सलमान खान नेपाल आउँदै

बलिउडका सुपरस्टार सलमान खान नेपाल आउने निश्चित भएपछि उहाँसँग सम्बन्धित विभिन्न समाचारहरु बाहिर आउन थालेका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमान खान र उहाँका टीम नेपाल आउने तय भइसकेको छ । सलमान खान नेपाल आउने तय भइसकेपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सलमान खानसँग भर्चुअल संवाद गर्नुभएको छ । चैत ९ गते भर्चुअल संवाद गर्दै मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनु भएको थियो ।

यसअघि सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो । साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन । यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब नेपाल आउने लगभग निश्चित भएको छ । उहाँको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने पनि चर्चा बढेको छ । उहाँले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन । यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ ।

फिल्ममा सलमानले स्पाई एजेन्ट टाइगर अर्थात् अभिनाशसिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उहाँको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केही दृश्य नेपालको पनि छायांकन गर्नसक्ने बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया