दिनुभाये ।

बजारमा भेटिएका १२ वटै औषधीजन्य फिड सप्लिमेन्ट भारतीय कम्पनीबाट उत्पादीत हुन् । पारा भेट फर्मा, गमी हेल्थ केयर, हर्बल फर्मुलेशन, अरविन्द हर्बल ल्याब, कैलाश भेट हेल्थ केयर कम्पनीहरु रहेका छन् । त्यसमा गमी हेल्थ केयरले अल फेरोल, अलमिन फोर्ट र ग्रो कल सप्लिमेन्ट, हर्ब फर्मुलेशन कम्पनीले एम भाइटोसोल, एम कल फोर्ट एडी थ्री, एम फेरल, कैलाश भेट हेल्थ केयरले आर.बी. टोन फोर्ट, भिटाम एच, आज–कल–फोर्ट, थान केयर पाउडर, पारा भेट फर्माले स्ट्रोङ भिट एडी थ्री लिक्वीड र अरविन्द हर्बल ल्याबले अर्विकल एडी थ्री फिड सप्लिमेन्ट उत्पादन गरेका छन् । जुन न्युन गुणस्तर रहेको विभागका निमित्त महानिर्देशक दहालले बताउनुभयो । यी सबै सप्लिमेन्टलाई २०२१ फरवरीदेखि अक्टुबरसम्ममा उत्पादन गरिएको हो । त्यसको म्याद २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म रहेको छ ।

प्रवक्ता ढकालले भन्नुभयो, कम्पनीहरुले बाहिरबाट आयात गर्नका लागि विभागसँग अनुमती माग्दा जे मापदण्ड तोकिएको थियो, त्यो अनुसारको औषधी बजारमा देखिएको छैन । ती औषधीहरुलाई ल्यावमा परीक्षण गर्दा न्युन गुणस्तरको भेटिएको छ ।’ गलत फिड सप्लिमेन्ट बेच्नेलाई करवाही गर्ने पशु सेवाको विभागको ऐनमा उल्लेख छैन । गाईवस्तुलाई खुवाउने औधषीजन्य फिड सप्लिमेन्ट न्युनगुणस्तरको भेटिएको जानकारी औषधी सेवा विभागलाई गराउने हो, त्यस्ता कम्पनी तथा आयातकर्तालाई कारवाही गर्छ कि गर्दैन आफूहरुलाई थाह नभएको उहाँले बताउनुभयो ।

गलत औषधी विक्रि वितरण गर्यो थाह पाएपछि ती विक्रेतालाई फिर्ता लैजाउसम्म भन्ने हो तर कारवाही गर्न सकिदैन, प्रवक्ता ढकालले भन्नुयभो, हामीले यसको जानकारी औषधी व्यवस्था विभागलाई गराउँछौं त्यहाँबाट कुनै कारवाही गर्छ कि गर्दैन थाह छैन तर हामीसँग कारवाही गर्ने अधिकार छैन ।’

यसअघि गत पुसमा पनि विभागले भारतका विभिन्न आठवटा कम्पनीबाट उत्पादीत आठवटा फिड सप्लिमेन्टहरु न्युनगुस्तर रहेको फेला पारेको थियो । त्यसमा विभागले फिर्ता लैजान निर्देशन दिएको थियो । विभागका अनुसार आयातकर्ताहरु ती सबै वजारबाट फिर्ता लगिएको जानकारीमा आएको छ तर उनीहरुमाथि के कारवाही भयो या भएन त्यसको कुनै जानकारी नआएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया