अभियानले माग्यो प्रधानमन्त्रीको राजिनामा

राजविराज जेठ १० गते । सप्तरीमा राष्ट्रिय एकता अभियानद्वारा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको अभियानका संयोजक विनय यादवले बताउनुभयो ।
अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रममा निकम्मा सरकार मुर्दावाद, शेरबहादुर देउवा राजीनामा देउ, हाम्रो प्रदर्शन जारी रहनेलगायतको नारा लगाइएको थियो ।

त्यस्तै प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर, एलपीजी ग्यासको मूल्यवृद्धि, महिलामाथिको अत्याचार हो, अकासिएको महँगी नियन्त्रण गर, आयल निगमको कमिशन तंत्र बंद गर र उर्जा मन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।
अभियंताहरु योगानन्द साह, डम्बर नारायण साह लगायतका अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया