चिनियाँ विदेश मन्त्री आएपछि रासयनिक मल आउन सुरु, घाँस पनि निर्यात हुने

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आउने भएपछि विगत छ महिनादेखि नेपाल–चीनको नाकामा रोकिएर राखिएको रासायनिक मल नेपाल आउन थालेका छन् । १० हजार युरिया मलमध्ये ३३२ मेट्रिकटन धुलिखेल र काठमाडौँ आइपुगेको नेपाल कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्र बहादुर कार्कीले बताउनुभयो । धुलीखेल, काठमाडौ र त्रिशुली केन्द्रका लागि तातोपानी नाकाबाट हिडेको मलमध्ये धुलिखेल र काठमाडौँका लागि ३३२ मेट्रिकटन मल आइपुगेको र अरु आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

चीनमा रोकि राखेको एकलाख १३ हजार ५३५ मेट्रिकटनमध्ये १५ हजार मेट्रिकटन उत्तरी नाका (तातोपानी) नाकाबाट ल्याउन एग्रीमेन्ट भएको थियो । त्यसमा १० हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन डीएपी रहेका छन् । १० हजार मेट्रिकटन युरिया मलमध्ये सुरुमै एकहजार ४६५ मेट्रिकटन नेपाल आइसकेको छ । त्यसपछि चीनले अचानक आयातमा रोक लगाएको थियो । तर विदेश मन्त्री नेपाल आउने तय भएपछि मल आउन सुरु भएको हो ।

उत्तरी नाकाबाट आउनुपर्ने १५ हजार मेट्रिकटनमध्ये एकहजार ७९७ मेट्रिकटन आइ पुगेका छन्, १३ हजार २०३ मेट्रिकटन मल नाकामै छन् । नाकामा रहेको ती सबै मल नेपाल आउने विश्वास कृषि मन्त्रालयले लिएको छ । एकलाख १३ हजार ५३५ मेट्रिकटनमध्ये ९८ हजार ५३५ मेट्रिकटन मल दक्षिण नाका अर्थात कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने हो । तर, कहिले आउँछ त्यसको टुङ्गो अहिलेसम्म लागेको छैन । चीनबाट सिल्क मार्केट कम्पनीले मल ढुवानी गर्ने सम्झौता गरेको थियो ।

सम्झौता भएलगतै मल ल्याउनका लागि शिल्कले जहाज पनि पठाएको थियो तर तीन महिनासम्म जहाज चीनमै रोकिए पनि मल ल्याउन दिएन । जहाज रित्तो फर्केको थियो । अब त्यो मल कहिले आउँछ त्यसको टुगों नलागेको बताउँदै प्रमुख कार्कीले सम्झौताको म्याद पनि सकिन लागेको छ, नयाँ सम्झता गरेर मल ल्याउनका लागि कुटनीति पहल भइरहेको बताउनुभयो । चीनमा रोकिएर राखिएको मलको बारेमा छलफल भइरहेको छ, केही दिनमा त्यसको टुगों लाग्ने उहाँले बताउनुभयो ।

मलको हाहाकार अझै कायम छ । वर्षे धानमा किसानलाई कहाँबाट मल दिने त्यसको जोहो अझै हुन सकेको छैन । भारतबाट जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट मल ल्याउने पहल भइरहेको छ । पहिलो चरणमा एकलाख ५० हजार मेट्रिकटन मल ल्याउने पहल भइरहेको छ । भारतले त्यो मल चाँडै दियो भने धान रोपाईँको समयमा निकै राहत हुने अपेक्षा कृषि मन्त्रालयले गरेको छ । हाल कृषि मन्त्रालयसँग २० हजार मेट्रिकटन डीएपी र चारसय मेट्रिकटन युरिया मात्र मौज्दात छन् ।

त्यसैगरि, चिनियाँ विदेश मन्त्री वाङ नेपाल आएपछि यहाँको प्रशोधित घाँस चीन निर्यात हुने भएको छ । घाँस निर्यातका लागि चैत १२ गते दुई देशको बीच सम्झौतापत्र हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छीतर्फका सचिव निरु दाहालले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि सचिव दाहाल र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतासँगै नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने बाटो खुलेको छ । कति मात्रामा र कहिलेदेखि निर्यात हुने विषय केही दिनमा टुगों लाग्ने उहाँले बताउनुभयो ।

गत मंसिर १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रशोधित घाँस चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गरेको थियो । सोही प्रोटोकालको आधारमा सम्झौता भएको हो । चीनले एक डेढ वर्ष अगाडि नै नेपालबाट घाँस लैजाने तयार भएको थियो । त्यसका लागि चितवनमा उत्पादन गरी प्रशोधन गरेर लैजान ठिक पनि पारेको थियो तर प्रोटकल नमिलेको कारण लान पाएको थिएन ।

 

तपाईको प्रतिक्रिया