चुनाव जित्ने अजय यादवको यस्तो छ दावी

सिरहा वैशाख १७ गते । माओवादी केन्द्र नेता अजय यादव सिरहाको वरियारपट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचारलाई तीब्रता दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यसअघिका गाउँपालिका अध्यक्षले पाँच वर्षसम्म गरेको कामको मूल्यांकन गरेर जनताले मलाई मत दिएर जिताउनेमा म आशावादी छु ।’

लामो समय जनता समाजवादी पार्टी नेपालमा रहेर जनताको सेवामा खटिनु भएका अजय यादवलाई पार्टीले पटक पटक धोका दिएपछि उहाँ माओवादी केन्द्रमा प्रवेश गरेर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यसअघि तत्कालिन संघीय समाजवादी फोरम र अहिले जसपाबाट गाउँपालिका अध्यक्षमा सन्तोषकुमार महतो चुनाव जित्नु भएको थियो । अध्यक्ष निर्वाचित महतोले ३ हजार ९७९ मत पाउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बालेश्वर यादवले २ हजार ८८१ मत पाउनु भएको थियो ।

निवर्तमान अध्यक्ष सन्तोष यादवले वरियारपट्टी गाउँपालिकाका जनतालाई विकासको नाममा झुक्याउने काम मात्र गरेको उम्मेदवार अजय यादवको दावी छ । माओवादी केन्द्रका नेता यादव जनकपुरस्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिक सुरु गर्नुभएको थियो । उहाँ विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै उहाँ माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य बन्नु भएको छ ।

सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा रामरती यादवको छोरा अजय यादव पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा चिनिनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘म चुनाव जितेर आएपछि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा विशेष जोड दिनेछु ।’ कृषिको समग्र विकास गरी रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानेहरुलाई मधेशमै रोक्ने आफ्नो चाहना रहेको बताउँदै उहाँले त्यसका लागि आफूले गाउँमै रोजगारको व्यवस्था गर्ने बताउनुभयो ।

अहिले पनि गाउँपालिकामा परम्परावादी शिक्षा चलिरहेको छ, त्यसलाई सुधार गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको शिक्षा लागु गर्ने उहाँले बताउनुभयो । उहाँले मधेशमा स्वास्थ्यको समस्या मुख्य समस्याको रुपमा आएको बताउँदै त्यसको सुधारका लागि आफ्नो महत्वपूर्ण पर्यत्न रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया