क्लिन स्वीप शेखरलाई कि ओलीलाई ?

स्थानीय तहको चुनावमा नेकपा (एमाले) को क्लिन स्वीप गर्ने तयारीमा सत्ता गठबन्धनमा रहेका दलहरु रहेका छन् । त्यसका लागि सत्ता गठबन्धनका दलहरुले निकै मेहनत गरिरहेका छन् । स्थानीय निकायका वडा तहसम्मको अवस्था कस्तो छ, कुन दल हार्दैछन्, कुन दल जित्दैछन्, गठबन्धनमा रहेका दलहरुमध्ये कुन दलको अवस्था कस्तो छ, एमालेको अवस्था कस्तो छ लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

चैत २८ गतेभित्र सबै प्रतिवेदन आइसक्नु पर्ने दलहरुले आआफ्ना मातहतका निकायलाई सर्कुलेशन गरेको थियो तर अधिकाँश ठाउँबाट प्रतिवेदन नआएको कारण बैशाख ४ गतेसम्मका लागि म्याद थपिएको छ ।

जहाँ एमालेको उम्मेदवार जित्दैछन् त्यहाँ अनिवार्य चुनावी तालमेल गर्ने गठबन्धनको तयारी छ । र कडा निर्देशन पनि छ । एमालेलाई कही कुनै छिद्रबाट छिर्न दिनु हुँदैन भनि सोच गठबन्धनको छ । भए वडा तहसम्म नै एमालेलाई क्लिन स्वीप गर्ने नभए पालिकाको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षमा कुनै पनि हालतमा आउन दिनु हुँदैन भनि तयारी सत्ता गठबन्धनमा रहेका दलहरुको छ । एमालेप्रति काँग्रेस अलिअलि नरम भएपनि माओवादी केन्द्र, नेकपा एककिकृत समाजवादी पार्टी र जसपा एकदमै कडा भएका छन् । गठबन्धनका लागि लोसपा टार्गेट होइन तर साँढेको जुधाइमा बाछोको मिचाई जस्तो हुने देखिएको छ ।

महोत्तरी, सर्लाही, बारा, पर्सा, धनुषा र अलिअलि सप्तरी बाहेक अन्य जिल्लामा लोसपाको खासै संगठन नरहेको विश्लेषण सत्ता गठबन्धनको छ । त्यसका लागि खासै त्यति मेहनत गर्नुपर्ने आवश्यकता नरहेको गठबन्धनको विश्लेण रहेको छ । लोसपालाई पनि प्रतिस्पर्धा गर्न दिनुपर्छ । त्यसमा जितेर आए भने ठिक्कै छ । लोसपाका लागि गठबन्धनलाई कडाइ गर्नुपर्ने अवस्था नरहेको जसपाका एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो, यो देशमा ओली प्रवृतिलाई परास्त गर्नका लागि यो जस्तो सुनौलो अवसर आउने छैन, कुनै पनि संगठनको मेरुदण्ड भनेको स्थानीय तह हो, त्यो मेरुदण्ड नै भाँचि दिए भने प्रदेश र प्रतिनिधिसभामा उठ्ने आँट गर्दैन ।’

तर गठबन्धनले सोचेको क्लिन स्वीप हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । उम्मेदवार चयनका लागि गठबन्धनमा जुनखालको विवाद छ त्यसको फाइदा सिधै एमालेलाई हुने देखिएको छ । सिरहाका एमाले नेता एवं सिरहा नगरपालिकाको मेयर पदको उम्मेदवार समेत रहनु भएका डा.नविन यादवले भन्नुभयो, ‘गठबन्धनमा जति विवाद हुन्छ, त्यति फाइदा एमालेलाई हुन्छ । जजसले टिकट पाउँदैन ती असन्तुष्ट नेताहरु सबै एमालेमा नै आउँछन्, एमालेलाई नै सहयोग गर्छन् त्यसले गर्दा स्थानीय तहमा अधिकाँश सिट जित्नेछ ।’

एमालेले स्थानीय तहमा जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिसकेका छन् । अरु दलभन्दा एमाले निकै व्यवस्थित पार्टी हो । यो पार्टीमा हालसम्म कुनै विवाद देखिएको छैन । जेजे भएका छन् ती सबै सर्वसम्मतीले नै भएका छन् । केन्द्रदेखि वडा तहसम्म कुनै विवाद देखिएको छैन । हरेक गतिविधि व्यवस्थित तरिकाले गरेको छ । स्थानीय तहहरुमा जित्ने उम्मेदवारलाई मात्र टिकट दिएको छ । माओवादी, जसपा र काँग्रेसबाट केही सक्रिय नेता तथा कार्यकर्तालाई एमालेले भित्र्याएको पनि छ ।

चुनाव नै जित्ने हैसियत भएका केही नेताहरु एमालेमा छिरेका छन् । त्यसले गर्दा सत्ताधारी गठबन्धन दलहरुलाई चुनौती छ । सत्ता गठबन्धनको विश्लेषण अनुसार चुनावमा एमालेले पैसाको चलखेल अधिकत्तम रुपमा गर्नेछ । तीन वर्षसम्म सरकारमा बस्दा एमालेले स्थानीय तहसम्म आफ्नो संगठन बनाएको छ । पैसावालाहरुलाई पार्टीमा मिलाएर राखेको छ । केन्द्रमा पनि उद्योगपती तथा धनढ्य व्यक्तिहरुलाई पार्टीमा जोडेको छ । त्यसले गर्दा चुनावमा पैसाको चलखेल अधिकतम हुने आँकलन सत्ता गठबन्धनले गरेको छ ।
यता, नेपाली काँग्रेसमा स्थानीय तहका लागि सीट कसरी बाँडफाँड गर्ने विषयमा नेताहरुको बीचमा कुरा मिलिरहेको छैन । पार्टीका सभापति एवं प्रधानमन्त्री देउवा एकलौटी गरिरहनु भएको आरोप पार्टीभित्र लागि रहेको छ । पार्टीमा शेखर कोइराला, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शेरबहादुर देउवा गुट गरी पाँचवटा गुट छन् । यी पाँचवटै गुटका लागि सिट कसरी बाँडफाँड गर्ने पार्टीभित्र समस्या भएको छ ।

प्रधानमन्त्री देउवाले महानगरपालिका, उपमहानगरपालिका आफू मात्र राख्ने सोचमा हुनुहुन्छ । त्यसपछि नगरपालिका र गाउँपालिकामा मात्र अरुअरुलाई दिने सोच उहाँको छ । चितवनी र वीरगञ्ज महानगरपालिका छाडेर अरु बाँकी चारवटा महानगरपालिका आफै राख्ने प्रधानमन्त्री देउवाको चाहना छ । ती चारवटा महानगरपालिकामध्ये एउटा पनि शेखर कोइरालालाई नदिने तयारी उहाँको रहेको छ । विराटनगर महानगरपालिकाका लागि भिम पराजुलीलाई ठिक पारिसक्नु भएको छ । यसअघि कोइराला गुटमा रहेर भिम पराजुली विराटनगर महानगरपालिकाको मेयरमा जित्नु भएको छ । अहिले उहाँ महानगरपालिकाको मेयर हुनुहुन्छ । तर पार्टीको १४ औं महाधिवेशनमा देउवा गुटमा लागेर केन्द्रीय सदस्यमा जित्नु भएको छ । प्रधानमन्त्री देउवाले विराटनगर महानगरपालिकामा पराजुलीलाई मेयरको उम्मेदवार बनाउने लगभग निश्चित छ जब कि शेखर कोइरालाले विराटनगर महानगरपालिकाको मेयर आफूले पाउनुपर्ने भन्दै आएका छन् ।

कोइराला परिवारको वर्चस्व रहेको विराटनगरमा प्रधानमन्त्री देउवाले विस्तारै आफ्नो वर्चस्व कायम गर्न थाल्नु भएको छ । र, विराटनगरको कोइराला विरासतलाई जोगाउन शेखर कोइरालालाई हम्मेहम्मे भएको छ । शेखरलाई विराटनगरमा मात्रै होइन, अन्यत्र पनि कुनै महानगरपालिका वा उपमहानगरपालिकामा मेयर नदिने दाउमा प्रधानमन्त्री देउवा रहनु भएको छ । तर त्यहाँ महासचिव गगन थापा भएको कारणले देउवाले चाहेर पनि शेखर कोइरालालाई क्लिन स्विप गर्न नसक्ने पार्टीकै नेताहरु बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया